खुला आकाश र रुख मुनी क्वारेन्टाइन
कपिलवस्तु : क्वारेन्टाइनको व्यवस्था नहुँदा भारतबाट आएकाहरु बगैंचा र खुला आकाश मुनी बस्न बाध्य छन्। स्थानीय निकायले चासो नदिएपछि भारतबाट फर्किएका २३ जना युवाले मधु नगरा गाउँ किनाराको बगैंचालाई क्वारेन्टाइन बनाएका छन्।
उनीहरु दिनभर रुखको छहारीमा बस्छन्। सामान्य त्रिपालको ओत लगाएर रात बिताउँछन्। ‘कोरोना संक्रमण भन्दा पनि घाम, पानी तथा विषालु सर्पको टोकाईको डर छ’, मधु नगरका स्थानीय चन्द्र भूषण मल्लाहले भने। ३९ बर्षिय मल्लाह तीन सातादेखि रुख मुनिको खुला क्वारेन्टाइनमा बसेका छन्। राती हुरी बतास आउँदा रुख समातेर बस्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने, ‘वडाध्यक्षले हामीलाई घाम पानी ओत्ने सामान्य त्रिपालसम्म पनि दिएनन्।’ वडा कार्यालय र कोही पनि जनप्रतिनिधिले आफूहरुको खोजखबर नलिएको उनीहरुको गुनासो छ।
गुजरातबाट घर फर्किए स्थानीय राजु मल्लाह पनि १८ दिनदेखि यहीको खुला क्वारेन्टाइनमा बस्दै आएका छन्। घर जादा परिवार र गाउँमासमेत कोरोना संक्रमणको जोखिममा पर्न सक्ने भएकाले आफूहरु सुख दुःख गरेर खुला क्वारेन्टाइनमा बस्नु परेको उनले बताए। क्वारेन्टाइन व्यवस्थित नभएपछि उनीहरुले आआफ्नो घरबाट खाट, ओड्ने ओछ्याउने विछौना, झुल लगायतका सामग्री ल्याएका छन्। ‘सुख दुःख भए जसरी पनि बसेका छौ, कोरोना परीक्षण र रिपोर्ट नआउन्जेल सम्म क्वारेन्टाइनमै बसेका छौं’, मल्लाहले भने, ‘रिपोर्ट नेगेटिभ आए घर जाँउला, पोजिटिभ आए आईसोलेसन वार्ड जाउँला।’
भारतका विभिन्न सहरबाट आएकाहरुको क्वारेन्टाइन व्यवस्थापनका लागि सवै वडाध्यक्ष तथा वडा कार्यालयलाई जिम्मेवारी दिइएको यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश पाण्डेयले बताए। ‘वडा कार्यालयले खानासम्म पनि नदिएको भन्ने गुनासो आएपछि खाना खुवाउने प्रबन्ध मिलाएको छु’, उनले भने। गाउँपालिकाले खानपिनको व्यवस्था मिलाए पनि बसाई व्यवस्थित हुन नसक्दा संक्रमणको जोखिम बढेको छ। यशोधरामा कोरोना संक्रमितको संख्या एक सयभन्दा बढी छ।
यशोधरा मात्रै होइन, कपिलवस्तुका अन्य क्वारेन्टाइनको अवस्था पनि दयनीय छ। कपिलवस्तुमा क्वारेन्टाइनमा रहनेहरुको संख्या ९ हजारको हाराहारीमा पुगेको छ। क्वारेन्टाइनमा बसेकाहरु स्वास्थ्य परीक्षणका लागि पालो कुर्न बाध्य छन्