विदेशबाट रामेछाप आउने नागरिकलाई होटलमा राख्‍ने तयारी

विदेशबाट रामेछाप आउने नागरिकलाई होटलमा राख्‍ने तयारी

काठमाडौं : रामेछापमा विदेशबाट आउने नागरिकहरुको होटल र गेष्ट हाउसमा राख्‍ने तयारी भएको छ। जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले रामेछापमा आएर आफ्नै खर्चमा होटल बस्न चाहने नागरिकलाई राख्‍न सम्भावित होटल, गेष्ट हाउसको सूची र बेड संख्या एकिन गरेर न्यूनतम शुल्कसमेतको विवरण तयार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

यसका लागि क्वावारेन्टाइन बनाउन चाहने होटल व्यवसायीसँग बेड संख्या र दररेट माग गरिनेछ। तर सम्बन्धित पालिकामा गएर क्वारेन्टाइनमा बस्‍ने नागरिकले भने शुल्क तिर्नपर्ने छैन।

बैठकमा विवरण संकलन गरी आवश्यक तयारी गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ। बैठकले जिल्लाका सबै स्थानीय तहहरुले वैदेशीक रोजगारी तथा अन्य कामले विदेशमा गएपनि पालिकामा फर्केर आउन चाहने नागरिकको वडा कार्यालयमार्फत लगत संकलन गरी ७ दिन भित्र जिल्ला संकट व्यवस्थापन केन्द्रमा बुझाउन निर्देशन दिएको छ।

शर्माका अनुसार भारत लगायत तेस्रो मुलुकबाट आउने नागरिकलाई अनिवार्य क्वारेटाइनमा राख्न क्वारेटाइन कक्षको क्षमता र स्तरवृद्धि गर्न निर्देशन दिइएको छ। भारत लगायत संक्रमित जिल्लाबाट आएर रामेछापका विभिन्न क्वारेन्टाइन/आसोलेसनमा बसेका ५/१० दिन बसेका व्यक्तिहरुको पिसिआर प्रविधीबाट जाँच गर्ने र नेगेटिभ आएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने छ। किट अभाव हुन नदिन जिल्लाको लागि १० हजार थान आरडीटी र ५ हजार थान भिटीएम उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णयसमेत गरिएको छ।

रामेछापमा मंगलबार दिउँसोसम्ममा ८३९ जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गरिएको छ भने ४७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार स्वाब संकलन गरेर पठाइएकामध्ये अझै १७ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ। यस अगाडि जिल्लाबाट स्वाब संकलन गरेर पठाइएको सबैको रिपोर्ट नेगेटिभ आएको थियो। 

कुन पालिकामा कति जना छन् क्वारेन्टाइनमा ?

रामेछाप जिल्लामा मंगलबार दिउँसोसम्ममा क्वारेन्टाइन र होम क्वारेन्टाइन गरी कूल १९६ जना बसिरहेका छन्। स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले भारत लगायत विभिन्न स्थानबाट रामेछाप आएका १३९ जना क्वारेन्टाइन र ५७ जना होम क्वारेन्टाइन बसिरहेको जानकारी दिए।

कर्णले भने, 'हाल गोकुलगंगा गाउँपालिकामा २३ जना क्वारेन्टाइनमा, उमाकुण्ड गाउँपालिकामा १८ जना क्वारेन्टाइनमा, मन्थली नगरपालिकामा १९ जना क्वारेन्टाइनमा सहित ४७ जना, खाँडादेवी गाउँपालिकामा ४ क्वारेन्टाइनसहित २३ जना र लिखुतामाकोशी गाउँपालिकामा ३६ जना क्वारेन्टाइन, रामेछाप नगरपालिकामा २८ जना क्वारेन्टाइनमा र  दोरम्बा गाउँपालिकामा ९ जना क्वारेन्टाइनमासहित १६ जना र सुनापति गाउँपालिकामा २ जना क्वारेन्टाइनमा सहित ५ जना बसेका छन्।' उनीहरु चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

कति आइसोलेसन र क्‍वारेन्टाइन बेड ?

जिल्ला स्वास्थ्य कार्यालय रामेछापकाअनुसार विभिन्न स्थानीय तह र अस्पतालमा ७१ वटा आइसोलेसन बेड र ३३१ क्‍वारेन्टाइन बेड निर्माण भएका छन्। कार्यालयकाअनुसार रामेछाप नगरपालिकामा १७ आइसोलेसन बेड र ७० क्‍वारेन्टाइन बेड, मन्थली नगरपालिकामा २२ आइसोलेसन बेड र ३६ क्‍वारेन्टाइन बेड, सुनापति गाउँपालिकामा ६ आइसोलेसन बेड र २६ क्‍वारेन्टाइन बेड, खाँडादेवी गाउँपालिकामा ११ आइसोलेसन बेड र ४७ क्‍वारेन्टाइन बेड, दोरम्बा गाउँपालिकामा ७ आइसोलेसन बेड र १६ क्‍वारेन्टाइन बेड, उमाकुण्ड गाउँपालिकामा ५३ क्‍वारेन्टाइन बेड, गोकुलगंगा गाउँपालिकामा ५ आइसोलेसन बेड ३४ क्‍वारेन्टाइन ब‍ेड, लिखु गाउँपालिकामा ३ आइसोलेसन बेड र ४९ क्‍वारेन्टाइन ब‍ेड निर्माण भएका छन्।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार जेठ १३ गतेको बैठकले भारतलगायत सिमा नाकाहरु संक्रमित फैलिएको जिल्लाबाट यस जिल्लामा प्रवेश गर्ने नागरिकको लागि यातायात व्यवस्थापन र प्रत्येक पालिकामा थप १००/१०० वटा क्वारेन्टाइनको बेड क्षमता विस्तार गर्न सबै पालिकामा अनुरोध गरेको छ। भारत लगायत कोभिड-१९ संक्रमित विभिन्न जिल्लाबाट सेलेघाट नाकामा आउने व्यक्तिहरूलाई होल्ड गरी सम्बन्धित पालिकामा पठाउन सेलेघाटमा होल्डिङ्ग स्थान निर्माण गरी राखिने छ। 

यस्तो छ सरकारको तयारी

कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी)ले विभिन्न मुलुकबाट हवाई वा स्थलमार्गबाट स्वदेश फर्कन चाहने नेपालीको लगतलगायत तथा विवरण संकलन गर्न थालेको छ। हवाई माध्यमबाट स्वदेश फर्कने नेपालीले हवाई खर्च स्वयंले बेहोर्नु पर्नेछ। नेपाल फर्किएपछि सरकारले तोकेको क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्नेछ। सरकारी क्वारेन्टाइन निःशुल्क हुनेछ। होटल क्वारेन्टाइनमा बस्न चाहे सम्बन्धित व्यक्तिले खर्च बेहोर्नु पर्नेछ। तर, खाडी र मलेसियामा अलपत्र परेका झण्डै २५ हजार मजुदुरको हवाईलगायत खर्च नेपाल सरकारले व्यहोर्ने छ। 

हवाई माध्यमबाट १० लाख यात्रु भित्रिने सरकारले प्रारम्भिक अनुमान गरेको छ। जसमा दैनिक १० हजार यात्रु हवाई माध्यमबाट भित्रिनेछन्। स्थलमार्गबाट झण्डै ५ लाख यात्रु भारतबाट आउन सक्ने सरकारले अनुमान गरेको छ। यसमा झण्डै ३ लाख ५० हजार नेपाली भारतबाट तत्काल फर्कन चाहेको सरकारी अनुमान छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल आउने यात्रुको सबै विवरण २४ घण्टाअगावै उपलब्ध गराउने छ। सोहीअनुसार सीसीएमसीले उनीहरूको व्यवस्थापन गर्नेछ। स्थलमार्गबाट आउनेमध्ये स्वास्थ्य जाँचमा शंकास्पद देखिएमा यात्रुलाई नाका रहेको प्रदेशस्थित कोभिड अस्पताल लगिनेछ। सामान्य स्वास्थ्य अवस्था देखिएकाहरूलाई सम्बन्धित जिल्लास्थित क्वारेन्टाइनमा पठाइनेछ। 

विमानस्थलमा रहेको हेल्थ डेस्कले सबै यात्रुको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नेछ। स्वास्थ्य जाँचका क्रममा कोरोना भाइरसको शंका भएका त्यस्ता यात्रुलाई सीधै कोभिड अस्पताल लगिनेछ। स्वास्थ्य अवस्था सामान्य भएका यात्रुलाई होल्डिङ क्षेत्रमा लगिनेछ।

क्वारेन्टाइनमा रहँदा कोरोना भाइरसको संक्रमण देखिए त्यस्ता यात्रुलाई तत्काल कोभिड १९ अस्पतालमा लागिनेछ। परीक्षणमा कोरोनाबाट संक्रमित नदेखिएका यात्रुलाई घर फिर्ता गरिने मन्त्रिपरिषद्ले पारित गरेको आन्तरिक योजनामा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.