उदयपुरमा थप ३ जनामा कोरोना पुष्टि
उदयपुर : नयाँ संक्रमित नभेटिएपछि सामान्य बन्दै गएको उदयपुरमा फेरी त्रास सुरु भएको छ । आइतबार जिल्लाको पूर्वी क्षेत्र बेलका नगरपालिकामा ३४ र ३५ वर्षीय दुईजना र चौदण्डीगढी नगरपालिका ३२ वर्षीय एकजना गरी तीनजनामा एकैसाथ संक्रमण देखिएपछि त्रास सुरु भएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ३६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुबेदीकाअनुसार उनीहरुको ५ दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ३ सय ८५ जनाको स्वाब संकलन गरी लगिएकोमा ३ जनामा पोजिटिभ देखिएको र अन्यको परीक्षण भइरहेको उनले बताए ।
सुबेदीका अनुसार बेलका, चौदण्डी, त्रियुगा, कटारी नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिका गरी ५ वटा स्थानीय तहमा स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । नयाँ संक्रमित तीनैजना छिमेकी मुलुक भारतबाट आएका हुन् । उनीहरुलाई सम्बन्धित नगरपालिकाले नेपाल प्रवेश गरे लगत्तै सिधै क्वारेन्टाइनमा ल्याएर राखेको थियो ।
बेलकामा देखापरेका श्रीमान श्रीमती हुन् । उनीहरुलाई एम्बुलेन्समार्फत धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको उनले बताए । २३ दिनअघि एकजना पत्रकारमा संक्रमण देखिएपछि सामान्यतर्फ उन्मुखहुँदै गरेको उदयपुरमा नयाँ संक्रमणले फेरी त्रास सुरु भएको स्थानीयको भनाइ छ । नयाँ संक्रमित नदेखिएपछि स्थानीय प्रशासनले जिल्लाका सबै ठाउँका बजार बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला राखी जनजीवन सामान्य बनाउँदै आएको थियो ।
३२ जना कोरोना जितेर घर फर्र्किए
उदयपुरका एक पत्रकारसहित ३२ जनाले कोरोना भाइरस (कोभिड-१९)लाई जितेका छन् । देशकै सबैभन्दा बढी ३३ जनामा कोरोना भाइरस देखिएपछि 'इपिसेन्टर' बनेको उदयपुरमा हालसम्म ३२ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।
अन्तिममा जेठ २ गते कोरोना पुष्टिपछि जेठ ३ गते बिराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना भएका पत्रकार २५ वर्षीय राकेश नेपाली घर फर्किएका छन् । उनी जिल्लाको सबैभन्दा छिटो १९ दिनमा निको भएर फर्कनेमा पर्दछन् ।
उनीसँग त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ३ जनाको पछिल्लो दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । बाँकी एकजना त्रियुगा नगरपालिकाकी एक महिला उपचार गरिरहेकी छिन् ।
उपचार पछि फर्किएका सबैजना होम क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए । केही दिनयता भारतबाट नेपाल भित्रिनेको संख्या बढेपछि जिल्लाका ८ वटै स्थानीय तहका क्वारेन्टाइन भरिभराउ भएका छन् ।
त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीयसहित १६ जमातिमध्ये पहिलो पटक वैशाख ५ गते १३ जनामा संक्रमण देखिएपछि उदयपुर देशकै सबैभन्दा बढी कोरोना संक्रमित भएको जिल्लाको रुपमा परिचित भएको थियो ।
त्यसपछि लगातार ४ दिनसम्म स्वाब संकलन गरी परीक्षण गर्दा मस्जिद र आसपासका गाउँले २८ जनामा संक्रमण पुष्टि भएको थियो । दुईसातापछि पुनः यकिन गर्न उनीहरुकै दोहोरो स्वाब परीक्षण गर्दा थप ४ जना संक्रमित भेटिएका थिए भने वैशाख ३१ गते गरिएको २६ पत्रकारसहित ६१ को परीक्षणको रिपोर्ट आउँदा जेठ २ गते एक पत्रकार संक्रमित भेटिएसँगै उदयपुरमा संक्रमित संख्या ३३ पुगेको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीका अनुसार अहिलेसम्म जिल्लाभरी २८ जना महिला र २ सय २५ जना पुरुष गरी २ सय ५३ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । त्यस्तै १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होमक्वारेन्टाइनमा बस्दै आएका छन् ।
जिल्लामा १ हजार ७ सय ५१ जना पुरुष र ७ सय ७६ जना महिला गरी २ हजार ५ सय २७ जनाको स्वाब संकलन गरी सकिएको छ । जसमध्ये १ हजार ९ सय ९१ जनाको रिपोर्ट आउँदा संक्रमित संख्या ३६ जना पुगेको छ ।