कोरोना संक्रमणको पुष्टि भएपछि फरार व्यक्ति तीन दिनमा फेला

कोरोना संक्रमणको पुष्टि भएपछि फरार व्यक्ति तीन दिनमा फेला

काठमाडौं : शुक्रबारदेखि फरार रामेछापका एक कोरोना संक्रमित तीन दिनपछि दोलखामा भेटिएका छन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फरार गोकुलगंगा गाउँपालिकाका संक्रमितलाई सोमबार प्रहरीले दोलखामा फेला पारेको हो। उनको खोजीमा प्रहरी, जनप्रतिनिधि र स्थानीय जुटेका थिए।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले फरार संक्रमितलाई दोलखा जिल्लाको च्यामाबाट नियन्त्रणमा लिएको जानकारी दिए। ‘संक्रमित व्यक्ति २ दिनसम्म जंगलमा नै सुतेको र भोक लागेपछि गाउँमा पुगेको देखेपछि गाउँलेले नियन्त्रणमा लिए।’ संक्रमितको भनाई उदृत गर्दै कर्णले भने, ‘स्थानीयले नै गोकुलगंगा गाउँपालिका र प्रहरी कार्यालयमा खबर गरेका हुन्।’ 

गाउँपालिकामा जानकारी हुने बित्तिकै रामेछापबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर सोमबार बिहान जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा भर्ना गरिएको कर्णले बताए। 

शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोसी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको थियो। गोकुलगंगाका ११ जनालाई कोरोना परीक्षण रिपोर्ट नआउँदै गाउँपालिकाले दिउँसो क्वारेन्टाइनबाट घर पठाएको थियो। गाउँपालिकाका अध्यक्ष खडगबहादुर सुनुवारले शुक्रबार दिउँसो अस्पष्ट सूचनाको आधारमा रिपोर्ट नेगेटिभ आएको भन्दै उनीहरुलाई बिदाई गरेका थिए। 

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्भेलनमा कोरोना पोजिटिभ भएको जानकारी पाउनासाथ सुनुवारले उनीहरुलाई फेरि फर्कनका लागि फोन गरेका र यातायातका साधन पठाएका थिए। ९ जना साधन चढेर फेरि क्वारेन्टाइन फर्किए पनि २ जना सम्पर्कविहीन भएका थिए। जसमध्ये १ जना शुक्रबार राति नै सम्पर्कमा आए भने एक जना फरार भएका थिए। गाउँपालिकाले लापरबाहि गरेर संक्रमितलाई छाडेपछि गाउँपालिकामा त्रास बढेको स्थानीयको गुनासो गरेका छन्। शुक्रबार राति गोकुलगंगाका ९ जना र लिखु तामाकोसीको ६ जनालाई मात्र जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको थियो।

अहिले संक्रमित १७ जनाकै जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले बताए। उनले भने ‘संक्रमितमध्ये एक जनालाई ज्वरो देखिएको छ, अन्यको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने कोरोनाको लक्षणसमेत देखिएको छैन।’

संक्रमित भएका व्यक्तिहरु भैरहवा नाका र विराटनगर नाकाबाट आएर गोकुलगंगा गाउँपालिकाका गोकुलगंगा अस्पतालको क्वारेन्टाइनमा र लिखु तामाकोसी गाउँपालिकाका झट्टेश्वर माविको क्वारेन्टाइनमा बसेका थिए। उनीहरु १७ देखि ४९ वर्षका रहेका छन्। 

अहिले संक्रमितको सम्पर्कमा आएका सबैलाई पालिकाको क्‍वारेन्टाइनमा राखिएको छ। कर्णले भने, ‘हामीले कोराना भाइरस संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पनि परीक्षण गर्‍यौ, उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ तर पनि उहाँहरुलाई क्‍वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छौं।’

जिल्लामा पिसिआर किटको अभाव

रामेछापमा भारत लगायत विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलनका लागि किट अभाव देखिएको छ। पिसिआर (पोलिमरेज चेन रियाक्सन) विधीबाट परीक्षणका लागी प्रदेश सरकारसँग थप किट उपलब्ध गराउन दैनिक पहल गरिरहेको भएपनि किट आउन सकेको छैन। जिल्लाबासीले आरडीटी भरपर्दो नभएको भन्दै क्वारेन्टाइनमा बस्नेको पिसिआर विधिबाट परीक्षण गर्नुपर्ने माग गर्दै आएका छन्।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले जिल्लामा २४ वटा किट मात्रै बाँकी रहेको बताए। उनले भने,  ‘अहिले हामीसँग स्वाब संकलनका लागि २४ वटा किट मात्रै बाँकी छ, १० हजार किट उपलब्ध गराइदिन मन्त्रालयमा पत्राचार गरिएको छ तर कति पठाउँछ, आइपुगेको छैन। ’

जिल्लामा मंगलबारसम्म पिसिआर विधीबाट परीक्षण गर्न स्वाब संकलन गरी पठाइएको मध्ये १७ जनाको रिपोर्ट पोजिटिभ, १०१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३२ जनाको  रिपोर्ट आउन बाँकी रहेको   स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ। त्यसैगरी र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट ८६० जनाको परीक्षण गरिएको छ। मंगलबारसम्म १२० जना क्वारेन्टाइनमा बसिरहेका छन् भने १४ दिनसम्म क्वारेन्टाइनमा राखेर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै  आज १६ जनालाई घर पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.