मछिन्द्रनाथका पुजारी महिनौंदेखि पाटीमा

मछिन्द्रनाथका पुजारी महिनौंदेखि पाटीमा

ललितपुर : लकडाउनका कारण नेपालको सबैभन्दा लामो मच्छिन्द्रनाथको जात्रा प्रभावित बनेको छ। मच्छिन्द्र बहालस्थित गुठी संस्थानको प्रांगणमा वैशाख १२ गतेदेखि दुई पुजारी पार्टीमै बसेका छन्। जात्रा निरन्तर सञ्चालनमा आएको भए सिठी नःख (जेठ १५) सम्ममा समापन भइसक्ने जात्रामा संलग्नले बताए। तर जात्रा कहिले सप्पन्न हुन्छ भन्ने थाहा नभएको उनीहरूको भनाइ छ।

५० वर्षदेखि मच्छिन्द्रनाथको जात्रा सञ्चालनमा सरिक हुँदै आएका दिलकुमार बाराही भन्छन्, ‘चैत २७ गते भगवान्लाई स्नान गरेर २८ गतेदेखि रथ बनाउनुपर्ने थियो। तर, हालसम्म रथ बनाउने काम सुरु भएको छैन।’ मच्छिन्द्रनाथसँगै निकालिने मीननाथको धस्म (डोरी राखेर बान्ने लामो काठ) बनाउनै बाँकी छ। ‘अरू बेला हो भने रथ बुङमति पुगिसक्थ्यो’, बाराहीले भने, ‘तर यो वर्ष काम सुरु हुन सकेको छैन।’ पचासौं वर्ष काम गर्दा जात्रा रोकिएको कहिले अनुभव नगरेकाले अन्योलमा परेको उनी बताउँछन्। २०७२ सालको भूकम्पमा रथ बिग्रिएर दोस्रोपटक बनाउनु परेको सम्झना गरे। उनले भने, ‘साइत नमिल्दा केही दिन रथ रोकिन्थ्यो तर यसरी रथ नै बनाउन नपाएको थाहा थिएन।’

कोरोना महामारीका कारण जात्राको खर्च बढ्न सक्ने अनुमान गुठी संस्थान, ललितपुर शाखाले गरेको छ। शाखाका प्रमुख राजन भुजुले भने, ‘यो वर्ष खर्च बढ्ला जस्तो छ, बजेट निकासा पनि भएको छैन।’ अन्य बेला कम्तिमा ५० लाख रुपैयाँ मच्छिन्द्रनाथको जात्रा चलाउन लाग्थ्यो। तर, लामो समयदेखि जात्रा रोकिएकाले खर्च बढ्ने अनुमान छ। तर, केन्द्रीय कार्यालय पनि बन्द रहेकाले केही भन्न नसकिने भुजुको भनाइ छ। जात्रा छोटोमा २४ दिन र लम्बिएको खण्डमा दसैंको फुलपातीसम्म पुग्ने गर्छ।

हाल पुजारीको सुरक्षाका लागि प्रहरी खटिएका छन्। जात्रा रोकिए पनि नित्य पूजा हुँदै आएको छ। तर पार्टीमै बस्नुपर्ने भएकाले प्रहरी चौबीसै घण्टा खटिने गरेका छन्। ललितपुरका कुम्भेश्वर, तलेजु भवानी महालक्ष्मीलगायत सम्पूर्ण मन्दिर बन्द भए पनि नित्य पूजा भने हुँदै आएको भुजुले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.