प्रहरी हिरासतमा हत्या की आत्महत्या ?
जनकपुरधाम : सवारी दुर्घटनाका प्रतिवादीको प्रहरी हिरासतमा मृत्युपछि परिवारले हत्या भएको आरोप लगाउँदै न्यायिक छानबिनको माग गरेको छ । धनुषाको सबैला नगरपालिका १२ घर भएका २४ वर्षीय शम्भु सदा मुसहर मंगलबार मध्यरातमा झुण्डिएको अवस्थामा भेटिएपछि परिवारजनले हत्या भएको आरोप लगाउँदै सर्वपक्षीय न्यायिक समितिको माग राख्दै शव पोष्टमार्टमा अवरोध गरेको छ ।
इलाका प्रहरी कार्यालय सबैको प्रहरी हिरासतको शौचालयमा मंगलबार मध्यरातमा झुण्डिएका मुसहरलाई बुधबार राती २ बजे प्रहरीले झुण्डिएको अवस्थामा फेला पारेको थियो । मुसहर झुण्डिएको प्रहरीले जानकारी पाउनासाथ शव मुचुलका उठाइ मृतकका आमा शिपाली सदालाई तिम्रो छोरो झुण्डिएर आत्महत्या गरेको र जबरजस्ती कागजमा सही छाप लगाउन लगाएको आरोप छ ।
प्रहरीले शम्भु सदा मुसहरले आत्महत्या गरेको दाबी गरेपनि पारिवारिक सदस्य र स्थानीयले यो कुरा मान्न तयार छैन् । मृतकका आमा शिपाली देवी सदाले भनिन, 'मेरो छोराले आत्महत्या गरेको होइन, हत्या भएको हो, घटनाको छानविन हुनुपर्छ ।'
प्रहरी हिरासतको शौचालयमा, शर्ट, भेष्टले घाँटीमा बाँधेर, मुखमा कपडा कोचेर आत्महत्या गर्न सक्दैन, मुसहर अधिकारकर्मी पच्चु माझीले भने, 'तीन बजे राती जबरजस्तीबिना कसैको रोहवरमा शवको मुचुल्का उठाउनु, सर्ट र भेस्टमा झुण्डिनु, मुखमा कपडा कोचिनुजस्ता दृश्यले घटना शंकास्पद देखिन्छ, शम्भुलाई प्रहरीकै संलग्नतामा मारेर आत्महत्याको नाटक रचेकाले पीडितलाई न्याय र पीडकलाई कारवाहीका लागि न्याययिक छानविन हुनुपर्छ ।'
शव पोष्टमार्टमका लागि ल्याइएको प्रादेशिक अस्पतालस्थित प्रांगणमा मुर्छा परेकी शिपाली देवीलाई सम्हाल्दै सम्धिनी तेतरी देवीले भनिन, 'मेरो ज्वाईले तीन दिन अगाडी आमा मलाई छोडाउनुस्, नभए मलाई यहीँ मार्छ, भनेको कुरा सम्झिँदै भनिन्, 'ज्वाइँले हामीलाई छिट्टै हिरासतबाट निकाल्न भन्नुभएको थियो, नत्र मलाई यही मार्छ, मेरो ज्यानको खतरा छ, भनेर भन्नु भएको थियो ।'
गत वर्ष फाल्गुनमा शम्भु र पिता श्यामले छोरीको विवाहका लागि लिएको ऋण तिर्न मद्रास गएका बुवाले घरको जिम्मेवारी सुम्पिएर गएका शम्भु कहिल्यै नआउने गरी गयो, छिनछिनमै मुर्छा पर्ने गरेकी शिपालीले भनिन्, 'कान्छो छोरा राम, दुई बहिनी, श्रीमती मनिता र ६ महिनाकी छोरीको पेट पाल्ने जिम्मेवारी शम्भुकै थियो, ट्याक्टर चलाएर कमाएर हामीलाई दिन्थ्यो, अब हाम्रो पेट कस्ले पालिदिन्छ ? उनकी आमा भन्छिन्, 'मेरो छोरालाई किन मारियो ?'
मत्युको तीन दिनअघि दुवै सम्धिनी प्रहरी हिरासतमा ज्वाइँ भेटन गएको घटना सम्झदै शम्भुकी सासू तेतरी देवी सदाले भनिन्, 'थुनामा रहेको ज्वाइँले हामीलाई पहिल्यै भनेका थिए, मलाई छोडाएर लगेन भने मलाई यही मारिदिन्छ ।'
ज्वाइँको कुरा सुनेर डराएकी आमा र सासूआमा दुवैले ट्याक्टर धनी संजय साहलाई चाँडो छुटाइदिन आग्रह गर्न उनको घरै पुगेको समेत सुनाए । जवाफमा 'संजयले यो विषयमा धेरै मान्छेलाई नभन्न र पीर नलिन भन्दै गर्दा छुट्ने बेलामा मेरो ज्वाइँलाई मारिदियो, हामी पनि ५ लाख रकम खोज्नतिर लाग्यौं।'
रकमको जोहो गर्दागर्दै आफ्नो ज्वाइँलाई प्रहरी हिरासतभित्र हत्या गरिएको तेतरी देवीको आरोप छ ।राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले शम्भु यादवको प्रहरी हिरासतमा २४ घण्टे प्रहरीको निगरानीमा हत्या वा आत्महत्या के भएको हो ? त्यसको निष्पक्ष छानविन हुनुपर्छ । उनले भने, 'प्रहरीको निगरानीमा रहेको व्यक्ति एउटा सर्टको सहारामा त्यो पनि शौचालयमा झुण्डिनु रहस्यमय छ, छानबिन होस् घटनालाई सामान्य रुपमा नलिइयोस् ।'
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले शम्भुले आत्महत्या नै गरेको दाबी गरे । उनले भने, 'शम्भुको आमाले पत्रकारसँगको कुराकानीमा भनेको छ, आमा मलाई छिट्टै निकाल्नुस् नभए म मर्छु, त्यो कुरा अहिले आएर थाहा भो, पहिल्यै नै यो कुरा जानकारी भएको भए विशेष निगरानीमा राख्थे, तर शम्भुले उसको आमालाई भनेको कुरा पछि थाहा भो।'
उनले शम्भु शान्त र सरल स्वभावका भएको बताउँदै आफूहरुले सधैझैं शम्भुलाई निगरानीमा राखेको तर सोच्दै नसोचेको घटनाले आफूलाई समेत दुःखित तुल्याएको बता्ए । यता प्रदेश २ मा लकडाउनको अवधिमा मात्र ५२ जनाले आत्महत्या गरेको तथ्यांक छ । नेपालमा औसत १६ जनाले लकडाउन अवधिभर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !