तीन जिल्लामा झन्डै चार अर्ब क्षति

तीन जिल्लामा झन्डै चार अर्ब क्षति

नेपालगन्ज /धनगढी : बाँके र बर्दियामा यस वर्ष फौजी किराले १४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलको धान क्षति भयो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार त्यसबाट १५ हजार ३ सय ६ घरधुरी प्रभावित भए। बाँकेमा मात्र ९० प्रतिशत क्षति भएको छ।

जिल्लाका १३ हजार ३ सय ९१ हेक्टरको धान उत्पादनमा क्षति भयो। जसबाट जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा मात्र ७ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा क्षति भएको छ।

डुडुवामा २ हजार १ सय ३२ हेक्टर, जानकीमा १ हजार ८ सय हेक्टर र नरैनापुरमा एक हजार पाँच सय ६९ हेक्टरमा क्षति भयो। बर्दियाको ८ सय ७३ हेक्टरमा धानमा क्षति भएको छ। मधुवन नगरपालिकामा ३ सय ८६ हेक्टर, बाँसगढी नगरपालिकामा २ सय हेक्टर र ठाकुरबाबा नगरपालिकामा १ सय ३९ हेक्टरमा क्षति भएको छ।

गत वर्षको उत्पादनसँग तुलना गर्दा यस वर्ष किसानले बाँकेमा ५६ करोड ९४ लाख रुपैयाँ र बर्दियामा ४४ करोड ५५ लाख रुपैयाँ गरी किसानले एक अर्बभन्दा बढीको क्षति व्यहोर्नुपर्‍यो। यस आर्थिक वर्षमा धान मात्र होइन, बाँके र बर्दियामा खाद्यान्न बाली, दलहन, तेलहन, लहरे बाली र तरकारीमा कम्तीमा पनि ४ प्रतिशतदेखि बढीमा ७६ प्रतिशतसम्म क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ।

बमौसमी वर्षाका कारण यो वर्ष दुवै जिल्लामा गहुँको उत्पादन बढेको देखिन्छ। क्षेत्रफल वृद्धि भएकाले उत्पादन बढेको देखिए पनि उत्पादकत्व भने ३ देखि ७ प्रतिशतसम्म घटेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन्।

खजुरा गाउँपालिकाको स्मार्ट कृषि गाउँका धेरै किसानले करेला, टमाटर र काँक्रो उत्पादन नै लिन पाएनन्। लकडाउनका बेला विषादी किन्ने पसल बन्द भएका कारण किसानले क्षति व्यहोर्नुपरेको स्मार्ट कृषि गाउँका संयोजक लालबहादुर खत्री बताउँछन्। स्मार्ट कृषि गाउँकै ५० बिघाको टमाटर र ५ बिघाको काँक्रामा क्षति भयो। यहाँको मकै पनि अमेरिकन फौजी किराले सखाप पार्‍यो

खजुरा–२ सीगाउँका गेनालाल मुराउले १० हेक्टर क्षेत्रफलमा लगाएको टमाटर बेमौसमी वर्षाका कारण एउटा पनि उत्पादन लिन पाएनन्। ‘नौ लाख रुपैयाँ लागेको खर्च नै डुब्यो’, उनले दुःखेसो पोखे, ‘अघिल्लो वर्ष हरेक दिन ४० क्विन्टल टमाटर बेच्थें। यस वर्ष एक दाना पनि बजार गएन। अलि–अलि बचेको टमाटर लकडाउनका बेला चौपायाले खाएर सके।’

बेमौसमी वर्षा, किराको प्रकोप र लकडाउनका कारण एक वर्षमा मात्र दुई जिल्लामा ३ अर्ब ६२ करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। बर्दियामा एक अर्ब ८७ करोड ३७ लाख ४१ हजार रुपैयाँ र बर्दियामा एक अर्ब ७४ करोेड ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। औसत बजार मूल्य राखेर निकालिएको यो हिसाब बजारको वास्तविक मूल्यअनुसार गर्दा अझै धेरै क्षति भएको हुन आउने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ।

कैलाली–कञ्चनपुरमा साढे ३२ करोडको क्षति

हिउँदे झरीबाटै कृषि उपजमा नोक्सान सहँदै आएका कैलाली र कञ्चनपुरका किसान लकडाउन र बेमौसमे झरीले झन् थला परेका छन्। दुवै जिल्लामा दलहन बाली, केरा र तरकारीमा गरी किसानले साढे ३२ करोडको नोक्सान सहनुपरेको छ।

कैलाली र कञ्चनपुर जिल्ला हेर्ने कृषि ज्ञान केन्द्र महेन्द्रनगरको तथ्यांकअनुसार फागुन र चैतमा भिœयाउने मसुरोमा मात्रै किसानले ३० करोडको नोक्सान व्यहोरेका छन्। त्यस्तै, केरा र तरकारीमा पनि दुवै जिल्लामा अढाई करोडको नोक्सानी भएको छ।

हिउँदमा परेको अविरल वर्षाले, सबैभन्दा बढी मसुरो उत्पादनमा ह्रास आएको छ। कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टले मसुरोमा २० प्रतिशतको नोक्सान भएको बताए। कैलालीमा २१ हजार र कञ्चनपुरका ५ हजार हेक्टरमा मसुरो खेती गरिन्छ। ‘यस वर्ष गत वर्षभन्दा ५ हजार टन मसुरो कम उत्पादन भएको र त्यसको नोक्सान किसानलाई भएको छ। किसानलाई ३० करोड बढीको क्षति भएको छ’, ज्ञान केन्द्रका प्रमुख भट्टले भने।

हिउँदभरि लगातारको झरीले गहिरो जमिनमा लगाएको मसुरो खेती नष्ट भएको थियो। हिउँददेखि नै कृषि उपजमा नोक्सान सहन बाध्य भएका किसानलाई लकडाउन र वैशाखे झरीले झन् नोक्सान पुर्‍याएको छ।

कैलाली र कञ्चनपुरमा लकडाउनका कारण मात्रै केरा किसानले डेढ करोडको नोक्सान व्यहोरेका छन्। ज्ञान केन्द्रको तथ्यांकअनुसार कैलालीमा एक हजार हेक्टर क्षेत्रफल र कञ्चनपुरका ५ सय हेक्टरमा केरा खेती गरिन्छ। ‘त्यसमध्ये लकडाउनका बेला कैलालीमा ७५० हेक्टर र कञ्चनपुरमा २५० हेक्टर क्षेत्रफलमा लगाएको केरा फलेको थियो। अहिले केरा बजारमा जान थाले पनि लकडाउनको पहिलो महिना त किसानले धेरै नोक्सान सहे’, भट्टले भने, ‘दुवै जिल्लामा केरा किसानले मात्रै डेढ करोडको नोक्सान सहनुपरेको छ।’

कैलालीको टीकापुर, जानकी, लम्कीचुहा, भजनी र जोशीपुर केरा पकेट क्षेत्रमा पर्छन्। त्यहाँका एकै किसानले ७० बिघाभन्दा बढीमा केरा खेती गरिरहेका छन्। ‘सबैभन्दा बढी पकेट क्षेत्रका केरा किसानलाई क्षति भएको छ। अझ चैतदेखि जेठमा फल्ने केरामा लगानी बढी हुने र मुनाफा पनि बढी हुने गर्छ। ‘ठूला केरा किसान पनि घाटामा छन्, यसले किसान हतोत्साही बनेका छन्’, ज्ञान केन्द्र प्रमुख भट्टले भने।

लकडाउनका कारण हाटबजार बन्द छन्। तरकारी मण्डी बन्द छन्। घुमाएर बेच्न पनि बेच्ने मान्छे कोरोनाको डरले बाहिर निस्कन नमानेपछि बेमौसमी तरकारी फलाएका किसानले करोडौं नोक्सान सहेका छन। कैलाली र कञ्चनपुरमा सय बिघाको बगर खेती र ५० बिघाभन्दा बढी सामान्य जमिनमा लगाएको तरकारी नष्ट भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ। लकडाउन खुला होला र तरकारी बजारमा पठाउँला भनेर बगरमा कुरिरहेका किसान वैशाखमा आएको बाढीको चपेटामा परेका छन्।

कैलालीका मोहना, कन्द्रा, खुटिया, कञ्चनपुरको चौधर नदीसहित दर्जनाँै नदीका बगरमा लगाएको तरकारी वैशाखमा आएको बाढीले बगाएको छ। ‘बगरमा लगाएको तरकारी बगायो भनेर सयौं किसानका निवेदन आएका छन्। अहिलेसम्म कैलाली र कञ्चनपुरका बगरमा लगाएको र खाली जमिनमा लगाएको गरी १५० बिघामा एक करोडभन्दा बढी तरकारी नोक्सान भएको तथ्यांक संकलन भएको छ’, कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले भने।

‘थोरै मान्छे आउँछन्, साँझको चुलो बाल्ने पैसो त चाहियो भनेर कुहिनुभन्दा सस्तोमा पनि बिक्री गर्नुपरेको छ’, उनले भने, ‘तरभुजासहितको तरकारी सुदूरपश्चिमका ७ वटा पहाडी जिल्ला र प्रदेश ५ को नेपालगन्ज सुर्खेतसम्म जाने गरेको थियो, यसपालि धनगढीकै बजारमा जान पाएको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.