'न्याय नपाउँदै काममा फर्कियौं भने सिद्धार्थको आत्माले सराप्छ'
अछाम : न्याय हेल्थ नेपाल नामक अन्तरराष्ट्रिय गैरसरकारी सस्थाद्धारा सञ्चालित अछामको बयलपाटा अस्पतालले आर्थिक संकटका भएको भन्दै ३२ जना कर्मचारीलाई हटायो। जागिरबाट बिना कारण हटाएपछि कर्मचारी तनाबमा छन्। त्यस मध्येका अस्पतालमा सरसफाईमा कार्यरत सिद्धार्थ आउजीले यहि जेठ २६ गते आत्मदाह नै गरे। शरिरमा पेटोल छर्केर आगो लगाएका सिद्धार्थलाई उपचारका लागि नेपालगञ्जको कोहरपुर मेडिकल कलेज लगिएको थियो। अन्तत उनले त्यहि मेडिकल कलेजमा प्राण त्याग गरे।
अहिले यस्तै तनाबमा छन् जनक कडायत। आर्थिक अवस्था कमजोर भएका जनक परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन्। जनक कडायत अस्पतालमा ६ वर्ष ३ महिनादेखि सिनियर फ्यासेलिटी कोर्डिनेटर पदमा कार्यरत थिए। संस्थाको कार्यसम्पादन, मुल्याकंन र अनुशासनमा उनी सधै अगाडी नै छन्। अस्पतालले ६ महिना अगाडी गरेको मुल्याकंन पनि उनी विशिष्टमै परेका थिए र उनको बढुवासमेत भयो। तर अस्पतालले निकालिएको कर्मचारीलाई कार्यसम्पादन, अनुशासन मुल्याकंन राम्रो नभएको भन्दै निकालेको बताउँदै आएको छ।
आत्मदाहको घटनापछि अस्पतालले विज्ञप्ति निकाल्दै कर्मचारी हटाउने निर्णय स्थगन गरेको छ। जनकलगायतका निकालिएका कर्मचारी पीडीतले न्याय नपाउँदासम्म काम नफर्किने बताउँछन्। जनकले भने‘सिद्धार्थले न्याय नपाउँदासम्म हामी काममा फर्किदैनौं, तत्काल रोजगार दिने र राहत नदिँदासम्म हामी काममा फर्किदैनौं र यो घटनालाई त्यसै सेलाउन दिदैनौं। हामी काममा फर्किए पनि त्यहाँ काम गर्ने वातावरण हुदैन अब। फेरि पनी सिद्धार्थ जस्तै अरु घटना नहोला भन्न सकिन्न।’
कौशिला तिमिल्सेनाले पनि पीडितले न्याय नपाउँदासम्म काममा नजाने बताइन। उनी अस्पतालमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत रहेका थिइन्। उनले भनिन् ‘जागिरको कुनै लोभ छैन्। क्षमता भए पछि जता पनि जागिर पाइन्छ। यदि हामी यत्तिकै काममा फर्कियौं भने सिद्धार्थको आत्माले हामीलाई सराप्ने छ।’
अस्पतालले ३२ जना भने पनि ३५ जना कर्मचारी निकालिएको एक जना कर्मचारीले बताइन। उनले भने ‘एक जना कर्मचारी त एक्कासी जागिर खोसिएको खबर पाएपछि डिप्रेशनमा गए, उनको अवस्था नाजुक भएपछि पुर्नबहाली गरिएको छ। काठमाडौंमा अस्पतालको सम्पर्क कार्यालय छैन् तर त्यहाँ २३ जनाको जम्बो टोली बसेर बिना काम लाखौं रकम खाइरहेका छन्। उनीहरुका लागि मात्र ७ करोड रकम छुट्याइएको छ। हटाइएका कर्मचारी १९ देखि २८ हजार तलब खाने छन्। आर्थिक संकट हो भने रातदिन नभनी काम गर्ने कम तलब खाने कर्मचारीलाई किन हटाइयो? बढी खानेलाई किन राखियो?' उनले प्रश्न गरे।
अस्पतालमा आउने रकम सबैभन्दा बढी तलब भत्तामा खर्च हुने गरेको छ। गत आर्थिक वर्षमा अस्पतालमा २२ करोड वैदेशिक रकम आएको थियो। यसमध्ये १८ करोड तलब भत्तामा सकिएको छ भने बाँकी ४ करोड अस्पताल व्यवस्थापनमा खर्च गरिएको स्रोतले बताएको छ। यसैगरी यो आर्थिक वर्षमा १६ करोड रकम प्राप्त भएको छ। जसमा तलब भत्तामा मात्रै १४ करोड छ भने अन्यमा २ करोड रहेको छ। अस्पतालमा १९ देखि २८ हजार तलब खाने ८० प्रतिशत छन् भने एक लाख भन्दामाथि तलब खाने २० प्रतिशत छन्।
प्रतिक्रिया दिनुहोस !