'ओ' अमेरिका तिम्रो लोकतन्त्रको रङ के हो ?
बिर्सिसकेको कुरा पनि सम्झिएँ । त्यो बिर्सिसकेको कुरा लेखको विषय त के चिया गफको विषय होला भन्ने पनि सोचेको थिइनँ । कहिल्यै त्यसबारे साथीभाइसँग गफ लडाइनँ । किनभने त्यो गफ गर्नुपर्ने विषय हो भन्ने लागेन । आज विश्वका २ व्यक्तिको मृत्यु यो मेरो लेखको जन्मको कारण बनेको छ ।
आफ्नो जीवनको एउटा घटना पनि सम्झना भयो र यो लेख लेखिँदैछ । सुरुमै भनेको थिएँ, ‘बिर्सिसकेको कुरा’ भनेर । त्यो किनभने मान्छेले कि साह्रै ठूलो खुसीको कुरा सम्झने हो, कि साह्रै दुखको कुरा र आफूले गरेको उत्कृष्ट कर्म ।
मलाई त त्यो कुरा त्यस्तो विधि उत्कृष्ट र अरुले गर्नै नसकेको र आफूले मात्रै गर्न सकेको जस्तो ठूलो काम भन्ने लागेको थिएन । त्यसैले काम सकियो, अनि स्मृतिको अवचेतन गर्तमा गयो । नेपालमा नवराज विश्वकर्माको मृत्यु भएपछि र त्यसपछि उठेका बहसका तर्क वितर्क पढेपछि मलाई विगत सम्झना भयो । अमेरिकामा जर्ज फ्लोइडको मृत्यु भएपछि पनि फेरि सम्झिएँ । यी २ घटनाका सन्दर्भमा उठेका बहसले भनिरहेका छन्, दुवैको हत्याको कारण जातीय विभेद वा रंगभेद हो ।
आजको मितिसम्म आइपुग्दा पनि रंगभेद र जातिभेद बाँकी रहेको देख्दा र यसै विषयमा फेरि बहसमात्रै नभएर आन्दोलन नै उठ्नुपरेको देख्दा दुखद आश्चर्य पनि लागेको छ । अमेरिकामा त यस्तो आन्दोलन १९६८ मा मार्टिन लुथर किङ मारिएपछिमात्रै भएको थियो भन्ने छ । अहिले आएर देख्दैछु, हामी नेपाली त के अमेरिकीहरुमा समेत जाति र रंगभेदको जरा अझै उखेलिएको रहेनछ ।
मेरो स्मृतिको गर्तमा गइसकेको त्यो कुराचाहिँ डेढ वर्षअघिको मात्रै हो । पोखरामै हुँदा यसो हेलोहाई मात्रै भएका एक भाइले म्यासेज पठाए । प्रस्ताव देखेर आश्चर्य लाग्यो । प्रस्ताव थियो ५ लाख रुपैयाँ दिने, त्यस्तै ५ हजार डलर । सायद नेपालको पूर्वी जिल्लाबाट मजदुरी गर्न आएको परिवार थियो उनको।
हाम्रै घर मालेपाटनको अडेसपडेसतिरै बस्थे उनीहरु । बाटोघाटोमा आँखा जुध्दा मुस्कानको अभिवादन साटासाट गर्ने नेपाली चल्ती हामीहरुबीच पनि हुन्थ्यो । तर गहन संवादका लागि प्रसंगै जुटेन । कामै परेन । त्यस्ता अनुजले एकाएक गरेको प्रस्तावबाट तीनछक परें । भएको के रहेछ भने ती भाइलाई डिभी परेछ । डिभी परेर पनि सबै प्रक्रिया पूरा नगरी कहाँ अमेरिका आइहाल्न पाउनु ? मूलकुरा त अमेरिकामै बस्ने कसैले स्पोन्सर गरिदिनुपर्ने प्रावधान ती भाइका लागि ठूलो खड्गो बनेर देखापरेको छ । कोही नातागोता, आफन्त, इष्टमित्र अमेरिकामा रहेनछन् । कताकताबाट झट्ट मलाई सम्झिएछन् र फेसबुकमा मेसेज गरेका छन् दुख बिसाउँदै भन्दा पनि त्यतिका पैसाको अफरसहित ।
उनको पहिलो प्रस्ताव मैले सहजै स्वीकारे, स्पोन्सर गर्ने कुरा । दोस्रोमा अहसमति जताएँ, ५ लाख रुपैयाँ दिने कुरा । हो, उनी कथित तल्लो जातिका भाइ थिए । हाम्रो संरचना नै यस्तो छ कि उनका नातागोता यसअघि कोही अमेरिका आएनन् । साथीभाइ पनि भएनन् अमेरिकातिर । सायद लोकसेवा आयोग लडेका आफन्त पनि छैनन्, पुलिस र सेनामा पनि त्यस्तै अभाव छ । हो, यो हाम्रो संरचनाको दोष हो । डिभी परेकै अर्काे जातिको व्यक्तिका हकमा भने त्यस्तो हुँदैनथ्यो । स्पोन्सर सजिलै भेटिन्थ्यो । दलितको हालत कहाँनिर छ भन्ने देखाउन उनकै उदाहरण काफी थियो । तर मलाई उनको जातसँग कुनै लेनादेना भएन । एउटा नेपाली ठिटो आफ्नै भाइसमानको व्यक्ति अमेरिका आउने डिभी परेर पनि आउन सकेन भन्ने कुराले भित्रैदेखि छोयो । मैले सबै प्रक्रियाका कागजपत्र उनलाई पठाएँ । उनी अमेरिका आए।
म त बच्चैदेखि जातिपाती नमान्नेखाले थिएँ । निर्मलपोखरी गाविसको साम्मीमा हुर्कंदै गर्दा मैले घरबाहिर सायद पहिलोपटक कसैको घरमा खाना खाएको थिएँ भने त्यो दलितकै घर थियो भन्ने अहिले फेरि सम्झें । मलाई त्यस्ता कुरामा पनि ख्याल किन भएन भने मैले कहिल्यै सोचिनँ कि मैले दलितको घर खाना खाएँ । मैले त सधैं सोचें मान्छेको घरमा खाना खाएँ । लुगा सिउन जाने बेला आमाको पुच्छर हुन्थें म । आमालाई त कस्तो हुन्थ्यो थाहा भएन तर म भोक लाग्यो भन्थें, लुगा सिउने ठूलाबा ठूलीआमाहरुले भात खान्छौं त भन्नुहुन्थ्यो । व्रतबन्ध गरेको छैन क्यारे दिए हुन्छ भन्नुहुन्थ्यो मेरी आमा । अनि म कपाकप ठूलीआमाले दिएको भात खान्थें । पहिला व्रतबन्ध गरेको छैन भन्ने बहानामै सही छोइछिटो मानिनँ । जान्नेभएपछि त्यस्ता छोइछिटो भन्ने कुन चराको नाम हो भन्ने मतलब हुने कुरै भएन । प्रगतिशील आन्दोलनमै लागियो, विद्यार्थी राजनीतिमै होमियो । छोइछिटो हट्नुपर्छ व्यवहारमै भनेर लागेको मान्छेलाई जातभात भन्ने मान्ने कुरा हो भन्ने आउँदै आएन ।
तर अमेरिका आएपछि भने मैले नजिकै देखें जातिपातीको कुरा । भइदियो के भने त्यो मेरो भाइ जसलाई मैले स्पोन्सर गरेर ल्याएको थिएँ, उसलाई कोठा खोज्न धुइँपत्ताल लगाउनु पो पर्यो। आफ्नै कोठामा राखेर उसलाई कोठा खोज्छु, जो भेट्छु बहाना बनाउँदै कोठा दिन आनाकानी पो गर्छन् मान्छेहरु । हामीलाई त केही छैन, भोलिपर्सि बाआमा पनि आउनुहुन्छ, अप्ठेरो हुन्छ भन्दै नेपालीहरु नै उनलाई कोठा दिन तर्किए । उदेक पो लाग्यो त्यतिबेला । जब कि मैले उनलाई स्पोन्सर गर्दा उनको जातमात्रै होइन अरु धेरै कुराबारे कत्ति सोचेको होइन । मैले स्पोन्सर गरेको हुँदा उनले कतै तलबितल गरे, त्यसको भागिदार म पनि हुनुपर्ने अमेरिकी कानुन छ । त्यस्तो जोखिम पनि त मैले उठाएँ । अरु त कोठै दिन पो मान्दैनन् । मनमनै धत तिम्रो बुद्धि भन्ठाने । अरु कुरा गर्न सकिनँ । बल्लतल्ल कोठा मिलाएँ । उनी आज सानमानका साथ बाँचिरहेका छन् यहाँ । मलाई त्यसैमा गर्व छ कि उनी पौरखी छन्, मेहनती छन्, कर्मशील छन् । उनलाई तल्लो जातको सोच्नेहरुलाई उनकै व्यवहार र कर्मले जवाफ दिइरहेकै छ । हामी त एउटै परिवारजस्तो भएका छौं ।
यता, जर्ज फ्लोइडको हत्याले अर्काे कुरा सोचमग्न छु । मार्टिन लुथर किङ मारिएको यतिका समयपछि पनि रंगभेद अमेरिकामा यति नांगो रुपमा देखा प¥यो । आफ्नै छोरा सम्झिँदै भावुक पनि हुन्छु । मेरो छोरा जो यहीं जन्मिएको छ । जन्मले नै ऊ अमेरिकी भयो । उसलाई नेपालीभन्दा अंग्रेजी भाषा सजिलो लाग्छ । तर भोलि हुर्कंदै जाँदा मेरो कपाल कालो भएकैले म रैथानेभन्दा फरक हुँ भन्ने उसलाई पनि लाग्ला कि भन्ने डर लागिरहेको छ । कपालको रङ वा छालाको रङ फरक भएकैले विभेद उसले पनि व्यहोर्नुपर्ने पो कि भनेर डर लागिरहेछ । के आजको मान्छे पनि आप्रबासी र रैथानेमा विभेद गर्न सक्छ ? प्रश्नका ज्वारभाटाहरु मनमा मच्चिए ।
नेपाली भुटानीलाई पुख्र्याैली देश नेपाल धपाइयो । तिनै नेपाली अमेरिका भासिन बाध्य पारियो । यहाँ पनि उनीहरुलाई सुख छैन । आखिर मानिस ७० हजार वर्षअघि अफ्रिकाबाट बसाइ सर्दै सर्दै पृथ्वीका कुनाकुना पुगेको न हो । न यहाँ को कहाँको र कुन कहाँको भन्दै पुख्र्याैली थलोमै फर्कन बाध्य पार्ने हो भने क्रिस्टोफर कोलम्बससँगै अमेरिका आएकाहरु कहाँ फर्कने ? अहिलेकै राष्ट्रपति ब्रिटेनै फर्कने कि कहाँ ?
संसारकै उदाहरणीय लोकतन्त्र भन्ने देश अमेरिका । समानता र न्यायको कुरामा अब्बल छु भन्ने देश अमेरिका । अनि यहीं यस्तोखाले विभेद भइदिने हो भने के हामीले लोकतन्त्रको परिभाषा बदलिएको हो भनेर बुझ्ने ? बस म यत्ति चाहन्छु, जो कालो छ उसको पनि देश हो यो अमेरिका । जो जुन जुन परिस्थितिले वा चाहना र अवसरले यहाँ आएको छ उसको पनि देश हो अमेरिका । प्रश्न यत्ति हो कि कानुनका नजरमा सबै समान छन् भने व्यवहारमा विभेद किन ? रैथाने अमेरिकीले अमेरिकालाई महान बनाए कि आप्रवासीले ? तथ्य बोल्छ आप्रबासीले । अनि विभेदचाहिँ आप्रबासीलाई ? फेरि पनि सोध्न चाहन्छु ओ अमेरिका तिमी कस्तो लोकतन्त्र हौ ? जहाँ अझै जर्ज फ्लोइड रङकै आधारमा मर्न विवश हुन्छन् ? मान्छेमान्छेलाई रङ र वर्णका आधारमा छुट्याउने तिम्रो लोकतन्त्रको रङ के हो ? मैले त लोकतन्त्रलाई पानीजस्तै रङहीन ठान्थें, निराकार पनि ।
प्रश्न नेपाललाई पनि सोध्छु कस्तो गणतन्त्र हो तिम्रो कि अझै जातका आधारमा नवराज विश्वकर्मा मारिन्छन् ? विन्ती छ मान्छे नमार । व्यक्तिव्यक्तिका मस्तिष्कमा रहेको रङ र जातिपातीको विभेदको विषलाई मारिदेऊ । अनि बल्ल तिमीहरुका लोकतन्त्रलाई मानूँला । तिम्रा लोकतन्त्र त मेरो चित्त जत्ति पनि नभएको देख्दा उराठ लाग्यो । अमेरिका जन्मिएको मेरा छोराले र यहीं हुर्किएकी छोरीले यस्तो उराठ देख्न र भोग्न नपरोस् ।