भीडभाडमा असावधानी आत्मघाती

भीडभाडमा असावधानी आत्मघाती

काठमाडौं : कोरोना संक्रमणको जोखिम उच्च रहेकाले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाती हुने चेतावनी विज्ञले दिएका छन्। कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञको भनाइ छ।

स्वतस्फूर्त र स्वतन्त्र रूपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञ बताउँछन्। वरिष्ठ सघन उपचार (आईसीयू) विशेषज्ञ डा. अर्जुन कार्की भन्छन्, ‘ भौतिक दूरी कायम पनि नगर्ने र मुखमा मास्क पनि नलगाउने हो भने कोरोना संक्रमणको जोखिम बढ्छ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुईजनाबीच कम्तीमा पनि एक मिटरको दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ। मुलुकमा अहिले दिनहुँ तीन सयको हाराहारीमा कोराना संक्रमित फेला परेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पछिल्लो चौबिस घण्टामा २ सय ७३ जनामा संक्रमणको पुष्टि भएको छ।

प्रदर्शनमा सामाजिक दूरी कायम नहुने, नारा लगाउँदा कोरोना भाइरस मुखको थुकको छिटाको माध्यमबाट बाहिर निस्कने हुँदा धेरैजना संक्रमित हुने खतरा भएको विज्ञहरूको भनाइ छ। ‘अत्यावश्यक कामबाहेक बाहिर निस्कनु जोखिम निम्त्याउनु हो। बाहिर केके छोइएको हुन्छ। कोकोसँग भेटघाट भएको हुन्छ। घरमा फर्कंदा कोराना भाइरस ल्याएर आउने जोखिम हुन्छ’, डा. कार्कीले भने। बाहिर डुलिहिँड्ने समूहका व्यक्तिमा नै कोरोेनाको संक्रमण उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जनाएको छ। सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहमा कोरोना संक्रमण उच्च देखिएको छ। कुल संक्रमितमध्ये यो वर्गका दुई हजार ६८ जना व्यक्ति संक्रमित देखिएका छन्।

अहिलेसम्म मुलुकका ७२ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि महामारीको समयमा भीडभाड तथा जुलुस प्रदर्शन गर्ने क्रममा आत्मघाती हुने जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ। प्रवक्ता डा. गौतमले भने, ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं अत्यावश्यक सेवा सञ्चालनमा संलग्न व्यक्तिलाई संक्रमण बढ्छ।’ परिवारको कुनै सदस्य संक्रमण भए घरमा रहेका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, बालबालिका एवं दीर्घरोगीलाई संक्रमण भई ज्यान जान सक्ने उनले बताए। मुलुकमा हालसम्म कोरोना संक्रमणबाट १८ जनाको ज्यान गइसकेको छ। काठमाडौं उपत्यकालगायत सहरीक्षेत्रका घनाबस्तीमा संक्रमण भए अस्पतालले धान्न नसक्ने उनको भनाइ छ।

संक्रमणको पुष्टि भएका ४ हजार ४ सय ४ जना मुलुकभरका विभिन्न आइसोलेसनमा उपचाररत छन्। असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण गर्ने योजना छ। गौतमका अनुसार, भीडभाडले धेरै संक्रमण भए दैनिक १० हजारको परीक्षण गर्ने संख्या पनि अपुग हुनेछ। कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये कुल ९ सय १३ जना निको भई डिस्चार्ज भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.