धानको बीउ तयार भयो, मल छैन

धानको बीउ तयार भयो, मल छैन

जनकपुरधाम : प्रदेश २ का किसान धानको बीउ रोप्ने बेला भइसक्दा पनि मल नपाएर चिन्तामा छन्। कोरोना महामारीबीच धान रोप्नुअगावै आवश्यक पर्ने बीउ विगत वर्षमा जस्तै चरम अभाव हुँदा उनीहरू निराश बनेका हुन्। फौजी किराले मकै बाली सखाप पारेपछि समस्यामा परेका उनीहरूलाई मलको अभावले घाउमा नुन छर्किएसरह बनाएको हो।

‘धानको बीउ तयार भयो। अझै मल पाइएको छैन’ महोत्तरीको बर्दिबास २ का वीरेन्द्र मण्डल दुखेसो पोख्छन् ‘एक बिगाहामा लगाएको मकै किराले खायो, लगानी पनि उठेन।’ वीरेन्द्रले पोहोर साल त्यही खेतमा ६० मन मकै फलेको सुनाउँदै भने, ‘यसपाली घोगा नलाग्दैदेखि फौजी किराले खाइरहेको छ।’ बाह्र जनाको परिवार भएका उनलाई कोरोना महामारीभन्दा पनि भोकमरीको डर छ। धान रोप्ने बेलामा मल नपाउँदा भगवान्कै भरमा परेको उनले सुनाए। सरकारले समयमै मलको व्यवस्था गर्नुपर्ने उनको माग छ।

विगत वर्षमा किसानले सीमानजिकैका भारतीय बजारबाट लुकाएर मल ल्याई जेनतेन खेती गर्ने गरेका थिए। अहिले कोरोना महामारीका कारण सीमा सिल हुँदा किसानले चोरबाटो प्रयोग गरी मल ल्याउन पाएका छैनन्।

बर्दिबास—१ की इन्दिरा भण्डारी चिया पसल चलाउँथिन्। लकडाउनका कारण पसल बन्द भएपछि पहिले खेती गर्दै आएको ६ कठ्ठा खेतनजिकै ६ कठ्ठा थपेर धानखेतीको तयारीमा लागेकी छन्। उनले भनिन्, ‘धानको बीउ रोप्ने भयो। मल अझै किन्न पाइएको छैन।’ त्यस्तै, लहान नगरपालिका १४ बस्तीपुर गाउँका सफिद मियाँले पनि अधियाँ–बटैया र आफ्नो गरी ४ बिघामा धान खेती गर्न बीउ राखेका छन्। खनजोतमा लागेका उनी पनि धान रोप्नुअगावै हाल्नु पर्ने डिएपी मल नपाउँदा भांतारिरहेका छन्।

लकडाउनका कारण भारतको कोलकता बन्दरगाहमा दुई महिनादेखि रोकिएको डीएपी मल आउन सुरु भइसकेको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ।

कृषि ज्ञान केन्द्र राजविराजका कार्यालय प्रमुख भगीरथ यादवका अनुसार सिरहामा ५३ हजार सात सय आठ हेक्टरमा बर्खे धान खेती हुन्छ। त्यसमा प्रतिकठ्ठा ५ किलोका दरले मल आवश्यक पर्छ। ७० प्रतिशत कृषि सामग्री लिमिटेड र ३० प्रतिशत साल्ट टे«डिङले मल आपूूर्ति गर्छ। तर कृषि सामग्रीमा अहिले युरिया मल छैन। पोटास ५०÷६० बोरा र आइतबार आएको डिएपी मल ८ सय बोरा छ। कृषि सामग्री लिमिटेडका प्रमुख नारायण खड्काले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी बुधबारदेखि बिक्री वितरण सुरु गरिने बताए। ‘छदेखि आठ हजार बोरा मल केन्द्रीय कार्यालयबाट आउने जानकारी प्राप्त भएको छ। हाल एक सय आठ सहकारीले डिलरका लागि दर्ता गराएका छन्।’

साल्ट टे«डिङमा भने डिएपी मल छैन। कार्यालय प्रमुख जितेन्द्र साहका अनुसार अहिलेसम्म ६ हजार ६२ बोरा डिएपी र सात सय ३८ बोरा युरिया मल यहाँबाट बिक्री वितरण गरिएको छ। आगामी आइतबारदेखि पुनः बिक्री वितरण गर्ने उनले सुनाए। ‘यहाँबाट पर्याप्त मल नपाउँदा किसान भारतीय बजारमा निर्भर हुन्थे। सीमा नाका बन्द हुँदा किसान थप मारमा छन्’, उनले भने। अनुदानको मल पनि सहकारीहरूले बिचौलियासँग मिलेर महंगोमा बेच्ने गरेको लहान २४ झुटकी गाउँका राजकुमार राउतले सुनाए। ‘सहकारीलाई अनुगमन गरी मल वितरण गर्न लगाउनुपर्छ’, उनले थपे। रौतहटको चन्द्रपुरमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम भने यतिबेला खाली छ। धानखेतीको सिजनमा पनि मल आउनेबारे अन्योल रहेको किसान बताउँछन्। कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रविकुमार केशरीले भने, ‘लकडाउनका कारण भारतबाट मल आएको छैन।’

यस वर्ष रौतहटमा ५ हजार टन युरिया, तीन हजार टन डीएपी, दुई सय टन पोटास र १५ टन कृषि चुन उपलब्ध हुने लक्ष्य छ। कृषि सामग्री कम्पनीले जिल्लाका करिब एक सय २५ सहकारीमार्फत चार सय टनभन्दा बढी युरिया मल वैशाख र जेठमा वितरण गरेको जनाएको छ। कम्पनीले युरिया ७ सय ४० र डिएपी दुई हजार एक सय ९० मा बिक्री गर्ने गरेको छ। जिल्लाका ग्रामीण भेगमा भने १२ सय रुपैयाँ बोर युरिया खरिद गर्न बाध्य भएको किसानको गुनासो छ। देशकै अन्नको भण्डार मानिने प्रदेश २ को ६ लाख २ हजार ३ सय ६ हेक्टर कृषियोग्य जमिनमध्ये तीन लाख ७२ हजार १ सय ३८ हेक्टरमा मात्रै सिँचाइको सुविधा उपलब्ध छ। आकाशेपानीको भरमा रहेका किसानलाई कोरोना महामारीले असर गरेको प्रदेश २ का कृषि मन्त्रालयका प्रवक्ता रजनीश झा बताउँछन्। प्रदेशमा यसवर्ष चैते धान उत्पादनमा २५ हजार ७ सय मेट्रिक टन सम्भावित क्षतिको अनुमान गरिएको मन्त्रालयले जनाएको छ। लकडाउनका कारण भारतको कोलकता बन्दरगाहमा २ महिनादेखि रोकिएको डीएपी मल आउन सुरु भइसकेको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ। गत शुक्रबार वीरगन्जस्थित सुख्खा बन्दरगाहमा १ रयाक (२५०० मेट) मल आइपुगेको कार्यालय प्रमुख गोविन्द पराजुलीले जानकारी दिए। कोलकत्ता बन्दरगाहबाट शनिबार थप एक रयाक मल लिएर रेल हिँडेको उनले बताए।

धानबालीका लागि नेपाल सरकारले २५ हजार मे टन डीएपी मल खरिद गरेको थियो। त्योमध्ये १२ हजार ५ सय मेट्रिक टन डीएपी मल लकडाउनका कारण भारतको कोलकत्ता बन्दरगाहमा दुई महिनादेखि अड्किएको छ। चीनबाट आयात गरिएको १२ हजार ५ सय मेट्रिक टन डीएपी मल लकडाउनका कारण कोलकत्ता बन्दरगाहमा ब्यागिङ र लोडअनलोड हुन नसक्दा दुई महिनादेखि रोकिएको हो। भारतमा लकडाउन खुकुलो भइसकेकाले बजारमा मल अभाव धेरै दिन नरहने पराजुलीले बताए। वीरगन्ज नाका हुँदै भित्रिने मल भने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेश २ का ६ जिल्ला पर्सादेखि धनुषासहित १६ जिल्लामा आपूर्ति गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.