‘दस दिनमा दस पेन्टिङ’

‘दस दिनमा दस पेन्टिङ’

काठमाडौं : सामाजिक सञ्जालमा अहिले चित्रकारबीच ‘१० दिनमा १० पेन्टिङ’ नामक अभियान चलेको छ। ‘च्यालेन्ज एसेप्ट’ शीर्षकमा अन्तर्राष्ट्रिय कलाकारले सुरु गरेको यो अभियानमा नेपालका चित्रकार पनि सहभागी भएका छन्। लकडाउनले कलाको प्रवद्र्धन तथा प्रचार सुस्ताइरहेको अवस्थामा चित्रकारहरूले सक्नेले नयाँ चित्र त नियमित बनाउन नसक्नेले पुराना चित्र फेसबुक पेजमा सार्वजनिक गर्छन्। आफूलाई मन परेको कलाकारलाई ट्याग गरिदिन्छन्। मैले यस्तो बनाएँ है, तैंले कस्तो बनाइस् त ? भनेर अव्यक्त रूपमा एकले अर्कालाई चुनौती पनि दिइरहेका छन्।

चित्रकार बाबु साइँलाले आइतबार छैटौं दिनको पेन्टिङ भन्दै एक सुन्दर जोडीको चित्र पोस्ट गरे। बर्खायामको समयमा एउटै छाता ओडेर हात समाउँदै चुम्बनमा लिप्त जोडीलाई उनले चित्रमा उतारेका छन्।

यस्तै उनले अघिल्लो दिन बनाएको एक वृद्धको फोटोलाई आफ्ना साथी हितेश वैद्यलाई ट्याग गरेका थिए। विशेषतः पोट्रेट, ल्यान्डस्केपमा दखल राख्ने साइँलाले यो १० दिनमा पाँचवटा नयाँ चित्र र पाँचवटा पुराना चित्र सार्वजनिक गर्ने योजना बनाएका छन्। बाबुलगायत रूपेश श्रेष्ठ, एनबी गुरुङ, सुदीप आले, जगदीश मोक्तान, कमल गुरुङ, ईशान परियार, डीबी किरातलगायत दुई दर्जनभन्दा बढी कलाकार यो अभियानमा सक्रिय छन्।

कलाकारबीच भाइचारा बढाउने र घरभित्रैबाट पनि कला गतिविधिलाई सक्रिय बनाउने उद्देश्यका साथ यो अभियानमा ऐक्यबद्धता जनाएको कलाकारहरू बताउँछन्।

करिब तीन महिनाको लकडाउनमा धेरै कलाकार समस्यामा परे। कतिका रङ सकिए भने कोहीको क्यानभास सकिए। आवश्यक सामग्रीको अभावमा चित्रकारहरूले सोचेजस्तो चित्र बनाउन सकेनन्। बाबु साइँला पनि लकडाउनको तनावबाट बच्न सकेनन्। प्रायः नजिकका सुन्दर प्राकृतिक ठाउँ घुमेर लाइन चित्र बनाउन मन पराउने उनी घरभित्रै थुनिनु पर्दा निकै गाह्रो भएको बताउँछन्। भन्छन्, ‘कल्पना गरेर दृश्य बनाउनु पर्दा आफंैलाई पनि रियालिस्ट नलाग्ने रहेछ। कहीँ कतै नमिलेको कहीँ के बदलिएको।’

लकडाउन सुरु भएपछि दुई दर्जनभन्दा बढी चित्र बनाइसकेका साइँला वैदेशिक रोजगारको सिलसिलामा पाँच वर्ष कोरिया बसेर फर्किएका हुन्। लमजुङका भीम सुब्बा तामाङ अहिले काठमाडांैमा बसेर बाबु साइँलाको नाममा चित्रकारितामा भविष्य बनाउँदै छन्। उनलाई हरेक चित्र बनाउँदै गर्दा कसरी अरूभन्दा फरक चित्र बनाउने भन्ने लाग्छ। आर्टमा प्रस्तुत विषय, रङहरूको आउटलाइन, दृश्यको संयोजन, आर्ट प्रस्तुत गर्ने मिडियमका आधारमा चित्रको गुणस्तर नाप्न सकिने उनको बुझाइ छ। फाइन आर्टमा डिप्लोमा सकाएर कोरिया हानिएका साइँला कला मनले गर्दा उता रमाउन सकेनन्। रङहरूमा मनमौजी खेल्न रुचाउने उनलाई बाध्यताले गर्नु परेको वैदेशिक रोजगार र मासिक कमाइले सन्तुष्टि दिन सकेन।

कोरोना कहरको समयमा उनले केही चित्र कोरोनाकै विषयमा पनि बनाएका छन्। काटुर्न, डिजिटल आर्ट, इन्स्टलेसन आर्ट जस्ता आर्टका माध्यममा रुचि राख्ने साइँला अरूहरूले बनाएका सुन्दर आर्ट हेरेरै पनि सिकिने धारणा राख्छन्। अग्रजका राम्रो चित्र हेरेर आफ्ना चित्रको मूल्यांकन गर्छन् उनी। यो अभियानबाट अरूका चित्र आफूलाई ट्याग हुँदा गुणात्मक चित्र बनाउने अप्रत्यक्ष चुनौतीसँगै हौसला थपिने अनुभव उनले सुनाए। अन्तर्राष्ट्रिय स्तरमै गत वर्षबाट सुरु भएको यो अभियान कोरोनामा सुस्ताएका कला व्यवसायलाई गतिशील बनाउन सहयोगी बन्दैछ। चित्र बनाउनासाथ एकैपटक डिजिटल प्लेटफर्ममार्फत मासमा जाने हँुदा यसले चित्रको व्यापारमा पनि सहयोग पुग्ने उनको बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.