हिमालीको मायामा अञ्जली
काठमाडौं : नेपाली मौलिक लोकदोहोरी गीतसंगीतको क्षेत्रमा मौलिक सिर्जनाको माग दिनप्रतिदिन बढ्दो छ। यही माग पूरा गर्न गायिका लक्ष्मी परियार र गायक सुमन परियारले ‘रेलिमै’ बोलको गीत लिएर आएका छन्। गीतको भिडियो पानस फिल्म्स्मार्फत सार्वजनिक गरिएको हो।
मायालु जोडीको प्रेम भाव आकर्षक रूपमा गीतमा समावेश गरिएको छ। मौलिक लोक लयमा सिर्जना गरिएको गीतमा प्रेमिकाको मायामा आफू निकै घायल बनेको गायक सुमनले बताए। गीतमा काल्पनिक मायाभन्दा पनि फरक रूपमा जीवनको वास्तविकता चित्रण गरिएको छ। गीत मेहनतसाथ निर्माण गरिएको छ। मौलिक पहिचान र जीवनको वास्तविकता भएको कारणले पनि दर्शक तथा श्रोताको मनमुटुमा बस्नेमा आशावादी रहेको गायक सुमनले बताए।
प्रतिउत्तरमा गायिकाले मायालुको बोली र स्वभावमा जीवन नै सुम्पिएको गीतमार्फत व्यक्त गरेकी छन्। सुमन परियारको शब्द तथा अमृत सुनार र सुमन परियारको लय सिर्जना गीतमा छ। गीतमा आशिष अविरलको म्युजिक एरेन्ज छ। सागर गौतमको छायांकन, दीपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशनमा भिडियो बनेको छ। गीतको भिडियोमा अञ्जली अधिकारी र धुव्र हिमालीको लोभलाग्दो अभिनय तथा नृत्य छ। उनीहरू प्रेमिल भावमा प्रस्तुत भएका छन्।
कहाँ जानु भो हजुर ?
संगीतकार डीआर अटुको संगीत तथा गायिका मिलन नेवारको आवाजमा ‘कहाँ जानु भो हजुर’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।
युगल जोडीको प्रेमका राग गीतमा भेट्न सकिन्छ। जीवनमा एकसाथ बाँच्न निरन्तर लागिपरेको भावना गीतमा व्यक्त गरिएको छ। शब्द गंगा पौडेलले लेखेका हुन्।
आफ्नी मायालु हराउँदाको पल गीतमा व्यक्त गरिएको छ। सहयात्रा एल्बममा समावेश गीत डीआरले आफ्नो युट्युबमार्फत सार्वजनिक गरेका हुन्।