ओस्कार र बाफ्टा स्थगित
हलिउड : विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपका कारण सन् २०२१ को ओस्कार अवार्ड अप्रिलसम्म स्थगित गरिएको छ। फिल्म उद्योगको सबैभन्दा उच्च सम्मानका रूपमा लिइने ओस्कार अवार्डको नयाँ मिति २०२१ को अप्रिल २५ मा तोकिएको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले जानकारी दिएको छ। यसअघि अवार्ड २८ फेबु्रअरी २०२१ मा हुने तय भएको थियो।
सन् २०२० भरि बनेका उत्कृष्ट फिल्म तथा कलाकारलाई सम्मान गरिने ओस्कारको यो ९३औं संस्करण हो। मार्च दोस्रो सातादेखि कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्दा विश्वव्यापी रूपमा सिनेमा घर बन्द छन्। यसैलाई ध्यानमा राखी एकेडेमीले फिल्मको डेडलाइन पनि परिमार्जित गरेको छ। अब भने आगामी फेबु्रअरी २८ सम्म नोमिनेसन गर्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी यस वर्षको ब्रिटिस एकेडेमी फिल्म अवार्ड (बाफ्टा) तोकिएको भन्दा दुई महिना पछि धकेलिएको छ। यसअघि सन् २०२१ को फेबु्रअरीमा हुने भनिएको अवार्ड समारोह उक्त वर्ष अप्रिल ११ मा मात्र हुने घोषणा गरिएको हो।
ब्रिटिस फिल्म एकेडेमीले विज्ञप्तिमा भनेको छ, ‘अवार्ड समारोहबारे गत वर्ष गरिएका घोषणाको समीक्षा गरिँदै छ। आवश्यक परिवर्तनबारे निर्णयपछि जानकारी सार्वजनिक गरिने छ।’