गोठपानी मेलामा गए रमेश
काठमाडौं : गायक रमेश श्रेष्ठको नयाँ गीत ‘गोठपानी मेलामा’को म्युजिक भिडियो सार्वजनिक भएको छ। असारे झरी सुरु भएसँगै नेपालीहरू खेतीपाती, मेला तथा गोठपानीमा रमाउने हुँदा समय सान्दर्भिक गीत लिएर उनी दर्शक श्रोतामाझ आएका हुन्। दर्जनौं चर्चित गीत गाएर चर्चा कमाएका तथा देशैभर हुने मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रममा व्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको गीत आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। केही समयअघि मात्र नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको श्रेष्ठको ‘टिकटकले डुबायो’ले चर्चा बटुल्न सफल भएको थियो। सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द र गायकको आफ्नै संगीत छ भने विनयकुमार कार्कीले एरेन्ज गरेका छन्। गीतमा र्यापर आयुष अधिकारीको र्याप छ। भिडियो विष्णु विरही श्रेष्ठले एनिमेसन तथा सम्पादन गरेका हुन्।
आर्टमान्डुको एकापेला गीत
आर्टमान्डुले ‘पिँजडाको चरा’ शीर्षकको एकापेला गीत युट्युबबाट सार्वजनिक गरेको छ। गीतमा अंकितबाबु अधिकारी र सप्तक दुतराजको स्वर छ। कुनै वाद्यवादन प्रयोग नगरी मुखबाटै विभिन्न धुन निकाल्ने संगीतको विधालाई एकापेला भनिन्छ।
एकापेला गीतका स्रष्टा सन्तोष देवकोटाले पूर्वीय संगीतलाई पश्चिमी शैलीमा गाइएको जनाएका छन्। देवकोटाका अनुसार यो नेपालमै पहिलो मौलिक एकापेला गीत हो। यसअघि ‘कभर सङ’मा मात्र एकापेला बनाइएको छ। गीतको संगीतकार र एरेन्जर अंकितबाबु अधिकारी हुन्।
गीतमा प्रकृतिले विकासका नाममा मान्छेबाट भोगेको हेपाइ चित्रण गरिएको छ। लकडाउनमा मान्छेहरू घरभित्रै बस्दा पशुपन्छीको चिरबिर बढ्तै सुन्न थालिएको भन्दै देवकोटा भन्छन्, ‘लकडाउनअघि मान्छेले चराका अण्डा खाने, फुटाइदिने गर्थे। तर अहिले निस्फिक्री बच्चा कोरल्न पाएका छन्, जनावर मान्छेविहीन सडकमा निस्फिक्री हिँड्न पाएका छन्। समग्रमा प्रकृतिले सास फेर्न पायो। यही विषयवस्तुमा गीत बनाएँ। गीतलाई ‘पिँजडाको चरा’ शीर्षक दिइए पनि यो पिँजडामुक्त भएको चराको कथा भएको देवकोटा बताउँछन्।