नारायणगढ - मुग्लिन सडकखण्ड : पहिरो हटाउन फेरि सडक बन्द

नारायणगढ - मुग्लिन सडकखण्ड : पहिरो हटाउन फेरि सडक बन्द

चितवन : नारायणगढ - मुग्लिन सडकखण्ड बिहीबार बिहानबाट पुन : अवरुद्ध भएको छ। बुधबार बिहान खसेको पहिरो पन्छाएर बेलुकीबाट एकतर्फि सडक संचालन गरिएको थियो। तर साघुँरो भएकाले सडक बढाउनका लागी बिहीबार बिहानबाट दुइतर्फकै आवातजावत बन्द गरेर पहिरो पन्छाउने काम थालिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार बिहान सवा ९ बजेबाट तीनवटा डोजर प्रयोग गरी सडक बनाउने काम जारी रहेकाले सडक आवागमन बन्द गरिएको हो। प्रहरीले आवागमन बन्द भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

 नारायणगढ मुग्लिन सडकखण्डको सबैभन्दा बढी पहिरो जाने क्षेत्र चार किलो हो। कमजोर भौगोलिक बनोटका कारण पहिरो खसिरहँदा बर्सेनि हजारौं यात्रु सास्ती व्यहोर्न बाध्य छन्। नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटरको दूरीको ९ स्थान पहिरोको जोखिमयुक्त क्षेत्र छन्। इच्छाकामना गाउँपालिका ६ मा पर्ने चार किलो सबैभन्दा बढी जोखिमको क्षेत्र हो।

बुधबार बिहान पहिरो खस्दा दिनभर सडक अवरुद्ध भयो। १४ घण्टापछि मात्रै सडक एकतर्फी यातायात सुचारु भयो। बिहान सवा चार बजे खसेको पहिरो साँझ सात बजे पछि मात्रै हटाइयो। पहिरो हटाउन पाँच वटा डोजर प्रयोग गरिएको थियो। पहिरोका कारण यात्रु मात्रै होइन, बिरामी बोकेका एम्बुलेन्स साँझसम्म बाटोमै रोकिए। चार किलोमा चट्टानको अग्लो भीर भए पनि भूबनोट कमजोर छ। २०७२ मा सडक स्तरोन्नति भएसँगै पहिरोको जोखिम सुरु भएको हो। यो ठाउँमा पहिरो नियन्त्रण गर्न प्राविधिकहरूलाई निकै कठिनाइ हुँदै आएको छ। अघिल्लो वर्ष पहिरो नियन्त्रण गर्ने योजना भए पनि माथिबाट लगातार माटो खस्न थालेपछि काम रोकिएको थियो।

पहिरो नियन्त्रणका लागि धेरै ठाउँमा काम भए पनि सबैभन्दा यो क्षेत्रमा चुनौती रहेको सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए। ‘एकदम कमजोर किसिमको भूबनोट छ। बोरामा आलु राखेको जस्तो गरी साना चट्टान अडिएकाले सामान्य अवस्थामा पनि पहिरो खस्छ’, उनले भने, ‘पहिरो खस्दै स्लोप भएपछि काम थालेका हौ, तैपनि काम गर्न कठिन छ।’ आयोजनाले गत आर्थिक वर्षमा जाली लगाउन ड्रिल गरे पनि फलाम राख्न नमिलेपछि काम रोकिएको थियो।

पहिरो नियन्त्रणका लागि गत वर्षको पुसमा ३५ दिन सडक बन्द गरिएको थियो। त्यसको ८० प्रतिशत समय चार किलोमा लागेको इन्जिनियर खनालले बताए। सो भेगको काम प्रभावकारी बनाउन पहिला गरिएको डिजाइनसमेत फेरिएको थियो। विज्ञको टोलीले स्थलगत निरीक्षण गरेको थियो। पहिरोले खसेर पटकपटक सडक अवरुद्ध हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भट्टले बताए। ‘पटक पटक यही ठाउँमा पहिरो खस्छ’, उनले भने, ‘अन्तको पहिरो छिटो हटाउन सकिन्छ यहाँ समस्या हुने गरेको छ।’

दिगो समाधानका लागि यही आर्थिक वर्षमा रक नेटिङ विधिबाट पहिरो नियन्त्रण गर्न लागिएको छ। यो विधिअनुसार फलामको रडलाई पहाडको चट्टानभित्र अडाएर त्यसमा जाली राखिन्छ। पहाडबाट खसेको पहिरो जालीभित्रै अडिन्छ। गौरी पार्वती इन्टेक नेपाल जेभीका प्रतिनिधि जीवनप्रसाद तिवारीले चार किलोमा काम गर्न कठिन भएको बताए। ‘अहिलेसम्म रक नेटिङ गरिएको ठाउँमा पहिरो गएको छैन तर, यहाँ पहिरो गयो’, उनले भने, ‘पहिरो नियन्त्रणका लागि अन्य ९ स्थान मध्ये यहाँ सबैभन्दा जटिल छ।’ नारायणगढ मुग्लिन सडक खण्डको ९ स्थानमा रक नेटिङ गरिएको छ। चार किलोको दुई स्थानसहित टोपे खोला, भालु ढुंगा, जलविरे, घुमाउने्, गाईघाट, भोर्ले, काली खोलामा यस्तो अभ्यास भइसकेको छ।

चार किलोमा खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडकमा अलपत्र परेका सवारीसाधन। तस्बिर, अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.