रहिनन् नारी सशक्तीकरणकी धरोहर

रहिनन् नारी सशक्तीकरणकी धरोहर

काठमाडौं : छात्रा शिक्षा र समाजसेवामा चर्चित अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ। बाँसबारीस्थित न्युरो अस्पतालमा शनिबार उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई २१ दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको बुहारी रूपा जोशीले बताइन्। थुप्रै रोगबाट पीडित उनलाई पछिल्लो समय निमोनिया भएको थियो। ‘अब आउने ठूली एकादशीमा ९० वर्ष पुग्छु, जन्मदिन मनाउनुपर्छ है भन्नुहुन्थ्यो’, रूपाले भनिन्, ‘मुमा रोगसँग २१ दिनसम्म लड्नुभयो तर मृत्युलाई जित्न सक्नु भएन।’

जोशीलाई पछिल्लो समय स्तन क्यान्सर भएको थियो। घाँटीको क्यान्सरको उपचार १७ वर्षअघि गरिएको थियो। छात्रा शिक्षा, महिला सशक्तीकरण तथा समाजसेवा क्षेत्रमा उनको ठूलो योगदान छ।

११ वर्षको कलिलो उमेरमै विवाह भए पनि उनले अध्ययन, अनुसन्धानलाई निरन्तरता दिइन्। नेपालमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनले बेलायतबाट थप शिक्षा हासिल गरेकी थिइन्। अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेर फर्केपछि उनी २०१९ सालमा पद्मकन्या क्याम्पसमा अध्यापनमा लागेकी थिइन्। लामो समय प्राध्यापन गरेपछि उनी सोही क्याम्पसको प्रमुख भएकी थिइन्।

उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन्। विदेशबाट उच्च शिक्षा हासिल गर्ने पहिलो महिलाका रूपमा पनि उनी परिचित थिइन्। छात्रा शिक्षा र समाजसेवासँग सम्बन्धित दर्जनभन्दा बढी संस्थामा आबद्ध थिइन्। तीमध्ये थुप्रै संस्था उनकै नेतृत्वमा सञ्चालित छन्।

महिलाले पनि वेद पढ्नुपर्छ भन्ने मूल उद्देश्य राखेर उनले गार्गी कन्या गुरुकुल स्थापना गरेकी थिइन्। यो संस्था तनहुँको देवघाटमा सञ्चालित छ। गरिब, दलित तथा हिमाली भेगका थुपै्र महिलाले गुरुकुलबाट वेदको अध्ययन गरेको बुहारी रूपाले बताइन्।

जोशी महिलालाई रोजगारीमा ल्याउनुपर्छ, स्वाभिमानी बनाउनुपर्छ भन्ने विषयमा वकालत गर्थिन्। तत्कालीन राजपरिवार निकट भएका कारण उनी राष्ट्रिय पञ्चायत सदस्यसमेत भएको थिइन्।

उनको अध्यात्म, धर्म, संस्कृति तथा नैतिकतासँग सम्बन्धित थुप्रै पुस्तक प्रकाशित छन्। जोशीका एक छोरा र दुई छोरी छन्। उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.