डोटीमा थप २१ जनामा कोरोना पुष्टि
डोटी : डोटीमा आइतबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं तथा सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै डोटीमा कोरोना संक्रमितको संख्या एक सय ३५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २ महिला र १४ पुरुष गरी १६ जना र सेती प्रादेशिक प्रयोगशालामा १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमण भएको पाइएको छ । सेती प्रयोगशालामा देखिएकामा शिखर नगरपालिका १ जना महिला र ३ जना पुरुष तथा पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का पुरुष १ जना रहेका छन् ।
यसअघि शनिबार मात्रै डोटीमा ५७ जनामा कोरोना पुष्टि भएको थियो । जसमा १३ महिला र ४४ पुरुष रहेका थिए । उक्त संख्या अहिलेसम्मकै बढी रहेको थियो । जसमा ६ महिने एक शिशु मेत रहेका थिए । अहिलेसम्म देखिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै आ–आफ्नो पालिकाले बनाएको आइसोलेसनमा रहेको बताइएको छ ।
त्यसैगरी आजसम्म डोटीमा ३४ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन सूर्य बिष्टले जानकारी दिए । डिस्चार्ज हुनेमा ७ जना जिल्ला अस्पतालको आइसोलेसनबाट र अन्य पालिकाले बनाएको आइसोलेसनबाट रहेका छन् । अन्य संक्रमित व्यक्ति आइसोलेसनमै रहेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !