एक महिनादेखि क्वारेन्टाइनमै

एक महिनादेखि क्वारेन्टाइनमै

दाङ : तुलसीपुर क्षेत्रबाट स्वाब लिइएका ५ सय जना क्वारेन्टाइनमा छन्। सबैको क्वारेन्टाइन बसाइ ३ हप्ता पुगेको छ भने एक सय भन्दा वढी एक महिना भन्दा धेरै बसेका छन्।

स्वाब संकलनपछि पनि रिपोर्ट नआउदा उनीहरु हैरान भएका छन्। स्थानीय निकायले भने रिपोर्टका लागि धैर्यधारण गर्न आग्रह गरिरहेका छन्। तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसी भन्छन्, ‘क्वारेनटाइनमा बस्नु भएका सबैलाई अझै केही दिन अनुशासित भएर बस्न आग्रह गरेका छौ, बिना रिपोर्ट समुदायमा जानुभयो भने त्यसले समुदायलाई राम्रो सन्देश दिदैन। आशा गरौ सबैको रिपोर्ट २/४ दिन भित्रमा आइपुग्छ।’ रिपोर्ट आउन ढिलो भएपछि क्वारेन्टाइनमा बसेकाले आन्दोलनसमेत गरे। तर, केही सुनुवाइ भएन।

रिपोर्ट नआएपछि स्थानीय तहले जसोतसो क्वारेन्टाइन बसेकालाई थामिरहेका छन्। प्रदेश ५ मा ६ वटा प्रयोगशालाबाट स्वाब परीक्षण हुने गरेको छ। तैपनि ७ हजार ८ सय स्वाबको रिपोर्ट आएको छैन। क्वारेन्टाइनमा बसेको र स्वाब लिएको एक महिना पुग्दा पनि रिपोर्ट आएको छैन। तुलसीपुर उपमहानगरपालिका १ भमकेमा रहेको क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन भएको १५ दिन भयो। ‘भारतबाट आएकाहरुहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको हो। अहिलेसम्म हाम्रो रिपोर्ट आउदैन’, क्वारेन्टाइनमा बसेका एक जनाले भने, रिपोर्ट नआएपछि एक महिनादेखि हामी क्वारेन्टाइनमा नै छौ।’

दाङका प्राय सबै क्वारेन्टाइनमा रहेकाहरुको अवस्था यस्तै छ। जेठ २१ गतेपछि स्वाब संकलन गरिएकाहरुको रिपोर्ट अझै आएको छैन। रिपोर्ट आउन ढिलो भएपछि क्वारेन्टाइनमा बसिरहँदा मनोवैज्ञानिक असरसमेत देखिन थालेको छ। यस्तै अवस्था रहेमा समस्या थपिदै जाने जनस्वास्थ्य निरीक्षक विमल केसी बताउँछन्। तुलसीपुरमा करिब ६ सय जना क्वारेन्टाइनमा छन्, सबै रिपोर्टको पखाइमा छन्।

गोरक्षरत्ननाथ माविको क्वारेन्टाइनमा बसेका २२ जनालाई रिपोर्ट नआउँदै केही दिन अघि घर पठाइयो। क्वारेन्टाइन बस्न नसक्ने भन्दै उनीहरु रिपार्ट नआउँदै घर गएका थिए। घर गएको ३ दिनपछि १३ जनाको रिपोर्ट पोजेटिभ आयो। त्यसले पुरै जिल्लालाई त्रसित बनायो। अझै पनि क्वारेन्टाइनबाट लुकिछिपी घर जाने क्रम बढेको छ। एक महिनादेखि रिपोर्टको पर्खाइमा क्वारेन्टाइन बस्नेहरु धेरै रहेका घोराही उपमहानगरका कोरोना फोकल पसर्न विकेश रेग्मीले बताए। दाङमा करिब पाँच हजार जना क्वारेन्टाइनमा छन्। त्यस मध्ये चार हजारको स्वाब संकलन गरिएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै दाङका करिब ४ हजार जनाको स्वाब परीक्षण हुन बाँकी छ। परीक्षणको दायरा फराकिलो बन्न नसक्दा क्वारेन्टाइन बस्नेहरु तनावमा छन्। ‘स्वाब दिएको दुई हप्ता र क्वारेन्टाइनमा बसेको ३० दिन भयो, तर रिपोर्ट आउँदैन, कति दिन त्रास लिएर बसिराख्ने हो। रिपोर्ट के आउने हो भन्ने चिन्ता र लामो बसाइले मानसिक तनाब हुन थालिसकेको छ’, क्वारेन्टाइनमा रहेका एक पुरुषले भने।

दैनिक सात सय परिक्षण

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै कोरोना परीक्षण हुने गरेको छ। स्वाब संकलनको तुलनामा परीक्षण निकै सुस्त छ। प्रतिष्ठानमा पछिल्लो पटक क्षमता बढाएर ७ सय जनासम्मको परीक्षण गर्न सक्ने बनाइएको छ।

तर, अझै समयमा परीक्षण हुन सकेको छैन। प्रतिष्ठानमा यसअघि दैनिक दुई सयदेखि दुई सय ५० जनासम्मको स्वाब परीक्षण हुन्थ्यो। गत २६ गते प्रतिष्ठान पुगेको स्वाबको रिपोर्ट अझै नआएको घोराही उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन विकेश रेग्मीले बताए। ‘प्रतिष्ठानमा घोराहीको मात्रै करिब १ हजार स्वाब परीक्षण हुन बाँकी छ, रिपोर्ट कहिले आउँछ भनेर क्वारेन्टाइनमा बसेकाहरूले सोध्ने गरेका छन्। पहिला रिपोर्ट हप्ता दिन लाग्थ्यो, अहिले भन्न सकने अवस्था छैन, उनले भने।

३६३ आइसोलेसन बेड

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दाङमा आइसोलेसनको बेड क्षमता पनि बढाइएको छ। पछिल्लो समय जिल्लाका विभिन्न सात स्थानमा आइसोलेसन बेड तयार गरिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए।

अहिलेसम्म बेलझुण्डीको कारोना विषेश अस्पताल ८८ बेड, नारायणपुरको अम्रैमा एक सय १५, झुलीडाँडामा १४, पद्मोदय माविमा १४, शान्तिनगरको जनकल्याण माविमा २०, देउखुरीमा एक सय र राजपुरको सालभौरीमा ६ बेडको आइसोलसन तयार भएको उनले बताए। अहिले एक सय ६८ जना आइसोलेसनमा छन्। बुधबारसम्म दाङमा संक्रमितको सख्या तीन सय ७५ पुगेको छ। सबै भन्दा धेरै संक्रमित बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरका छन्। दुबै पालिकाले क्वारेन्टाइन व्यवस्थापनमा गरेको लापरबाहीका कारण संक्रमित बढेको पाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.