हरिवंशको नक्कली ट्विटर

हरिवंशको नक्कली ट्विटर

काठमाडौं : रियल हरिवंश ट्विटर हेन्डिलबाट यही मे ३१ अर्थात् जेठ १८ गते एउटा सूचना प्रवाह गरियो, ‘फेसबुकमा सबैसँग जोडिएर माया साटासाट गरिन्थ्यो। अब ट्विटरतिर नि आएको छु। यहाँहरूको मायाको अपेक्षा गर्दछु।’ यो सन्देश १५ सयजनाले लाइक गरेका छन्।

सोही दिन ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ पुस्तकको आवरण राख्दै आग्रह गरियो, ‘४० वर्षे कला यात्राका अनेक आरोह, अवरोहलाई सँगालेर मैले बजारमा दुई किताब प्रकाशन गरेको छु। कृपया पढेर आफ्नो रायसुझाव दिनुहोला।’ जुन २ मा हास्यकलाकार मदनकृष्ण श्रेष्ठको नाचेको भिडियो पोस्ट गर्दै लेखिएको छ, ‘लकडाउनको सदुपयोग गर्दै मदन दाइको निकै राम्रो र फूर्तिलो नाच।’

यी सन्देश अनि तस्बिर, भिडियो फुटेज हेरेपछि यो संवाददाताले पनि रियल हरिवंश ट्विटर फलो गर्‍यो। आइतबार हास्यकलाकार हरिवंश आचार्यसँग फोनमा छोटो कुराकानीपछि मैले उनको ट्विटर फलो गरेको जनाएँ। तर उनले आफूले ट्विटर नखोलेको त्यो नक्कली होला भनेपछि चकित परेँ। उनले भने, ‘कि छोराले खोल्यो ?   म अहिले बाहिर छु, घर गएर बुझ्छु है त।’

हरिवंशले आफ्नो नक्कली ट्विटर आईडी भएको आशंका गरेपछि रियल हरिवंश ट्विटरको पुराना ट्विट पछ्याउँदा मे ३१ पछिका सन्देशमा हिन्दीको शायरी र नेपाली गजलको शेर मात्रै फेला पर्‍यो। उनले ट्विटरमा जोडिएको सन्देश दिएको एक दिनपहिले ज्ञानुवाकर पौडेलको गजलको शेर पोस्ट गरिएको छ :

एकान्त नामको यो मदिरा पनि चाहिने रहेछ पिउनलाई,

धुजाधुजा भइसकेछ जिन्दगी यो रहेन लायक सिउनलाई।

आइतबारसम्म एक हजार १२ वटा ट्विट गरिएको छ रियल हरिवंश ट्विटरबाट। यसमा मे ३१ अघिका प्रायः सबैजसो ट्विट हिन्दीको शायरी र नेपाली गजलको शेर मात्रै रहेको छ। मे ३१ पछिका ट्विट भने सूचनामूलक छन्। यी ट्विटका बेहोरा पढ्दा असली हरिवंशले नै पोस्ट् गरेजस्तो लाग्छ। उनलाई पाँच हजार तीन सय ८७ जनाले फलो गरेका छन्।

रियल हरिवंशको ट्विटर हेन्डिलबाट हिन्दीको शायरी र नेपाली गजल मात्रै सेयर गर्नेवाला कुनै गजलप्रेमी हुने देखिन्छ। किनकि यसमा राष्ट्रिय गजल महोत्सवमा वाचन गरिएका केही भिडियो फुटेज पनि अपलोड गरिएका छन्। सामान्यतया आफूले ट्विट गरेको सन्देश रिट्विट गरिन्न। तर प्रायः सबै ट्विट रियल हरिवंशको ट्विटर हेन्डिलबाट रिट्विट गरिएको छ। हरिवंशलले आइतबारै एसएमएस पठाए, ‘मेरो नामको ट्विटर फेक हो। खोजखबर गर्नुपर्छ।’ यसरी कुनै गजलप्रेमीले हरिवंशका फ्यानलाई उल्लु बनाइरहेको छ।

लकडाउनको बेला हरिवंशले केही स्क्रिप्टमा काम गरे। भन्छन्, ‘तर कोरोनाले माइन्ड डिस्टर्ब गर्दो रैछ। मन एकाग्र हुन्न। खासै जमेर काम गर्न सकिएन।’ उनले एक वर्षभित्रै कार्यक्रममा गरेको प्रहसनलाई पुस्तकका रूपमा ६ भागमा ल्याउने सोच रहेको पनि बताए। ‘तर अहिले पुस्तकको माहोल छैन। पान्डुलिपिमा काम भइरहे पनि कहिले छापिनेचाहिँ टुंगो छैन’, उनले भने।

लकडाउन केही खुकुलो भएपछि उनी काभे्रको आफ्नो जन्म गाउँ गए। भन्छन्, ‘दुई साता बढी बसेँ। मकै पनि गोडेँ, तरकारी पनि लगाएँ। माटोमा नखेलेको धेरै भएको थियो, मजा आयो।’

मह जोडीले लकडाउनको उल्लंघन गर्दै एकअर्कालाई भेट्यो कि ?  ‘कामै भेट नगरी नहुने पर्‍यो। सिटिजन लाइफको बिमाबारे अनि जस्मिन पेन्ट्सलगायतको कोरोना सन्देश यसै बेला खिच्नुपर्ने भएकाले मदन दाइसँग भेटियो’, उनले जानकारी दिए।

उनले मदन दाइ आफ्नो अभिभावकजस्तो भएको बताउँदै नेपालको सबैभन्दा ठूलो मदन पुरस्कार अर्थात् मदनकृष्ण श्रेष्ठ पुरस्कार वर्षौंैदेखि पाउँदै आएको बताए। आफूहरू मिलेर स्क्रिप्ट लेख्ने र अन्त्यमा मात्रै रोल बाँडफाँट गर्ने जानकारी दिँदै हरिवंशले भने, ‘कहिलेकाहीँ त आफूले लेखेको स्क्रिप्ट कति वजनदार लाग्छ भने मदन दाइको पनि डबल रोल मै गरिदिऊँ जस्तो। तर, म उहाँजस्तो न अभिनय गर्न सक्छु न त गीत नै गाउन। उहाँ अभिनयमै वरदान पाएको तथा भूमिका गर्दा नाट्यश्वरको छोरा उभिएजस्तै लाग्छ।’

‘लकडाउनमा खासै किताब पढिएन तर फिल्मचाहिँ धेरै हेरियो’, हरिवंश भन्छन्, ‘हिन्दी सिनेमा धेरै हेरेँ। हेरेकोमा साउथ इन्डियन मुभी बढी छ। छोराबुहारीले कुनै सिरियल हेरे त्यो पनि हेर्छु।’ उनले अहिले विभिन्न च्यानलबाट रामायण, महाभारत प्रसारण भइरहेकाले त्यो पनि हेरिरहेको बताए। रामायण, महाभारत जिन्दगीमा एक पटक पढ्नैपर्छ भन्छन्। त्यसैले पनि रामायण, महाभारत प्राथमिकता दिएर हेरिरहेको हरिवंशको भनाइ छ।

उनले लकडाउनको अवधिमा गीतको पनि काम गरे। दुईवटा गीतमध्ये एउटाको सुटिङसमेत भइसकेर सम्पादनको क्रममा छ। राजनीतिक विषयवस्तु समेटिएको उक्त गीत चाँडै युट्युबमा रिलिज गरिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.