क्वारेन्टाइनको दुरवस्था कहिलेसम्म ?

क्वारेन्टाइनको दुरवस्था कहिलेसम्म ?

रूपन्देहीको कोटहीमाई— ६ का वासिन्दाले क्वारेन्टाइनविरुद्ध प्रदर्शन गरे। क्वारेन्टाइनका व्यक्ति पसलमा जाने, रात परेपछि घुम्न गाउँ निस्कनेजस्ता व्यवस्थित नभएको भन्दै नाराबाजी धेरै स्थानमा घटे। कपिलवस्तुको यशोधरा— ८ का क्वारेन्टाइनहरूबाट सय बढीजनालाई पंखा र झुल दिन नसक्ने भन्दै भगाए। सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा दुव्र्यवहार र हातपात भइरहेका छन्।

चारवटा पर्खाल र छत भएको जुनसुकै स्थानलाई पनि क्वारेन्टाइन भनेर भेडाबाख्रा हुले झैं मान्छे हुलिँदै छ। क्वारेन्टाइन अरू विपत्का बेला बस्न बनाएको जस्तो व्यवस्था र कुनै शरणार्थी शिविरजस्तो पनि होइन। क्वारेन्टाइन २ रात कटाउन मात्र नभई संस्थागत रूपमा व्यवस्थित तरिकाले कुनै निश्चित समय शंकास्पद मानिसलाई राख्न बनाइएको व्यवस्था हो, जहाँ सामाजिक दूरीदेखि शौचालयको प्रबन्धसम्म सबै व्यवस्थित हुन जरुरी छ।१. भद्रगोल

के यही हो त क्वारेन्टाइन भन्दै समाचार र लेखहरू बहिर आइरहेका छन्। शंकास्पद घर जानबाट रोकिए पनि पहाडमा एकै कम्बल तथा सिरकमुनि चारजना सुतिरहेका छन् भने तराईमा एकै कोठामा दर्जनौं बस्ने र सुत्ने गरेका छन्। कोरोनाबाट जोगिन सामाजिक दूरी अनिवार्य भए पनि क्वारेन्टाइनमा एक कोठामै भेडाबाख्रा झैं खाँदिएका छन्, बिनाकारण जेलमा सजाय पाइरहेको महसुस गरिरहेका छन्। पानी, साबुनको अभाव छ, सयौंका लागि एक चर्पी छ, स्वास्थ्यकर्मी पनि पार्ट टाइम अहेबबाटै काम चलेको छ। त्यसो त जिल्ला र स्थानीय निकायअनुसार सेवा र सुविधामा फरकपन छ तथापि मापदण्डनुसार कुनै एक पनि छैन।

क्वारेन्टाइनमा आएको समय र स्थानअनुसार फरक कोठामा राखिएको छैन। क्वारेन्टाइनभित्र पनि दुई मिटर सामाजिक दूरी, ६ जनालाई एक शौचालय, पाइप राखी धारा र खाना खाँदा संक्रमणलाई ध्यान दिएको छैन। भोज लगाए झंै पकाउने, सँगै बसेर खाने र फुर्सदका बेला सांगीतिक कार्यक्रम गर्ने र कहीं त रातभर घरमा गई सुत्ने र दिनभर क्वारेन्टाइन स्थलमा बसेका पनि गुनासा सुनिए। पोजिटिभ अस्पतालमा स्थानान्तरण गरे पनि कोठा विसंक्रमण नगरी अन्य राखेको देखिन्छ। क्वारेन्टिनको भद्रगोल र संक्रमणपछि मृत्यु भइहाल्छ भन्ने गलत बुझाइ, समाजले देखाउने नकारात्मक दृष्टिकोणले भाग्ने र आत्महत्या सामान्य भएको छ।

घरपरिवार र समाजका लागि भन्दै १४ दिन जेनतेन बसेका घर जाने बेला फेरि रिपोर्ट नआउँदा हप्तौं क्वारेन्टाइनमा बस्न बाध्य छन। क्वारेन्टाइन स्थलहरू बन्दोबस्ती र स्वास्थ्य सुरक्षाका हिसाबले त भरपर्दाे थिएन नै, भौतिक सुरक्षाका हिसाबले समेत जोखिमपूर्ण रहेको कैलालीको लम्कीचुहा— १ को बलात्कारले प्रस्ट्याउँछ। नरैनापुर, जनकपुर, रूपन्देही, दैलेख, रुकुमलगायतमा भएका दुई दर्जन बढीको मृत्यु यसैको पछिल्ला उदाहरण हुन। जनप्रतिनिधि पनि आरोप र गुनासाले आजित छन्। यस्ता घटना बढ्न थालेपछि सरकारले चुस्त व्यवस्था गर्न परिपत्र नै गर्‍यो तर व्यवहारमा जस्ताको तस्तै।

मापदण्ड

सरकारले मन्त्रिपरिषद्बाट चैतमा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७६ पारित गरे पनि चैत १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहमा परिपत्र भयो। जिउनका लागि आवश्यक न्यूनतम आधारभूत आवश्यक खानेकुरा, पिउने पानीलगायत व्यक्तिगत स्वास्थ्य र सरसफाइका लागि आवश्यक पटकपटक हात धुने र सुरक्षित बाथरुमसहितको सिंगलरुम, नभएमा दुई बेडबीच दूरी कम्तीमा एक मिटर राख्नुपर्नेछ। वातावरणीय संक्रमण नियन्त्रणका लागि अत्यावश्यक प्रशस्त भेन्टिलेसन, एअर फिल्ट्रेसन र उपर्युक्त फोहोर व्यवस्थापनको प्रोटोकल अपनाउन, मानिसबीच कम्तीमा एक मिटरको दूरी राख्न उल्लेख छ।

क्वारेन्टाइनको आवासमा खाने, पिउने र व्यक्तिगत सरसफाइको, लगेज तथा अन्य व्यक्तिगत सामानको सुरक्षा, स्वास्थ्योपचारको व्यवस्था, बस्नेहरूले बुझ्ने भाषामा उनीहरूका हक, अधिकार र पाउन सक्ने सेवा, कति दिनसम्म बस्नुपर्ने भन्नेबारे र बिरामी परे कसरी कस्तो उपचारको व्यवस्था गरिन्छ आदिबारे जानकारी दिने व्यवस्था भएको कहीं पाइएन। परिवारसँग भेट्न र कुरा गर्ने सुविधा सम्भव भएसम्म इन्टरनेट, समाचार पढ्ने र मन भुलाउने मनोरञ्जनको व्यवस्था, मनोभावात्मक भरोसा वा सहारा पाउने व्यवस्था छैन। ज्येष्ठ नागरिक र अन्य दीर्घरोग भएकालाई कोभिड— १९ बाट बढी जटिल समस्या हुन सक्ने भएकाले उनीहरूलाई विशेष ध्यान पुर्‍याउने व्यवस्था हुनुपर्ने मापदण्डमा कहींकतै ध्यान दिन सकिएको छैन। मापदण्डमा एक सय जना क्वारेन्टाइनमा बसेकाका लागि सुपरिवेक्षण गर्न एक समिति र २४ घन्टे उपलब्ध जनशक्ति उल्लेख भए पनि पंक्तिकारले नेपालको कुनै एक क्वारेन्टाइनमा यस्तो सेवा भेटेन।

विकल्प

क्वारेन्टाइनमा देखिएका समस्याको राम्रो विकल्प व्यवस्थित क्वारेन्टाइन नै हो। अर्काे विकल्प घरमै उच्च सावधानीका साथ अलग्गै बस्नु हो। घरमै बस्दा भने सम्बन्धित व्यक्ति तथा परिवारको इमानदारी र स्थानीय संयन्त्रको निगरानी आवश्यक पर्छ। अलग्गै बस्नेले एक व्यक्तिको सानो भूलले परिवार र समुदायमा संक्रमण फैलिने जोखिमबारे सबै पक्ष जिम्मेवार बन्नुपर्छ।

न्यूनतम संक्रमण रोकथाम र नियन्त्रण

विशेषतः खोक्दा, हाच्छ्युँ गर्दा श्वासप्रश्वास प्रणालीबाट निस्कने ड्रपलेटहरू छोएको वा परेको अवस्थामा साथै खाना अघि र शौचालयपछि हातको सरसफाइ साबुनपानीले गर्नुपर्छ। देखिने फोहोर भएकोमा साबुनपानीले र नभएकोमा ६२ देखि ७१ प्रतिशत अल्कोहल भएको ह्यान्ड स्यानिटाइजरले नियमित हात सफा गर्नुपर्छ। खोक्दा, हाच्छ्युँ गर्दा कुहिनाको भित्री भागले वा टिस्यु पेपरले नाक, मुख छोप्ने र पेपरलाई बिर्काेसहितको फोहोर फ्याँक्ने टोकरीमा फाल्ने र नाक, मुख सफा गर्ने बानीबेहोरा बसाल्नुपर्छ। अनावश्यक रूपमा नाक, मुख, ओठ, आँखा छुने, मिच्ने बानी गर्न हँुदैन।

पटकपटक छोइरहनुपर्ने सतहमा एक प्रतिशत ब्लिचिङ झोलले दैनिक सफा गर्नुपर्छ। झोल प्रयोग गरी बाथरुम र शौचालयका सतहमा कम्तीमा दिनको दुईपटक डिसइन्फेक्सन गर्नुपर्छ। लुगा, तन्ना, नुहाउने र हाते रुमालजस्ता कपडालाई सामान्य लन्ड्री डिटरजेनट प्रयोग गरी ६० देखि ९० डिग्रीमा वासिङ मेसिनले धुनपर्छ। मेसिन नभए साबुनपानीले धोएर सुकाउनु पर्छ। फोहोर खुला ठाउँमा नफाली स्यानिटरी ल्यान्डफिल्डमा फ्याँक्नुपर्छ। प्रयोग भएका तन्ना, खोल, रुमाल आदि कपडा छुनुअघि डिस्पोजेबल पञ्जा लगाउनुपर्छ। पञ्जा लगाउन अघि वा पछि साबुनपानीले हात धुनुपर्छ।

जोखिम समूहलाई थप निगरानी राख्ने र विशेष उपचारको व्यवस्था गर्नुपर्छ। क्वारेन्टाइनको अवधि पूरा भए स्वाब संकलन तथा रिपोर्ट नेगेटिभ आए घर र पोजेटिभ आए आइसोलेसन केन्द्र वा अस्पतालमा पठाउने व्यवस्था गर्नुपर्छ। जतिसुकै पीसीआर, आईसीयु, भेन्टिलेटरका योजना बनाए पनि सरोकारवालाले सर्वसाधारणमा कोरोना सम्बन्धमा रहेका तथ्य बुझाउन आज पनि सकेका छैनन्। समाजमा अझै पनि प्रशस्तै भ्रम, अविश्वास र त्रास व्याप्त छ।

सुरक्षित बनाउने दायित्व ?

क्वारेन्टाइन समितिहरू नामका लागि मात्र होइन, कामका लागि हुनुपर्छ र जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह हुनपर्छ। स्रोत, साधन र व्यवस्थापनमा समस्या भए प्रदेश र केन्द्रलाई घच्घचाउनपर्छ। सल्लाहकार समितिका संघ र प्रदेशका सांसदले समन्वयकारी भूमिका खेल्नुपर्छ। त्यस्तै संघ र प्रदेशले संघीयता छ र स्थानीय दायित्व भनेर पन्छन मिल्दैन, उचित दृष्टि, सहयोग गर्नेपर्छ। स्वास्थ्य संस्था वा नजिकै क्वारेन्टाइन बनाइनुपर्छ। क्वारेन्टाइनलाई स्वास्थ्य र सुरक्षा दुवै हिसाबले सुरक्षित बनाउनैपर्छ।

अन्त्मा, आधारभूत सुविधा पनि नभएकाले कति ठाउँमा हातपात, भाग्ने, बलात्कार, बिरामी पर्ने, आत्महत्या र मृत्युका घटना भएको बग्रेल्ती सुनिन्छ। आवाजविहीनहरू बस्ने स्थान भनेर हो कि ? चैततिर हतारमा बनाइएका भनेर क्वारेन्टाइन व्यवस्थापकलाई शंकाको सुविधा थियो। तर आजसम्म यही रूपमा चलाइनु भनेको गैरजिम्मेवारी मात्र होइन, बस्नेप्रतिको हेपाहा प्रवृत्ति हो। यति काम पनि व्यवस्थित नहुनु स्रोत साधन नहुनुको परिणाम होइन, गतिछाडा हुनुको द्योतक हो। मृत्युस्थल, रोगको स्रोत र यातना गृहजस्ता देखिएका क्वारेन्टाइनलाई सुरक्षित थलोका रूपमा विकास गर्नुपर्छ। क्वारेन्टाइनको भरपर्दाे विकल्प क्वारेन्टिन नै हो, जसका लागि स्वस्थ मापदण्डको साँचोमा ढाल्नैपर्छ।

—डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.