वडाध्यक्षलाई आक्रमण गरेको आरोपमा तीन पक्राउ
दाङ : शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष फर्साराम डाँगीलाई कार्यकक्षमै पुगेर आक्रमण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दाङले घटना भएको २४ घण्टा नबित्दै तीन जना आरोपीलाई पक्राउ गरेको हो।
शान्तिनगर गाउँपालिका-४ घर भई तुलसीपुर उपमहानगरपालिका-५ मासुमार्केटमा बस्ने २९ वर्षीय अर्जुन शाही, शान्तिनगर-२ का ५१ वर्षीय इन्द्रबहादुर वली र शान्तिनगर-३ भलानेटीका रेशमबहादुर विकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए। तीन जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान गरिने बताइएको छ।
वडा अध्यक्षकोटाउँ, हात, खुट्टामा गम्भीर चोट लागेको छ। उनको अहिले काठमाडौंमा उपचार भइरहेको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि डाँगीलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको हो।