सम्झनाका तरेलीमा प्रकाश दाहाल
दश वर्षे जनयुद्ध एउटा आँधिमय प्रक्रिया थियो। त्यसले मुलत : सामन्ती निरंकुश राजतन्त्रको जरो उखेलेर संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाएको थियो। त्यो आँधि र तुफानभित्र स्वाभाविक रुपमा अनेक पात्र र प्रवृत्ति हुने नै भए। त्यस मध्येका एक जना छुटाउनै नमिल्ने पात्र हुन् प्रकाश दाहाल। जनयुद्धको इपिसेन्टरमा बसेर पार्टी हेडक्वार्टरलाई निरन्तर साथ दिने एक उर्जाशील युवा नेता थिए प्रकाश। प्रकाश ती बाबुका छोरा पनि थिए, जसको टाउको लिएर आउने मान्छेलाई तत्कालीन राज्यले रु ५० लाख इनामको घोषणा गरेको थियो। ५० लाखको खोजीमा हिड्नेहरुको घेराबाट बचेर र बचाएर पार्टी र क्रान्तिको पक्षमा निरन्तर हिँड्ने एक निडर र साहसी क्रान्तिकारी युवा थिए। जनयुद्धको क्रममा करिब पुरै अवधि पार्टी हेडक्वार्टरसँगै रहेर क्रान्तिको पक्षमा कयौं जोखिमपूर्ण र साहसिक काम गरेका प्रकाश छोटो समयमा नै संसारबाट बिदा भए। आज उनको जन्मदिन हो।
प्रकाशको बाल्यकाल
प्रकाश नेपाली जनयुद्धका सुप्रिम कमाण्डर एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक्ला छोरा हुन्। उनलाई चिनाउन यो सबैभन्दा सरल तरिका हो। वि.स.२०३८ असार १७ गते चितवनको शिवनगरमा उनको जन्म भएको थियो। परिवारका अनुसार उनी सानैदेखि हक्की, जुझारु र निडर स्वभावका थिए। स्थानीय बालकुमारी प्राविमा ३ कक्षासम्म पढेपछि वि.स.२०४७ सालमा दिदी गंगासँगै काठमाडौं आएर कक्षा ४ देखि ८ सम्म पाटनको शान्ति माध्यमिक विद्यालयमा अध्ययन गरे। २०५२ साल फागुन १ गतेबाट जनयुद्ध शुरु हुँदा प्रकाश १४ वर्षका थिए। त्यसपछि बढ्दो सुरक्षा चुनौतीका कारण प्रकाश भारतको पञ्जावमा लगिए। त्यहाँ उनले दिदी रेणुको संरक्षणमा अध्ययन अघि बढाए। कक्षा १२ उत्तीर्ण गरेपछि क्रान्तिको आवश्यकता र पिता प्रचण्डको निर्णय बमोजिम प्रकाशको औपचारिक अध्ययनमा पुर्ण विराम लाग्यो। त्यसपछि उनी पार्टीको पुर्णकालिन कार्यकर्ता बने। पार्टीले उनको कार्यक्षेत्र अध्यक्षको सचिवालय तय गर्यो। त्यसपछि उनी आफ्नो मेहनत, परिश्रम र वर्कतले भ्याएसम्म अध्यक्ष प्रचण्डको सचिवालयलाई चुस्त-दुरुस्त बनाउन लागे। राज्यले आतंककारी घोषणा गरेको, रेड कर्नर नोटिस जारी गरेको र टाउकोमा मुल्यसमेत तोकेको नेतृत्वको हरपल साथमा रहेर सहयोग गर्नु आगोको भुङ्ग्रोमा बस्नु जत्तिकै चुनौतीपूर्ण थियो। तर प्रकाशले त्यो चुनौती सहर्ष स्वीकार गरे र त्यसमा खह्रो उत्रिए। विश्वविद्यालय पढ्ने र जोखिमरहित ऐस आरामको सुरक्षित जीवन उनको रोजाईमा र भागमा परेन। तर प्रकाशले त्यही कठिन बाटो रोजे। त्यसैले उनी लाखौंलाख युवा माझ चाँडै लोकप्रिय पनि भए। अध्यक्ष प्रचण्डको एक्लो छोरा पनि जनयुद्धमा प्रत्यक्ष संलग्न भएको कुराले त्यतिबेला लाखौंलाख क्रान्तिकारी युवाहरूलाई उर्जा र प्रेरणा मिलेको थियो।
'प्रकाशको असमाहिक निधनले देशमा शोकको लहर फैलियो। लाजिम्पाट, नर्भिक अस्पताल, पेरिसडाँडादेखि आर्यघाटसम्म उर्लिएको जनसागरले प्रकाशले हाँसिल गरेको जनविश्वासलाई पुष्टि गर्दछ।'
राजनीतिक जीवन
प्रकाश जन्मँदै उनका पिता प्रचण्ड कठोर भुमिगत जीवन शुरु भैसकेको थियो। स्वाभाविक रुपमा प्रकाश त्यही माहौलमा हुर्किए। राजनीति बुझ्नु अघि नै राजनीति उनको भोगाई बनिसकेको थियो। उच्च शिक्षा अध्ययनको बाटो छाडेर जुंगाको रेखी नबस्दै उनी क्रान्तिकारी युद्धमा सामेल भैसकेका थिए। सानै उमेरमा उनले भरुवा बन्दुकदेखि लिएर एके-४७ चलाउन सिकिसकेका थिए। उनले आफुले सिकेको युद्ध कौशल र प्रविधिको ज्ञान अरुलाई पनि सिकाए। त्यससँगै उनी जनमुक्ति सेनाको प्रत्यक्ष कमाण्डमा रहेर पार्टी हेडक्वार्टर सुरक्षा दलको महत्त्वपूर्ण सदस्य भएका थिए। वि.स.२०६३ असार २ गते राति बालुवटारबाट प्रचण्ड सार्वजनिक हुँदा प्रकाश पनि सँगै सार्वजनिक भए। त्यसपछि लगातार अध्यक्षको सचिवालयलाई व्यवस्थित गर्न लागे। प्रकाशले पार्टीका जिल्ला, राज्य, केन्द्र हुँदै तत्कालीन नेकपा (माओवादी केन्द्र) को पोलिटब्युरो सदस्यसमेतको जिम्मेवारी सम्हालेका थिए। यति हुँदाहुँदै पनि प्रकाशको ठुलो नीजि राजनीतिक महत्वाकांक्षा थिएन। उनी लो प्रोफाइलमा नै बसेर काम गर्न रुचाउँथे। उनी भन्थे 'म अरु कुरा जाँन्दिन, बुवा सफल हुनुपर्छ। उहाँ सफल भए देश सफल हुन्छ, मेरो सपना यत्ति हो। '
युवा र प्रविधि मैत्री प्रकाश
प्रविधिमा पोख्त र सामाजिक सञ्जालमा अग्रणी रहेको प्रकाश युवामाझ निकै लोकप्रिय थिए। सानैदेखि कम्प्युटरमा पोख्त प्रकाश प्रविधिमा विशेष अभिरुचि राख्थे। उनले पार्टी हेडक्वार्टरको प्राविधिक कामलाई निकै चुस्त र व्यवस्थित राख्थे। हरेक ऐतिहासिक सम्झौता, सहमति र बैठकहरुको पृष्ठभूमिमा बसेर महत्त्वपूर्ण सहयोग गर्ने गर्दथे। सामाजिक सञ्जालमा त उनी झनै अब्बल थिए। मिडियाहरुमाँझ पनि उनी उत्तिकै प्रिय थिए। अत्यन्तै सरल स्वाभावका प्रकाशले पार्टी हेडक्वार्टरलाई मिडियासँग र मिडियालाई हेडक्वार्टरसँग जोड्न उल्लेखनीय भुमिका खेलेका थिए। मिडियाको राप, ताप र प्रभाव राम्रोसँग बुझेका प्रकाश त्यसलाई उचित समन्वय गर्न काविल थिए। आफू दुई पटक प्रधानमन्त्री हुँदा प्रकाशले असाधारण रुपमा सहयोग गरेको प्रसङ्ग प्रचण्डले बेलाबेला सम्झिरहन्छन्। त्यसैगरी सामाजिक सञ्जालमार्फत प्रकाश देशभरका युवाहरुसँग जिवन्त रुपमा जोडिएका थिए। यो उनको ठुलो सम्पत्ति थियो। समग्रमा प्रविधि, प्रचार, संगठन र व्यवस्थापनमा प्रकाश निकै अब्वल थिए।
वि.स.२०७४ मंसिर ३ गते हृदयाघातबाट प्रकाशको अकल्पनीय निधन भयो। सिङ्गो परिवार देशव्यापी चुनावी दौडाहामा रहेको बेला अप्रत्याशित रुपमा भएको उनको निधन सबैका लागि हृदयविदारक पीडादायी रह्यो। प्रकाशको निधनले युवाहरुको एउटा आशालाग्दो ढुकढुकी निभ्यो। पार्टीले एउटा भरपर्दो युवा नेता गुमायो। कम्युनिष्ट आन्दोलनले एउटा जुझारु र क्रान्तिकारी योद्धा गुमायो। यसबाट सिङ्गो मुलुक शोकमग्न भयो। तत्कालीन नेकपा एमाले अध्यक्ष (हाल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री) केपी शर्मा ओलीले भनेका थिए 'प्रकाशको निधनले माओवादी केन्द्रलाई ठुलो क्षति भएको छ।' तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए 'बाल्यकालदेखि नै बुवाआमासँगै राजनीतिमा होमिएका प्रकाशको राजनीतिक चेतना बलियो थियो। राजनीतिका कठिन दिनदेखि बुवा प्रधानमन्त्री हुँदासम्म प्रकाशको भुमिका महत्त्वपूर्ण थियो।' मोहन वैद्य किरणले प्रकाशबारे भनेका थिए 'पार्टी विभाजन भएकोमा प्रकाशमा ठुलो पीडा थियो। जनयुद्धको प्रक्रियामा प्रकाशले निकै सार्थक भुमिका खेलेका थिए।' प्रचण्डले भनेका थिए 'प्रकाशको असमाहिक निधनले देशमा शोकको लहर फैलियो। लाजिम्पाट, नर्भिक अस्पताल, पेरिसडाँडादेखि आर्यघाटसम्म उर्लिएको जनसागरले प्रकाशले हासिल गरेको जनविश्वासलाई पुष्टि गर्दछ।'
अन्त्यमा यदि प्रकाश आज बाँचेको भए हामी जन्मदिन मनाइरहेका हुने थियौं। तर विडम्बना जन्मदिनको दिन श्रद्धाञ्जली भन्नुपर्ने स्थिति आयो। आखिर जीवनको लम्बाई भन्दा उचाई महत्त्वपूर्ण रहेछ। प्रकाशले छोटो जीवन बाँचे, तर सार्थक र महत्त्वपूर्ण जीवन बाँचे। आँधी, हुरी र तुफानको गतिशिल जिन्दगी बाँचे। अलविदा प्रकाश ! हामी सम्झिरहनेछौं। (लेखक नेकपा निकट अनेरास्ववियूका नेता हुन्।)