कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, ४६ सय ५६ डिस्चार्ज : ३० को मृत्यु
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।
अछाम रामरोशन गाउँपालिका-५ का ४५ वर्षीय एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका उनको असार १४ गते मृत्यु भएको थियो । उनी मधुमेहबाटसमेत पीडित भएको गौतमले जानकारी दिए । उनको मृत्युपछि लिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। बुधबार मात्र चार सय ८२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार नाघेको हो ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कोरोना जित्नेको संख्या चार हजार ६ सय ५६ पुगेको छ। अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् । आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ६२३, प्रदेश २ मा तीन हजार ८ सय ५६, बागमती प्रदेशमा ४५८, गण्डकी प्रदेशमा १ हजार ५८, प्रदेश ५ तीन हजार आठ सय ४३, कर्णाली प्रदेशमा एक हजार पाँच सय ८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार सात सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।