भुवन-साम्राज्ञी जुहारी : ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’

भुवन-साम्राज्ञी जुहारी : ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’

काठमाडौं : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि मनोरञ्जन उद्योगमा सुरु भएको ‘नेपोटिज्म’ र ‘ग्रुपिजम’को बहस जारी रहेकै बेला यो क्षेत्रमा हुने हिंसा, दुव्र्यवहार र शोषणका बारेमा पनि कलाकारहरू खुल्न थालेका छन्।

अभिनेता पल शाहले फिल्ममा काम गरेको पारिश्रमिक नपाएको विषय सार्वजनिक गरे। निर्माताले विभिन्न बहाना बनाएर वर्षौंसम्म झुलाएको उनको गुनासो छ। उनको यो प्रयासपछि एकपछि अर्को कलाकार आफूमाथि हुने गरेका हिंसाका विषयमा खुल्न थालेका छन्। सामाजिक सञ्जालमा निर्माता, कलाकार र प्राविधिकहरूको दोहोरी चल्न थालेको छ।

अभिनेत्री साम्राज्ञी आरएल शाहले पुरानो किस्सा उठान गरेकी छन्। उनले आफ्नो डेब्यु फिल्म ‘ड्रिम्स’ खेल्ने क्रममा भोगेका कुरा सार्वजनिक गरेपछि फिल्मका निर्माता तथा अभिनेता भुवन केसीबीच जुहारी चलेको छ। आठवटा फिल्म खेलेकी शाहले तीनवटा फिल्म खेल्दा भोग्नु परेको दुव्र्यवहार व्यक्त गर्नै नसकिने भएको उल्लेख गरेकी छन्। उनले भिडियो सार्वजनिक गर्दै फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी छन्।

कसले दुव्र्यवहार गरेको थियो भनेर नाम किटान नगरे पनि उनको भनाइ निर्माता तथा अभिनेता भुवन केसीमाथि लक्षित थियो। उनले विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोलिसकेकी छन्।

साम्राज्ञीको भिडियो आएपछि भुवनले फेसबुकमा कडा स्टाटस लेखेका छन्। साम्राज्ञीलाई लक्षित गर्दै भुवनले अहिलेसम्म ‘ड्रिम्स’को नाम बेचेर खाइरहेको उल्लेख गरेका छन्। उनले साम्राज्ञीलाई ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि भुवनले सुझाव दिएका छन्। भुवनको स्टाटस सार्वजनिक भएपछि साम्राज्ञीले पनि इन्स्टाग्राममार्फत जवाफ फर्काएकी छन्।

साम्राज्ञीले भनेकी छन्, ‘एकजनाले के भन्नुभएको छ, जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो। उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन। आज यो अवस्था आएकै उहाँले गर्दा हो।’

उनले जापानमा आयोजित अवार्ड कार्यक्रममा पनि भुवनले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छन्। उनले भनिन्, ‘तँ त मेरो प्रोडक्ट हो। अब पुरानो कुरा कोट्याएर के फाइदा ? तँ एउटा ठाउँमा पुगिसकिस्, यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो। त्यति बेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो। तैपनि हाँसेर बोलेँ।’

‘ती कुरा अलि टाढाबाट पनि भन्न सकिन्छ नि। गाला जोड्याएर, टाँस्सिएरै भन्नुपर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो। तैपनि म सुनिरहेँ। उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन। त्यसैले मैले उहाँलाई ‘हुन्छ दाइ’ भन्दै धकेलेँ।’

साम्राज्ञीले आफूलाई नेपाली फिल्म क्षेत्रप्रति वितृष्णा जाग्नुको कारण भुवन केसी भएको बताएकी छन्। तीन दिनअघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै ठूला ब्यानरका व्यक्तिले आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएकी हुन्।

नेपाली फिल्म क्षेत्रमा अग्रज कलाकारले नयाँ कलाकारलाई शोषण गर्ने गरेको प्रसंग बेलाबेलामा आउने गरेको छ। तर कसैले पनि आफूमाथि यस्तो व्यवहार भएको खुलेर बताउन सकेका थिएनन्। तर अहिले साम्राज्ञी खुलेपछि अन्य कलाकार पनि हौसिएका छन्। यसले अब धेरैको पोल खुल्ने ‘डर’ पनि पैदा भएको छ।

अभिनेत्री साम्राज्ञीले आफूलाई सुटिङ स्थलमै अश्लील गालीसमेत गरेको भनेर भिडियो सार्वजनिक गरेकी छन्। भुवनले त्यसमा पनि प्रतिक्रिया जनाएपछि साम्राज्ञी थप खुलेर आएकी हुन्।

उनले आफूले अहिले यो कुरा सार्वजनिक गरेर ठीक गरेँ कि बेठीक भन्ने महसुस गरिरहेको पनि बताएकी छन्। ‘आपूmमाथि भएको दुर्व्यवहारबारे थाहा हुँदा पनि अन्य कलाकारले महिला भएका कारण यस्ता कुरा बाहिर ल्याउँदा ‘भुवनलाई भन्दा तिमीलाई नै असर गर्छ’ भनेर मलाई सम्झाए। त्यति बेला म सानै थिएँ। यस्ता कुरा थाहा थिएन। त्यसैले सहेर बसेँ’, उनले भनेकी छन्, ‘तर अहिले पनि यसबाट के असर गर्छ मलाई थाहा छैन। तर हल्का महसुस भने भइरहेको छ।’

‘महिलाबाट पुरुष पनि प्रताडित छन्’
फिल्म निर्देशक विशाल भण्डारीले यो क्षेत्रमा महिलाबाट पुरुष पनि प्रताडित भएको भनाइ सार्वजनिक गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ कुरा महिलालाई गरिने दुव्र्यवहारको मात्र हैन, दरिद्र सोचको पनि हो। कामको लोभमा गरिने आचरण र त्यसको नतिजाको पनि चर्चा हुन जरुरी छ। हरेक घटनाको तीन पाटो हुन्छ। पहिलो पक्ष, दोस्रो पक्ष अनि सत्य। सत्य कहिल्यै बाहिर आउँदैन। घटनाको यथार्थ र गहिराइ नबुझी धारणा व्यक्त गर्दा निर्दोषलाई मानसिक पीडा हुन्छ।’

‘वर्तमान समाजले पुरुषले महिलालाई थप्पड हान्दा कस्तो फटाहा रहेछ केटो र महिलाले पुरुषलाई थप्पड हान्दा पनि पक्कै केटाकै गल्ती हो भन्ने एकपक्षीय धारणा बोकेको छ। यो धारणा परिवर्तन हुनु जरुरी छ। सुन्दरतालाई हतियार बनाउन पल्केका महिलाले पुरुषलाई ब्ल्याकमेल गर्न सक्ने गरी सामाजिक बहस हुनु हुँदैन ? सर्वपक्षीय बहसको आवश्यकता छ’, उनले फेसबुकमा लेखेका छन्। ‘पुरुष पनि प्रताडित छन् यहाँ। तर, महिला ठूलो संख्यामा पीडित छन्, यसमा दुई मत छैन। गलत प्रवृत्तिविरुद्ध आवाज उठाउनु जरुरी छ’, उनले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.