अधेरी खोलाको पुल निर्माण अलपत्र
धरान : धरान उपमहानगरपालिका-५ अधेरी खोलाको निर्माणधिन पक्की पुल अलपत्र परेको छ। तीन वर्षदेखि निर्माण थालिएको अधेरी खोलाको पुल निर्माण गर्न छाडेर ठेकेदार सम्पर्कबिहीन भएपछि निर्माण अलपत्र परेको हो। समयमा पुल निर्माण नभएपछि धरानको ५, ६ र १५ वडामा आवत जावतमा समस्या भएको छ।
धरान उपमहानगरपालिकासंग गाभिएको सुनसरी साविकको पाचकन्याँ गाविसका बासिन्दालाई आवतजावतमा समस्या भएपछि पुल निर्माण सुरु भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतको पुल आयोजना पूर्वी सेक्टर नम्बर १ धरानले अधेरी खोलामा एक सय २५ मिटर लम्बाई र ११ मिटर चौडाइको पुल बनाउन मृत सञ्जीवनी एचके विल्डर जेभीलाई जिम्मा दिइएको थियो। ७ करोड ५० लाख रुपैयाँमा ठेक्का पारेको मृत सञ्जीवनीले काम अलपत्र छोडेर हिँडेपछि स्थानीय समस्यामा परेका हुन्।
पुल २०७६ असार २५ गते निर्माण गरिसक्नु पर्ने थियो। तर, ठेकेदार हजबुल मियाँले पुलको अवधि २०७६ माघ २५ गते सम्म थपे पनि निर्माण कार्य थालेका छैनन्। दोस्रो पटक म्याद थप गर्दा समेत ठेकेदार मियाँले पुल निर्माणको काम नथाली अलपत्र पारेको अधेरी खोला पुल निर्माण समन्वय समितिका अध्यक्ष पदम कार्कीले जानकारी दिए।
पुल निर्माण अलपत्र पारेको आरोप लागेका ठेकेदार मियाँले पुल निर्माणमा काम गरेका मजदुरको समेत भुक्तिानी नदिएको पीडितको गुनासो छ। पुल निर्माण गर्दा ढुङ्गा गिटी बिक्री गरेको रकम समेत नपाएको पीडित प्रेमकुमार राईले गुनासो गरे। ठेकेदारले पुल निर्माणमा काम गर्ने मजदुरलाई दिने रकम चेक काटेर दिए पनी भुक्तानी नपाएको पीडितको भनाइ छ।
आयोजनाकी सव इन्जिनियर बिनिता साहले ठेकेदारले पुल निर्माणमा ढिलाई गरेकाले समयमा सम्पन्न गर्न ताकेता गरिरहेको बताइन्। ठेकेदार मियाँले आयोजनाले भुक्तानी नदिएको र कोरानाका कारण भारतीय मजदुर नआएकाले पुल निर्माणमा समस्या भएको बताए। उनले पुल निर्माण गर्ने मजदुर र ढुङ्गा गिटीको रकम केही दिनमै भुक्तानी गर्ने बताएका छन्।