आत्महत्या बढ्दो

आत्महत्या बढ्दो

इटहरी : इटहरीका ४५ वर्षीय रमेश दाहाल झन्डै डेढ वर्षअघि झुन्डिएको अवस्थामा फेला परे। उनी इटहरीस्थित घरभन्दा केही परको डेरामा मृत फेला परेका थिए। उनले पैसा दिनुपर्ने केही मानिसहरूलाई बैंक अगाडि आउनु भनेर खबर गरेका थिए। मानिसहरू पैसा लिन बैंक पुग्दा नपुग्दै दाहालले आत्महत्या गरिसकेका थिए।

आर्थिक तनावका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ। आत्महत्यापछि उनलाई पैसा दिएको भन्दै केही मानिसहरू अगाडि आए। सबैको पैसा जोड्दा डेढ करोडभदा बढी रकम देखियो। तर त्यतिका पैसा उनले कहाँ, केमा लगानी गरे वा कसलाई दिए अहिलेसम्म थाहा हुन सकेको छैन।

इटहरीका ३० वर्षीय जीवन खनाल धरानस्थित एक होटलमा मृत भेटिए। भेन्टिलेसनमा तन्नाको पासो लगाएको अवस्थामा उनलाई देखेपछि नजिकका साथी नै अचम्ममा परे। ‘दुई दिनअघि मात्र भेट भएको थियो,’ इटहरीका जीबी गजलले भने, ‘त्यस्तो तनाव केही देखिँदैनथ्यो, हाँसेर बोल्ने मान्छे।’ आत्महत्या भनिए पनि शंकास्पद रहेको उनले बताए। खनाल जग्गा कारोबार गर्थे। उनले विभिन्न व्यक्तिसँग गरी तीन करोड रुपैयाँ लिएको अनुमान गरिएको छ। तर उक्त रकम उनले कहाँ, के गरे भन्ने खुलिसकेको छैन।

यी दुई प्रतिनिधि पात्र मात्र हुन्। हेर्दा सरल जीवनयापन गर्ने तर भित्रभित्रै परिवारलाई समेत थाहै नदिई ठूलो आर्थिक कारोबार गर्नेमा आत्महत्याको नौलो प्रवृित्त देखिएको छ। जसको एउटै निर्णयले परिवारलाई त प्रत्यक्ष प्रभावित पारेको छ नै, उनीहरूलाई लगानी गर्ने अरू कयौं परिवारसमेत समस्यामा छन्।

आर्थिक लेनदेनका कारण आत्महत्या गर्नेको सख्या यो वर्ष प्रदेश १ मा दोब्बर छ। १ नं. प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४८ जनाले आत्महत्या गरेकोमा यो वर्ष १ सय ४ जनाले आत्महत्या गरे।

यो आर्थिक वर्षमा सुनसरी जिल्लामै पनि घरायसी विवाद र मानसिक तनावका कारण आत्महत्या गर्नेको संख्या झन्डै २९ प्रतिशतले बढेको छ। गतवर्ष ८० जनाले आत्महत्या गरेकोमा यो वर्षको असार १५ गतेसम्ममा ९७ जनाले घरायसी विवाद र मानसिक तनावको कारण आत्महत्या गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ।

प्रेममा इगोको असर

आर्थिक मात्र होइन, सुनसरीमा प्रेममा हुने असफलतासमेत आत्महत्याको अर्को प्रमुख कारकको रूपमा छ। गत माघमा १० वर्ष लामो प्रेमसम्बन्ध रहेकी युवतीको अर्कैसँग विवाह हुने भएपछि सप्तकोसीमा हाम फालेर इटहरीका राजेश बानियाँले आत्महत्या गरे। युवतीको फूलमालाको फोटो फेसबुकमा पोस्ट गरेलगत्तै उनले सप्तकोसीको पुलबाट हामफालेका थिए।

पुस महिनामा इटहरीकै एक किशोरीले प्रेम सम्बन्धमा तनाव आएपछि आत्महत्या गरिन्। आत्महत्याअघि फेसबुकमा लेखिन्, ‘तिमीसँग मिलेर संसार सजाउने दुनियाँ जित्ने मन थियो। तर तिमीले अर्कैसँग मिलेर मलाई नै हरायौ’।

यी त भए थाहा दिएर आत्महत्या गर्नेहरू। कतिपय किशोरकिशोरी र बालबालिका भने कारण थाहै नदिई आत्महत्याको बाटो रोजेका छन्। जुन कारण आत्महत्या पछि अनुसन्धानको क्रममा खुल्ने गरेको छ। गत आर्थिक वर्षमा १५ जनाले प्रेममा धोका पाएपछि आत्महत्या गरेका थिए भने यो आर्थिक वर्षमा १६ जनाले प्रेमकै कारण ज्यान गुमाएका छन्। प्रेमका कारण किशोरावस्थामै आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ।

गत आर्थिक वर्षमा १४ जना बालबालिकाले आत्महत्या गरेकोमा यो आर्थिक वर्षमा १६ जना बालबालिकाले आत्महत्या गरीसकेका छन्। प्रेमसम्बन्धमा तनाव उत्पन्न भएपछि युवा युवतीले आत्महत्याको बाटो लिने गरेको समाजशास्त्री प्राध्यापक अर्जुन उप्रेती बताउँछन्। प्रेममा पाएको धोकालाई लिएर इगो राख्ने प्रवृित्तले मृत्युको मुखसम्म पुर्‍याउने गरेको उनको भनाइ छ। ‘यो देखासिकीमा रूपान्तरण हुँदै छ,’ उनी भन्छन्। साइकोलोजिकल अटप्सीको आवश्यकता

मानसिक, सामाजिक रूपमा उपेक्षित अनुभव गर्नेहरूले आत्महत्याको बाटो रोज्ने गरेका छन्। यस्ता मानिसहरूमा इगोको मात्रा बढी हुनेसमेत विश्लेषण गरिएको छ। बीपी प्रतिष्ठान धरानका मनोचिकित्सक डा. दिनेश सापकोटाका अनुसार आत्महत्या गर्ने ९० प्रतिशत बढीलाई मानसिक रोग लागेको हुन्छ भने तीमध्ये प्रायमा डिप्रेसन पाइने गरेको छ। उनका अनुसार यस्तो डिप्रेसन लामो समयदेखि व्यक्तिमा रहन्छ र आत्महत्या गर्न प्रेरित गर्छ।

सापकोटा आत्महत्याको विषयमा अध्ययन गर्ने परिपाटी नै नभएकोले विकराल रूप लिन सक्नेमा चिन्ता व्यक्त गर्छन्। यसमा गहन अध्ययन गर्नुपर्ने उनको जोड छ। उनी भन्छन्, ‘मानिसको शरीरलाई पोस्टमार्टम गरेझैं आत्महत्या गर्नेको मनोविज्ञानलाई केलाउन साइकोलोजिकल अटप्सी गर्नुपर्छ।’

विश्वस्वास्थ्य संगठनले बिरामीको शारीरिकका साथै मानसिक र आध्यात्मिक पाटोलाई पनि ध्यान दिनुपर्ने मान्यता राखेको छ। तर नेपालमा भने खासै वास्ता नगरेको उनी बताउँछन्।

उनले प्रतिष्ठानले मनोसामाजिक चिकित्साको लागि ओपीडी, हेल्पलाइन सेवा, टेलिमेडिसिन सेवा दिइरहेको उनले जानकारी दिए। उनले प्राइमरी हेल्थ सेन्टरदेखि नै मनोसामाजिक परामर्शहरू दिनुपर्नेमा जोड दिएका छन्। सुनसरीमा गतवर्षभन्दा यो वर्ष आत्महत्या २० प्रतिशतले बढेको पाइएको छ। आर्थिक वर्ष २०७६/७७ को असार १५ गतेसम्ममा सुनसरीमा एक सय ९९ जनाले आत्महत्या गरेका छन्। जबकि अघिल्लो आर्थिक वर्ष २०७५÷७६ सालमा एक सय ६५ जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्ने पुरुषहरूको अनुपात गत वर्षभन्दा बढी छ। गत वर्ष ८७ जना पुरुषले आत्महत्या गरेकोमा यो वर्ष एक सय १६ जनाले आत्महत्या गरेका छन्। बालबालिकाको संख्या भने गत वर्ष १४ रहेकोमा यो वर्ष १६ रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.