खहरेले डाइभर्सन भत्कायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
चितवन : अविरल वर्षापछिको बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले नवलपुरको गैंडाकोट नगरपालिका-९ स्थित थुम्सिमा सडकको डाइभर्सन भत्काउँदा सडक अवरुद्ध बनेको हो ।
शनिबार बिहान चार बजेदेखि सडक अवरुद्ध छ । नारायणगढ-बुटवल सडक खण्ड अन्तर्गतको उक्त स्थानमा कल्भट बनाउन लागिएको छ । खहरे खोला डाइभर्सन भत्काएपछि सवारी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिए । सडक सुचारु गर्न अर्को डाइभर्सन बनाउन लागिएको उनले बताए ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारको काम गरिरहेको छ । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।