सप्तकोशीमा पानीको बहाव घट्यो
धरान : सप्तकोशी नदीमा पानीको बहाव घटेको छ। आइतबार बिहान ७ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ९९ हजारमा झरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी बताए। उनले सप्तकोशीका ५६ मध्ये ३३ ढोका खोलिएका बताए।
लगातार परेको अबिरल बर्षाका कारण शुक्रबार पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४० हजार ५ सय ६५ हजार ५५ क्यूसेक पुगेको थियो। पहाडी जिल्लामा बर्षात रोकिएका कारण पानीको बहाव खटेको अनुमान गरिएको छ।
सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोसिमा पानीको बहाव कम भएपनि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। सप्तकोशीमा खतराको रातो झण्डा पनि फहराइएको छ।
पानीको बहाव बढेपछि खतरा उत्पन्न हुन सक्ने भन्दै कोसी आसपासका क्षेत्रका बासिन्दालाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ। सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सप्तकोशी नदीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी सहितको २ सय जना सुरक्षा कर्मी उद्धारका लागि तयारी अवस्थामा राखिएको बताए।