विप्लवका नाममा ८ लाख चन्दा माग्ने दुईजना पक्राउ
दाङ : दाङमा व्यवसायीसँग चन्दा माग्ने दुईजना पक्राउ परेका छन्। प्रतिबन्धित विप्लव समूहको नाममा ८ लाख बढी रकम माग्ने दुई जनलाई दाङ प्रहरीले पक्राउ गरेको हो।
बबई गाउँपालिका वडा नम्बर ५ मा व्यवसाय संचालन गर्दै आएका २६ वर्षीय ललित गौतमलाई विप्लव पार्टीको नामबाट ८ लाख ६५ हजार चन्दा माग्ने सोही ठाउँका केबल भनिने कृष्ण वली र २८ वर्षीय भाष्कर वलीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरु दुवै जनाले व्यवसायी गौतमका बुवा निमकान्त गौतमलाई पटक–पटक फोन गरी चन्दा नदिए मार्ने धम्कि दिंदै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्रडम्बर पालले जानकारी दिए। उनका अनुसार पीडित गौतमले पक्राउ परेका दुवै जनालाई ५० हजार दिन तयार भए पनि उनीहरुले माग गरेको पूरै रकम दिने भनेर धम्की दिन थालेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो।
पक्राउ परेका दुवै जनाबाट प्रहरीले सेतो रंगको नोकिया कम्पनीको सादा मोवाइल र अपराधमा प्रयोग गरिएको सिमकार्डसमेत बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई दाङ देउखुरी जिल्ला अदालतबाट म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिम मुद्धा चलाइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।