धरानको बुद्ध चोकमा चिण्डोको प्रतिमा
धरान : धरान १८ स्थित बुद्धचोकमा राई जातीको महत्वपूर्ण मानिने चिण्डोको प्रतिमा स्थापना गरिएको छ । बुद्धचोकमा स्थापना गरिएको प्रतिमाको बिहीबार एक कार्यक्रमका बीच भाषाविद् प्रा. डा. टंकप्रसाद न्यौपाने र धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अनावरण गरेका हुन् ।
किरात राई जातीको महत्वपूर्ण संस्कृतिक सामग्रीका रुपमा चिण्डोलाई लिइने गरिन्छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोको बुद्ध चोकमा पाँच फिट चार इन्चको बेसमाथि ९ फिट अग्लो चिण्डोको प्रतिमा राखिएको छ । धरान उपमहानगरपालिका १८ र स्थानीय दाताको सहयोगमा चिण्डोको प्रतिमा राखिएको वडा अध्यक्ष प्रविन राईले बताए ।
चिण्डोको प्रतिमासँगै राई जातिको संस्कृति झल्काउने यलम्बर, सुम्निमा, पारुहाङच्याब्रुङ नाच, साकेला नाचलगायतको दृश्य राखिएको छ । भाषविद् डा. न्यौपानेले चिण्डोको प्रतिमा राखेर राई जातिको सांस्कृतिक जर्गेना गर्न भावी पुस्तालाई सहज हुने बताए । मेयर तिलक राईले बुद्ध चोकमा चिण्डोको प्रतिमा राखिएकोमा अन्यथा नलिइदिन सबैमा आग्रह गरेका छन् ।
बुद्ध चोकमा चिण्डोको प्रतिमा राख्ने भएपछि बुद्ध धर्म मान्ने जातीय संस्थाले विरोध जनाएका थिए । विरोधका बीच पनि बुद्धचोकमा चिण्डोको प्रतिमा अनावरण गरिएको छ । यस अगाडि बुद्ध चोकमा बुद्धको मूर्ति राख्ने विषयमा स्थानीय धर्मध्वज राईले जिल्ला सुनसरीमा मुद्धा हालेपछि पनि विवाद उत्पन्न भएको थियो ।
अनावरण गर्दै भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपाने र धरानका मेयर तिलक राई ।तस्बिर : रत्नप्रसाद आचार्य