धरानका तीनहजार घर बाढीको उच्च जोखिममा

धरानका तीनहजार घर बाढीको उच्च जोखिममा

धरान : अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजारभन्दा बढी घरपरिवार बाढीको उच्च चपेटामा परेका छन्। अव्यवस्थित रुपमा धरानका विभिन्न खोला किनाराको जग्गामा बसेका २६ सुकुम्बासी बस्तीका ३ हजार बढी घरपरिवार बाढीको उच्च जोखिममा परेका हुन्। 

अविरल वर्षातसँगै खोलामा आएको बाढीका कारण धरानमा ९ वटा घर बाढीले बगाएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए। उनका अनुसार सर्दुखोलामा आएको बाढीले धरान १७ का घनिन बहादुर श्रेष्ठ, मिना लिम्बु, सुजन लिम्बु, मनकुमारी राई, विक्रम राई, र गंगा परियारको घर बगाएको छ।  त्यस्तै धरान ५ को मसन्दरा जोगी, जितबहादुर लिम्बु र तिलक बस्नेतको घर अधेरी खोलामा आएको बाढीले बगाएको डिएसपी बस्नेतले बताए।  बाढीले बगाएका सबै घर खोलाको किनारमा थिए।  

लगातारको वर्षातका कारण धरानको सेउती, सर्दु, अधेरी, शेहरा, अन्य दर्जन बढी खहरे खोला किनारामा बसोवास गर्दै आएका ३ हजार बढी घरपरिवारहरु बाढीको उच्च जोखिममा रहेको नेपाल बसोवास बस्ती संरक्षण समाजका केन्द्रीय महासचिव कुमार कार्कीले बताए।  धरानका नौलो बस्ती, लोकतान्त्रीक बस्ती, प्रगती मार्ग, सुनौलो बस्ती, गैरी टोल, सगरमाथा टोल, फोकलेण्ड टापु, गणतन्त्र बस्ती, ललित टोल, वीरनारायण मार्ग, सिर्जना बस्ती, खोरिया बस्ती, अरुण टोल, बरुण टोल, सभागृह मार्ग, हाम्रो टोल लगायतका बस्तीका ३ हजार बढी घरपरिवार बाढीको उच्च जोखिममा रहेको कार्कीको भनाइ छ। 

२०६३/६४ को जनआन्दोलनपश्चात धरानमा खोला किनाराको बगर ओगटेर पाँच हजार बढीले घर बनाइ अव्यवस्थित बसोवास गर्दै आएका छन्।  जथाभावी खोला अतिक्रमण गरी निर्माण गरिएका बस्ती वर्षातको समयमा वर्षेनी उच्च जोखिममा पर्ने गरेका छन्।  निर्वाचनका बेला यिनै सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्ने वचन दिएर चुनाव जितेका जनप्रतिनिधि चुनाव जितेपछि बस्तीमा आउन छाडेका पीडितहरुको गुणासो छ।  

सुकुम्बासी बस्ती व्यबस्थापन समिति धरानका संयोजक तथा सुर्दशन श्रेष्ठले खोलामा आएको बाढीले घर बगाउन लाग्दासमेत धरान उपमहानगरपालिकाले खोला नियन्त्रण गर्न कुनै सहयोग नगरेको गुनासो गरेका छन्।  उनले उपमहानगरले बस्ती व्यबस्थापनमा चासो नदेखाउँदा हजारौं सुकुम्बासीले बाढी आउने समयमा त्रासमा बस्न बाध्य हुनु परेको बताए।  

यसरी अवैध रुपमा बस्ती बसाउन सत्तारुढ दल नेकपा, खम्बुवान, लिम्बुवान र कांग्रेसकै स्थानीय नेता अझै सक्रिय छन् । कतिपय नेकपा, खम्बुवान र लिम्बुवानका स्थानीय नेताले खोलाको बगर प्लटिङ गरी सरकारी जग्गा पाहाडी जिल्लाबाट झरेका सोझा साझा सर्वसाधारणलाई बिक्रीसमेत गरेका छन्।  कतिपय नेकपाका नेताहरुलेसमेत खोला किनाराको जग्गा नै ओगटेर बस्दासमेत धरान उपमहानगरपालिकाले सरकारी जग्गाको संरक्षण गर्न सकेको छैन।  

धरानका सुकुम्बासीलाई व्यवस्थित गर्नका लागि घर नम्बर वितरण गरेको उपमहानगरपालिकाले बाढीले घर बगाउन लाग्दा बस्ती जोगाउन सहयोग नगरेको कसंघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमको आरोप छ। उनले तत्काल खोला आसापासमा बसोवास गर्दै आएका सर्वसाधारणको जनधनको सुरक्षा गर्न सरकारसँग माग गरेका छन्।  

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अव्यवस्थित रुपमा बसोवास गरिरहेका रहेका सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्न दिर्घकालीन योजना ल्याएर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.