पहिरो प्रभावित बारेकोटमा खाद्यान्न संकट

पहिरो प्रभावित बारेकोटमा खाद्यान्न संकट

जाजरकोट : पहिरो प्रभावित बारेकोटमा खाद्य संकट भएको छ । बारेकोटका बाढी पहिरो प्रभावित भोकभोकै पर्न थालेका छन् । खानेकुरा नभएपछि विस्थापित परिवार समस्यामा परेका छन् । घरमा भएको अन्न सकिएपछि आफूहरु निकै समस्यामा परेको बारेकोट, सिनचौरका मानबहादुर नेपालीले गुनासो पोखे ।

'गत २६ गते देखि स्थानीय कालिका प्राविमा बसेका छौं। विद्यालयको छाना चुहिन्छ। खाने अन्न छैन । घरमा भएको अन्न पिस्ने घट्ट बाढीले बगायो । के खाएर बाँच्ने हो, उनले भने, 'यस्तै अवस्था केही दिन रहे भोकैले मरिएला भन्ने डर छ ।'

बाढी पहिरोको त्रासले पाँच सय बढी परिवार विस्थापित भएर स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । तर उनीहरुसँग खाद्यान्न सकिदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाइदैन । विस्थापितहरु भोकभोकै पर्न थालेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट गाउँपालिकामा उत्पादित अन्नले वर्षदिनमा ५/६ महिना मात्र खान पुग्छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रमा खाद्य पसल छैनन् । मानिस खाद्य संस्थानको चामलकै भर पर्ने गरेका छन्।

बर्षेनि खाद्य संकट भइरहने जाजरकोटको बारेकाटका करीब २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रित्तै छ । बारेकोटमा खाद्य संकट दिनहुँ चुलिदै गएको छ तर ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । 

बारेकोटको खाद्य संकट टार्न सरकारले नेपाल खाद्य संस्थानलाई चालु आर्थिक वर्षमा थपसहित तीन हजार पाँच सय क्वीन्टल चामलको कोटा निर्धारण गरेको छ । उक्त चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ । तर आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार चार सय ४२ क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । 

एक हजार ५८ क्वीन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य संकट परेको हो । 'गाँउमा खाद्यन्नको अभाव छ । ठेकेदारले चामल ढुवानी गर्दैनन् । गाउँमा उत्पादन भएको अन्न सकियो । पसल छैनन् । डिपो रित्तै छ, के किनेर खाने ?' विस्थापित बारेकोट गाउँपालिका १ धौलाकोटका टेकेन्द्र नेपालीले भने, 'सरकार, हाम्रो समस्या कहिले सुन्ने?'

केही हुनेखाने बाहेक यतिबेला बारेकोटका सबै घरमा खाद्य संकट छ । लेकाली र भिरालो जमिन भएकाले अन्न उत्पादन पनि खासै हुँदैन । त्यहाँका बासिन्दा सधैं खाद्य संस्थानकै चामलमा निर्भर छन् । विस्थापित परिवारमा मात्र होइन । विस्थापित नभएका परिवारसँग पनि खाद्य मौज्दात छैन ।

विस्थापित परिवार विपन्न वर्गका छन् । लकडाउनकै कारण धेरै मानिस गाउँ फर्किएका छन् । रोजगारीका अवसर छैनन् । त्यहीमाथि पहिरोले बारेकोटका विभिन्न गाउँ तथा बस्ती छियाछिया परेका छन् । मानिस कामको खोजीमा बाहिर निस्कन सकिरहेका छैनन् । वर्षात रोकिएको छैन । विस्थापित सबै परिवार राहतकै पर्खाइमा छन् तर अहिलेसम्म कतैबाट सहयोग पाएका छैनन्।

बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्लीलगायतका गाउँमा केही दिनमै भोकमरीको अवस्था सिर्जना हुँदैछ ।

गाउँपालिका एक्लैले विपदको सामना गर्न सक्ने अवस्था छैन । विस्थापितलाई खान बस्नको लागि निकै समस्या छ । तर प्रदेश सरकार र संघीय सरकार गम्भीर भएनन् । बारेकोटवासीलाई परेको विपत्तीमा अहिलेसम्म सहयोग पाइएन उनले गुनासो गदै अन्नपूर्णसँग भने, 'यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ ।

राहत सामग्रीका लागि हवाई मार्ग बाहेकको विकल्प छैन । तर केन्द्र सरकार सुन्दैन । बारेकोटका एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तिमा ५÷६ घण्टा लाग्ने भएकोले पनि तथ्यांक संकलनमा समस्या भएको हो ।

बारेकोटमा प्रहरीको सञ्चार सेटले समेत काम नगरेपछि थप समस्या भएको छ । 'मन्त्रीहरु, सांसदहरु हेलिकोप्टरमा बाढीपहिरो प्रभावितको हवाई निरीक्षण गरेर फर्कन्छन् तर हामीले अहिलेसम्म एउटा त्रिपाल र कम्मल समेत पाउन सकेका छैनौं, बारेकोट ५ कालाखोलीका दलबहादुर थापाले भने, 'न खाने खास छ न ओत लाग्ने ठाउँ छ । विद्यालयको चुहिने छानामुनि रात काट्न विवस छौं।'

विस्थापित परिवारसँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । घट्ट बाढीले बगाइदिएको छ । किनेर खाने बजार छैन । बाटोघाटो अवरुद्ध छ । यतिबेला बारेकोटी जनता निकै समस्यामा छन् । तत्काल सरकारले खाद्यन्न लगायतका राहत सामग्री पठाउनुपर्छ । बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन । 

पानी निरन्तर परिरहेकोले जमिन भाँसिने र पहिरो जाने क्रम नरोकिँदा पहिरो जाने डरले घर छोडेका स्थानीयहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजसो विस्थापित स्थानीय विद्यालयमा बसिरहेका छन् । उनीहरु त्रिपाल पाए चौरमै बस्न चाहन्छन् । तर त्रिपाल नहुँदा कोरोनालगायतको जोखिम मोलेरै सयौंको संख्यामा कोचिएर बस्न विवस भएको गाउँपालिका उपाध्यक्ष ओमा शाहीले बताइन् ।

केही दिनमै खाद्यन्न ल्याउन नसके विस्थापित भोकभोकै पर्ने अवस्था रहेको उनको भनाइ छ । उनले हेलिकोप्टरबाट तत्काल खाद्यन्न लगायतका राहत सामग्री पठाउन केन्द्र सरकारसँग माग गरिन्।

गत असार २५ मा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परी ११ जनाको ज्यान गएको छ भने एकजना अझै बेपत्ता छन् । बेपत्ता फेला नपरेपछि खोजीका लागि गएको नेपाली सेना र शसस्त्र प्रहरी टोली सदरमुकाम फर्किसकेको छ । त्यस्तै बारेकोट ६ धुमाखोलाले बगाउँदा बेपत्ता दुईजना पनि अझै फेला पर्न सकेका छैनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.