वर्षाले ओखलढुंगाका ग्रामीण सडक अवरुद्ध
ओखलढुंगाः लगातारको वर्षापछि खहरेमा आएको बाढीले सडक बगाउँदा सिद्धिचरण राजमार्गको हर्कपुर-ओखलढुंगा खण्ड अवरुद्ध भएको छ । मानेभञ्ज्यांग गाउँपालिका नजिकै भँडारे खोलामा आएको बाढीको कटानले सडक अवरुद्ध भएको हो । खहरेले बाटो अवरुद्ध पारेको मानेभञ्ज्यांग गाउँपालिका ८ का वडा अध्यक्ष भीम मगरले बताए ।
अहिले पनि पानी परिरहेका कारण खहरेले बाटो कटान थप गर्न सक्ने उनले बताए । वर्षाका कारण आएका खहरे तथा खसेको पहिरोले राजमार्गका विभिन्न ठाउँमा अवरोध भएको छ । त्यस्तै ओखलढुंगाका ग्रामीण सडक सबैजसो अवरुद्ध छन् । ओखलढुंगा सदरमुकामबाट पूर्व तथा पश्चिम भेगमा जाने कच्ची सडक बर्षाका कारण अबरुद्ध भएका हुन् । सडक अवरुद्ध हुँदा आवत जावतमा समस्या भएको छ । सवारी साधान समेत चल्न सकेका छैनन् ।
पानी निरन्तर परिरहेकाले थप समस्या हुन सक्ने भन्दै जिल्ला विपद व्यवस्थापन समितिले सर्तक रहन आग्रह गरेको छ । समितिले सुचना जारी गर्दै कतै समस्या देखिएमा खबर गर्न आग्रह गरेको छ ।
अहिलेसम्म ओखलढुंगामा बाढी पहिरोका कारण कतै जनधनको क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिं बस्नेतले बताए ।