खोला बगाउँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते
तेह्रथुम : लागीगुराँस नगरपालिका -९ सोल्मामा सोमबार खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । सोल्माको भालु खोलाले बगाउँदा म्याङलुङ नगरपालिका-६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले जानकारी दिए ।
सोमबार बिहान आफन्तकोमा जान भनि छथर गाउँपालिकाको सुदाप हिँडेका ३ मध्ये म्पतीलाई दिउँसो १२ बजेतिर एक्कासी माथिबाट आएको खोलाले बगाएको थियो। खोलाले अञ्जनालाई करिब ४ सय मिटर तल पुर्याएको र उनका श्रीमान भेषराज लिम्बूले १ सय मिटर तल नपुग्दै बुट्ट्यान समाएर ज्यान जोगाएका थिए । यद्यपी उनी गम्भीर घाइते भएका छन् ।
अविरल वर्षाका कारण खोलमा बाढी आएको र तीनैजनाले एउटा लौरो समाएर पारी तर्ने क्रममा गहिरो भौडीको कारण दुईजना अकस्मात पानीको छालसँगै बगेको र हतार हतार ढुंगा समाउन पाएको कारण आफूलाई खोलाले बगाउन नसकेको अर्का व्यक्ति निरबहादुर लिम्बूले बताए । अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल खोलाको किनारमा मृत अवस्थामा स्थानीयले भेटाएका थिए ।
मृतकको पोष्टर्माटमका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।