रानाथारूलाई लाग्यो ‘तीज’

रानाथारूलाई लाग्यो ‘तीज’

धनगढी : पश्चिम नेपालमा बसोबास गर्ने रानाथारू समुदायमा परम्परागत तीज पर्वको रौनक छ अहिले। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ संक्रमण बिर्संदै उनीहरू तीज पर्वमा रमाएका छन्।

रानाथारू बस्तीमा डोला (पिङ) हालिएका छन्। परम्परागत पोसाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन थालेका छन्। विवाहित छोरीचेली माइती फर्किएका छन्। नेपाली समाज भाषा संकृतिले सम्पन्न छ। विभिन्न जातजातिका विभिन्न संस्कृति छन्। राना थारू समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक तरिकाले मनाइन्छ। एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ। त्यसरी हालिएको पिङलाई डोला भनिन्छ। पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन्।

पिङ हाल्न दाजुभाइ–दिदीबहिनी मिलेर जंगलबाट बाबियो काटेर ल्याउँछन्। त्यसलाई बाटेर पिङको लट्ठा बनाइन्छ। यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार जीवन रानाथारूले बताइन््। धनगढी उपमहानगरका–७, देबरियामा पनि रानाथारूको बाक्लो बस्ती छ।

अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् रानाथारू। हिन्दु धर्मावलम्बीले श्रीमान्को दीर्घायु तथा कुमारी केटीले महादेवजस्तै वर पाऊँ भनी तीजको व्रत बस्ने धार्मिक मान्यता छ। तर, रानाथारू समुदायले भने तीजलाई फरक तरिकाले मनाउँछन्। राम्रो वर र श्रीमान्को दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्य र दीर्घायुका लागि तीज मनाइन्छ रानाथारू समुदायमा।

‘संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ’, धनगढी–७ का राजमती रानाले भनिन्। श्रावण तृतीयालाई तीजको मुख्य दिन मानिन्छ। यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ। व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन्। व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन्। गडरौदा जातको घाँस वा कुशमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन्। पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादका रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन्।

‘विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका लागि धनसम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्छन्’, धनगढी–९ की प्रेममती रानाथारू भन्छिन्, ‘दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ।’ व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन्।

रानाथारू संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्व कालमा बेहमैयाले तीजको व्रत बसेको र त्यहीँबाट यसको सुरुआत भएको विश्वास छ। बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन। नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव–पार्वतीले देखे। र, उनलाई रुनुको कारण सोधे। शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ।

अन्य समुदायमा श्रीमान्को दीर्घायुको कामना गर्दै तीजको व्रत बस्ने चलन छ। यो समुदायमा भने दाजुभाइ र भतिजाको दीर्घायुको कामना गरिने रानाथारू संस्कृतिका जानकार धनीराम बताउँछन्। ‘परापूर्वकालमा हाम्रो समुदायमा दुःख बिमार परेर पुरुषको मृत्यु हुन थाल्यो’, उनी भन्छन्, ‘त्यसैले संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ।’

कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोबास छ। सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ। नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ। दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोबास छ। आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक् रहेको कृपाराम रानाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.