जोगी पाल्न गरिबलाई दस्तुर

जोगी पाल्न गरिबलाई दस्तुर

उपत्यकाको तीन राज्य हात पार्ने उद्देश्यका साथ गोरखाली सैन्य दहचोकमा उत्रे। त्यहाँ उनीहरू कसिलो आड बनाएर बसे। पृथ्वीनारायण शाह दहचोकमै बसेर युद्धको योजना बनाइरहेका थिए। उनका लागि उपत्यकाका तीन राज्य जित्न पहिले कीर्तिपुर हात पार्नु जरुरी थियो। १८१४ जेठ १९ गते आफ्ना भाइभारदारहरूको कुरा नसुनी बलजफ्ती कीर्तिपुर आक्रमण गर्दा त्यहाँ उनका भरपर्दा सेनापति कालु पाँडे लगायतका चार सय जवान सैन्यले ज्यान गुमाए।

आफ्ना भरपर्दा भारदार तथा ज्योतिषीहरूले कीर्तिपुर हान्न समय भई नसकेको सल्लाह दिँदा पनि पृथ्वीनारायण शाहले उल्टै उनीहरूलाई नराम्ररी हप्काई युद्धमा जान बाध्य बनाएका थिए। पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को संख्या २२ (२०२९ माघ  : ११–१२) अनुसार मुख्य सेनापति कालु पाँडेले तीन सहरबीच एकापसमा मेल भइरहेको बेला कीर्तिपुर हान्न उपयुक्त समय नभएको मत राखेका थिए। 

ज्योतिषी कुलानन्द ढकालले युद्धको साइत नभएको मात्रै होइन, राजाकै दिनदशा पनि उस्तो राम्रो नभएको मत राखे। पहिल्यैदेखि दहचोक कुरेर बसेका सैन्य अधिकारी हरिवंश उपाध्यायले पनि युद्ध गर्ने बेला नभएको तर्क राख्दा पृथ्वीनारायण शाहले कुलानन्द र हरिवंशलाई नराम्ररी हप्काए, ‘तिमीहरू दुवै कालेको मुतमा बगेका रहेछौ।’ कालु पाँडे आफ्नो अडानमा अडिग थिए। तर फेरि पृथ्वीनारायण शाहले उनलाई ‘तँलाई मर्न डर लाग्यो ?’ भनी नराम्ररी हप्काएपछि उनी बाध्य भएर कीर्तिपुर हान्न आफ्नो लस्कर लिई अगाडि बढे। तर कीर्तिपुरसँगको पहिलो युद्धमा कालु पाँडेजस्तो बहादुर गोरखाली भारदारसहित चार सय जना गोरखाली सैन्यको ज्यान मात्र गएन, स्वयं पृथ्वीनारायण शाह आफँै ज्यान जोखिममा परी उम्केका थिए।

कालु पाँडेको निधन पृथ्वीनारायण शाहका लागि जिन्दगीभर दुख्ने र बल्झने चोट बनिरह्यो। इतिहास शिरोमणि बाबुराम आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ :२५४–२५५)मा भाषा वंशावली (पृ.३४९–५२)लाई पाद टिप्पणीमा राख्दै पृथ्वीनारायण शाह पुतुवारको सहयोगले मात्रै नपुगी जयकृष्ण थापाको पीठमा चढी दहचोकको डाँडामा उत्री ‘काल्याले त भन्याथ्यो मेरा हट्ले लडाई वीग्र्‍या अव यहाँ वसी भलो हुन्या छैन’ भन्दै उनी नुवाकोट पुगेर अफसोच गर्दै बसे।
पृथ्वीनारायणलाई जोगाएर दहचोकसम्म पुर्‍याउने पुतुवारहरू काठमाडौँको हल्चोकनेर अहिले पनि सुखदु :ख जीवन यापन गरिरहेका छन्। उनीहरूको अवस्था उस्तो राम्रो छैन। 

भगवन्तनाथले मन्तरेको तित्रा

आचार्य (उही :३०१–३०२)अनुसार गोरखाको तनहुँ र लमजुङबीच युद्ध चलिरहेको बेला गोरखाली सेना वि.सं. १८२० चैत ९ गते गण्डकी नदी तर्‍यो। त्यसै बेला गोसाइँकुण्ड, पशुपति र गोरखनाथको दर्शन गर्न सल्यानबाट आएका योगी भगवन्तनाथको गोरखामा सुरप्रताप शाहसँग भेट भयो। योगीको प्रभावमा परी उनले नुवाकोट पुर्‍याई पृथ्वीनारायण शाहसँग भेट गराए। उनले योगीलाई गुरुसरह डोलीमा चढाई सम्मान गरेका थिए।

पृथ्वीनारायण शाहले दोस्रोपटक कीर्तिपुर आक्रमण गर्ने निर्णय गरे। तर ज्योतिषी कुलानन्द ढकाल र रामकृष्ण जैसीले युद्धको साइत निकाल्न सकेनन्। त्यहीँ बेला पृथ्वीनारायणले गुरुसरह मानेका योगी भगवन्तनाथले त्यहाँ मन्त्र गरी कीर्तिपुर विजयका लागि साइत निकालिदिने भए। उनको आडमा बालकृष्ण जैसीले युद्धको साइत निकालिदिए। 

योगी भगवन्तनाथले मन्त्र जपेर एउटा तित्रो दिँदै ‘यो कीर्तिपुरमा हाल्नू, कीर्तिपुर फुट्छ’ भने। तित्रो लिएर पृथ्वीनारायणका कान्छा भाइ सुरप्रताप शाहको नेतृत्वमा गोरखाली फौज अगाडि बढ्यो। भगवन्तनाथको आडमा बालकृष्ण जैसीले निकालेको साइतअनुसार उनीहरूले कीर्तिपुर घेरे। मन्त्रेर दिइएको तित्रो सहरभित्र घुसाउन खोजियो। कीर्तिपुरतिरबाट ‘हा...हा...’ भन्दै होहल्ला भयो। तित्रोलाई भित्रै अड्याएर राख्न गोरखालीहरूले भर्‍याङ हाले। तर कीर्तिपुरको ढुङ्गा र काँडको आक्रमणले भर्‍याङ भाँचियो। त्यही आक्रमणमा सुरप्रतापको देब्रे आँखा फुट्यो। अन्तत : गोरखालीहरू युद्ध हारेर फर्के। भगवन्तनाथको मन्त्र र बालकृष्ण जैसीको साइतले काम गरेन। यो ऐतिहासिक तथ्य ‘प्राचीन नेपाल’को सङ्ख्या २२ (माघ २०२९ :१७)मा पढ्न पाइन्छ। 

पश्चिम हात लिन योगीको उपयोग

पृथ्वीनारायण शाह गोरखा र काठमाडौँ उपत्यका वरपरका राज्यहरूमा आधिपत्य जमाउँदै पूर्वतिर बढ्न चाहन्थे। तर यसका लागि पश्चिम र खासगरी चौबिसीका कतिपय शक्तिशाली राज्यलाई थाम्दै गर्न पृथ्वीनारायण शाहले उनीहरूसँग मित्रसम्बन्ध कायम गर्नु उचित देखेका थिए। यसका लागि बनारस यात्राकै बेला जाजरकोटका राजा हरि शाहसँग उनले धर्मपत्र गरिसकेका थिए। योगी भगवन्तनाथले पृथ्वीनारायण शाहको विश्वास जितिरहेका बेला जाजरकोटमा हरि शाहका छोरा गजेन्द्र शाह राजा थिए। सल्यानी राजासँग पनि मित्रसम्बन्ध राख्नुपर्ने आवश्यकता बोध गरी यस काममा सल्यानकै योगी भगवन्तनाथबाट सहयोग मिल्ने आशा पृथ्वीनारायण शाहले राखेको आचार्य (उही :३०२)ले उल्लेख गरेका छन्।

यी योगीलाई पृथ्वीनारायण शाहले ‘श्री ६’ को सम्मान दिएका छन्। योगी नरहरिनाथद्वारा सम्पादित ‘इतिहास प्रकाशमा भाग १’ (२०२२ :६–७) मा १८३० मा गोरखाली सेनाले माझकिरातमा पुर्‍याएको क्षति र विजयबारे पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई जाहेर गरेका छन्। यसमा योगीका आशीर्वादले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख छ।
पृथ्वीनारायण शाहले योगी भगवन्तनाथलाई लेखेको पत्रमध्ये वि.सं. १८३१ भाद्र सुदी ६ रोज ६ मा लेखेको पत्रमा ‘उप्रान्त पूर्वका काजलाई तरबार गुहुम बक्सी पठायाथ्यो किरातको अम्बल मधेश पहाड भोट जति थियो आफ्ना आशीर्वादले फत्ते भयो’ भन्ने जानकारी दिएका छन्।

पत्रमा ‘उप्रान्त जुमला जाजरकोट संग घा गन्र्या मिठास बहुत राख्न्या भनि हुकुम आयेछ वडिया एक जोल्या मानिस हाम्रा यताबाट जुमला गयाका थिया आठ दश मानिस जुमला जान्छन् तैयार भै रह्याका छन्...’ भन्ने परेबाट योगी भगवन्तनाथले पृथ्वीनारायण शाहलाई जुम्ला र जाजरकोटसँग मीठो मसिनो गर्दै सन्धि गर्नु भन्ने सल्लाह दिँदै गरेको पनि बुझ्न सकिन्छ। यसका लागि जुम्लासँग आफूहरूको कुराकानी भइरहेको, जाजरकोट, सल्यान र प्यूठानमा पनि आफ्ना मानिसहरू आउने जस्ता जानकारी पनि पृथ्वीनारायण शाहले दिएका छन्। 
सल्यानका राजा श्रीकृष्ण शाहलाई त योगी भगवन्तनाथकै प्रस्तावमा पृथ्वीनारायण शाहले सम्धी नै बनाए। आचार्य (उही :३०७)अनुसार पृथ्वीनारायण शाहले सल्यानी युवराज रणभीम शाहलाई नुवाकोट झिकाएर आफ्नी एक मात्र छोरी मैया विलासकुमारीको वि.सं. १८२३ वैशाखमा विवाह गरिदिए। त्रिशूलगण्डकी दायाँ किनारमा परेको तारुका गाउँ छोरीज्वाइँलाई उनले दाइजो दिए।

यसरी पृथ्वीनारायण शाहले चौबिसीका सल्यान र जाजरकोटजस्ता बलिया राज्यसँगको सम्बन्ध बलियो बनाउनुमा योगी भगवन्तनाथको सहयोग निक्कै महत्वपूर्ण रहेको थियो। 
पृथ्वीनारायण शाहको मृत्युपछि उनका बहादुर शाहले चौबिसी राज्यका कतिपय राज्यलाई लडाइँका बलले र केही राज्यलाई साइनोसम्बन्धको भरले नेपाल राज्यमा गाभ्ने काम सफलतासाथ सम्पन्न गरे।

‘पूर्णिमा’ पूर्णाङ्क २७ (२०२९ माघ :१७०) अनुसार वि.सं. १८४३ असोज १८ गते गोरखाली सैन्यले प्यूठान कब्जा गर्‍यो। यस्तै बहादुर शाहले जुम्ला कब्जा गर्न काठमाडौँबाट पठाएको काजी शिवनारायण खत्री र सरदार प्रवल रानाको नेतृत्वको गोरखाली सैन्यले वि.सं. १८४६ को महानवमीमा जुम्लाको राजधानी हमला गरिदिँदा त्यहाँका राजा चक्रसुदर्शनलाई लिएर उनका काका शोभन शाह हुम्ला भागेको ‘पूर्णिमा’ पूर्णांक ६१ (२०४१ फागुन :२५)मा उल्लेख छ।

बहादुर शाहको निर्देशनअनुसार गोरखाली सैन्य नायकहरूले पर्वत, इस्मा र बागलुङ जित्दै भेरी नदीसम्म साँध लगाएपछि चौबिसी आफूले विजय गरेको साना ठूला रिसायत त्यहाँका केही राजाहरूलाई सौगातस्वरूप बाँडियो। रणबहादुर शाहको हातबाट वि.सं. १८४३ को फागुनमा यस्तो कार्य भएको ‘पूर्णिमा’ पूर्णांक ६० (२०४१ माघ  :४०–४१)मा उल्लेख छ।
यसरी सौगात पाउनेमा पाल्पा, जाजरकोट र सल्यान प्रमुख छन्। पाल्पा बहादुर शाहको ससुराली, पृथ्वीनारायण शाह र राजा हरि शाहबीच बनारसमै धर्मपत्र भएको राज्य जाजरकोट र पृथ्वीनाराण शाहले युवराजलाई छोरी दिएको राज्य सल्यान प्रमुख छन्। तर यी राज्यले साना ठूला रिसायत पाए पनि यी राज्यमा गोरखाली कम्पनी रहने भयो। यी राज्य सजिलै गोरखाली साम्राज्यको आश्रयमा आइपुगे।

तर आश्रित राज्यमध्ये सल्यान र पाल्पा भीमसेन थापाले अपमानपूर्वक नेपाल राज्यमा गाभे। तीमध्ये रणबहादुर शाह बनारसबाट फर्केपछि पाल्पाली राजा पृथ्वीपाल सेनसमक्ष उनकी बहिनी विवाह गर्ने प्रस्ताव पठाए। राजाले आफ्नी बहिनीका साथ भाइ रणबहादुर सेनलाई पठाए। तर रणबहादुर शाहले कन्यादानका लागि पृथ्वीपाललाई नै काठमाडौँ बोलाए। उनी काठमाडौँ उत्रनासाथ पक्रेर पाटन दरबारमा कैद गरेको इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ :५८)मा पढ्न पाइन्छ। नेपाल (उही :६३)अनुसार रणबहादुर शाहको हत्यापछि उनले दरबारका चौतारा, भारदारहरू तथा उनीहरूको नाबालक छोराहरूको कत्लेआम गरे। तर घटनामा निरपराध दुई वर्षदेखि पाटन दरबारमा थुनामा रहेका पाल्पाली राजा र उनका भाइ रणबहादुर सेनलाई भण्डारखालमा बोलाएर कटाइदिए।

यता आफ्ना भदा रणबहादुर शाहको हत्या भएको खबर पाई सल्यानकी रानी विलासकुमारी कान्छा छोरालाई च्यापेर दौडादौड गरेर काठमाडौँ आइपुगिन्। उनको मुखबाट गुपचुप रहेको हल्ला ‘रणबहादुर शाहको हत्यामा भीमसेन थापाको हात रहेको’ अचानक फुत्कियो। त्यसपछि भीमसेन थापाले उनलाई सल्यानको फलाबाङ भन्ने ठाउँमा बस्न वार्षिक १४ सय रुपैयाँ भत्ता तोकेर राजधानीबाट धपाए। सल्यानका राजा रणभीम शाह राज्यच्यूत भए, उनका जेठा छोरा नवाव वजिरको शरणमा पुगे भनी इतिहासकार त्रिरत्न मानन्धरले ह्यामिल्टन र बाबुराम आचार्यलाई पादटिप्पणीमा राख्दै ‘सिनास जर्नल’को वर्ष ११ अंक २ (२०४१ वैशाख :८५–८६)मा उल्लेख गरेका छन्।

जोगी पाल्न गरिबलाई कर

यसरी चौबिसी राज्यलाई गोरखालीको हातमा पार्न योगी भगवन्तनाथले महत्वपूर्ण भूमिका निर्वाह गरेको गुणलाई पृथ्वीनारायण शाहपछिका उत्तराधिकारीले भुलेनन्। ती उत्तराधिकारीमध्ये प्रतापसिंह शाहले अति सीमान्तीकृत र गरिब समुदायको थाप्लोमा योगी भगवन्तनाथको जोगी मण्डललाई पाल्नुपर्ने उत्तरदायित्व सुम्पिदिए।

‘पूर्णिमा’को पूर्णाङ्क १७ (२०२५ वैशाख–असार :३४–३५)मा इतिहासकार दिनेशराज पन्तले ‘वि.सं. १८३२ देखि वि.सं. १८५८ सम्मको नेपालको इतिहासमा नयाँ प्रकाश आउने केही पत्रहरू’ शीर्षकमा प्रकाशमा ल्याएको पत्रमध्ये एकमा योगी भगवन्तनाथ जोगी मण्डलका लागि घरैपिच्छेले एक–एक आनाका दरले दस्तुर दिनुपर्ने आदेश जारी गरिएको छ।

१४ विभिन्न जातिका नाममा तत्कालीन राजा प्रतापसिंह शाहले यस्तो आदेश जारी गरेका छन्। ती जातिमा माझी, कुमाल, दरै, दनुवार, नेवार–कुमाल, कुसले, थारू, ज्वलाहा, पहरी, कुसहरि, थामी, हायु, सुनुवार र चेपाङ छन्। लालमोहरमा उनीहरूलाई उमराव, द्वारे र अमलिदारमार्फत जोगी मण्डलका लागि हरेक घरबाट एक एक आना दस्तुर दिन भनिएको छ। यस्तै साँझबिहान खान दिनुपर्ने, अपुताली खान पाइने र दस्तुर संकलनमा छेकथुन गर्नेलाई कारबाही गर्ने चेतावनी पनि ती जातिलाई दिइएको छ।
पत्रको व्यहोरा यस्तो छ  :

स्वस्तिश्रीगिरिराजचक्रचुडामणिनरनारायणयेत्यादिविविधविरुधावलिविराजमानमानोन्नतश्रीमन्महाराजधिराजश्रीश्रीश्रीमहाराजेप्रतापसिंहसाहबहादुर्समसजङदेवानांसदासमगरविजयीनाम्
आगे श्री गोसाइ भगवंतनाथजिके हाम्रो मूलुकभरिको जोगिको मंडलाई चहांइउं. हाम्रा मुलुकभरिका उमरा द्वार्‍या अमलिदार सबैले माझि कुम्हाल दरैव दनुवार नेवार कुम्हाल कुसल्या थारु ज्वलाहा पहरि कुसहरि थामि हायु सुनुवार चेपांग एति जातिका घरहि एक एक आना दस्तुर लिनु. साज विहान षान दिनु. जागिका षत्छित् दंडकुंड मोरोअपुतालि महाषतछित् जोगिको टिको अम्वलिको एस हिसावले अमालिदारले तिराइ दिनु. वितलषका कुरियामाहा पनि तिराइदिनु. जो छेकथुन गर्ला. सो अप्सरिया होला. इति संवत १८३३ साल अगहन शुदि ८ रोज ४ कांतिपुर शुभम्

इतिहासकार पन्तले यो पत्रको मिति निर्धारण गर्दै वि.सं. १८३३ पुस ७ गते जारी भएको उल्लेख गरेका छन्।
माथि उल्लेख गरिएका जातिहरू हाल आदिवासी जनजातिमा सूचीकृत जाति हुन्। तीमध्ये प्राय : सबै अहिले पनि सीमान्तीकृत र गरिब अवस्थामा छन्। जोगी पाल्नुपर्ने दायित्व आइलागेको समय उनीहरूको अवस्था झन् कस्तो थियो होला ?
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.