क्याबात लिभरपुल !
काठमाडाैँ : समग्रमा साल २०१९/२० इङ्लिस फुटबल क्लव लिभरपुलका लागि सुखद रह्यो । ३ दशक लामो अन्तरालपछि गत साता घरेलु लिग विजेता बन्न सफल भएको लिभरपुलले लामो समय निरासमा रहेका आफ्ना समर्थक र फुटबलप्रेमीलाई कोभिड १९ को महामारीका बीच खुसी दिने काम गर्यो ।
विगत केही वर्षयता लिभरपुलले गरेको कमब्याकले पनि यसका कटु आलोचकलाई मुक्तकण्ठले प्रशंसा गर्न बाध्य बनायो । सत्तरी र असीको दशकमा घरेलु तथा युरोपेली फुटबल प्रतियोगितामा दबदबा राख्न सफल यो ऐतिहासिक क्लव आफैंमा फुटबलको विश्वविद्यालय हो भन्दा फरक नपर्ला । आधुनिक लिभरपुलको सफलताको श्रेय क्लवका मुख्य प्रशिक्षकका रुपमा सन् १९५९ देखि १९७४ जिम्मेवारी सम्हालेका विलियम ‘बिल’ स्याक्लीलाई जान्छ । स्कटल्यान्डमा जन्मिएर इङ्यान्डलाई कर्मभूमि बनाएका उनले आफ्नो कार्यकालमा ओरालो लागेको क्लवलाई प्रथम डिभिजनमा बढुवा गरी ७५३ खेलमध्ये ३९३ मा जित दिलाएका थिए । उनको लोकप्रिय भनाइ ‘फुटबल इज म्याटर अफ लाइफ एण्ड डेथ, आई डोन्ट लाइक द्याट याटिट्यूड, आई क्यान अस्योर यु, इट ईज मोर देन द्याट’ ले पनि उनको फुटबलप्रतिको मोह, त्याग र समर्पणलाई देखाउँछ ।
यीनको कार्यकालमा लिभरपुल तीन पटक घरेलु लिग विजेता, दुई पटक एभ ए कप विजेता, चार पटक च्यारिटी सिल्ड बिजेता बन्न सफल भएको थियो । स्याक्लीकै पालामा लिभरपुलले लोकप्रिय ‘युवील नेभर वाकअलोन’ आप्mनो क्लवको मुख्य गान बनाएको थियो । वास्तबमा स्याक्ली लिभरपुल फुटबल क्लबकै लागि जन्मिएको भान हन्छ । यीनकै छत्रछाँया हुर्र्केका खेलाडीहरु केनी डाग्लिस, बब पेइसली, केभिन किगन, इयान रसहरु क्लबका लिजेन्ड बन्न सफल भए ।
त्यसो त, क्लबका पछिल्ला सफल पुस्ताका रुपमा माइकल ओवेन, स्टेफन जेरार्ड, रबी फाउलर, जेमी कारागारहरु पर्छन् । सन् नब्बेको दशकमा भने लिभरपुल क्लव र यसका समर्थकका लागि त्यति सुखद हुन सकेन । सन् १९८९ अप्रिल १५ को दिन लिभरपुल फुटबल क्लवका लागि कालो दिन मानिन्छ जसलाई ‘हिल्सबोरो डिजास्टर’ भनिन्छ । सेफिल्डको हिल्सबोरो स्टेडियममा लिभरपुुल र नटिङगम फरेस्टका बीच भएकको सेमी फाइनलको म्याच दौरान दर्शकको हुल नियन्त्रण गर्न नसक्दा भागदौडमा किचिएर ९६ जना लिभरपुल समर्थकको ज्यान जानुका साथै ७ सय ६६ जना घाइते भएका थिए । बेलायती खेल इतिहासमा हिल्सबोरो डिजास्टर एक अकल्पनिय दुर्घटना मानिन्छ ।
संयोगको कुरा के भने, यो सिजन लिभरपुलले लिग जित्दा ९६ अंक नै बटुलेको छ । लिभरपुलका केही कट्टर समर्थक यो संयोग नभएर मारिएका ९६ प्रति दैवले जुराएको श्रद्धाञ्जली भन्ने गर्छन् । गत सिजन उपविजेताका रुपमा चित्त बुझाएको लिभरपुलले यो सिजनमा भने उत्कष्ट खेल शैली पस्कँदै व्यक्तिगत १९औं पटक लिग विजेता बन्न सफल भयो । स्मरणीय के छ भने, उसले युरोपेली क्लव फुटबलको चर्चित प्रतियोगिता च्याम्पियन्स लिगसमेत ६ पटक जितिसकेको छ ।
वर्तमान पुस्ताको प्रतिनिधित्व भने योर्गेन क्लपले गरिरहेका छन् । जर्मनीका पूर्व व्यवसायिक खेलाडी तथा प्रशिक्षक क्लोपले सन् २०१५ मा क्लव सम्हालेयता सफलताको शिखर चुमाउँदै पुरानै लयमा फर्काउने उनको कोसिस जारी छ । उनी क्लवमा आएसँगै केही पुराना र केही नयाँ खेलाडी अनुबन्ध गरी खेल शैलीलाई उत्कष्ट लयमा फर्काउने काम गरे । आक्रमक खेल शैलीसँगै युवा र जागरिला खेलाडीको बाहुल्य रहेको क्लवमा लियोनेल मेस्सी, नेइमार र क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार नभए पनि मोहम्मद सलाह, रोबर्टो फिर्मिनो, सादियो माने, जोर्डन, फाबिन्हो, हेन्डरसन, रोबर्टसन, अलेक्जान्डर आर्नोल्ड जस्ता लगनशील र मिहिनेती खेलाडी छन् ।
आफू क्लवमा आएपछि क्लोपले दुई तीन वटा महत्वपूर्ण काम गरे । व्यतिmगत खेलमा भन्दा पनि टीम वर्कमा जोड दिए । लिभरपुलको कमजोर मानिएको गोलकिपीङ र डिफेन्सलाई सशक्त बनाउने काम गरे । उनले घरेलु क्लव सन्डरल्याण्डबाट भर्जिल भ्यान डाइक र इटालियन क्लव एएस रोमाबाट किर्तिमानी रकम तिरेर ब्राजिलियन गोलकिपर आलिसन बेकरलाई क्लवमा अनुबन्ध गरे । नभन्दै क्लोपले गरेको यो निर्णय सफल भयो र यी खेलाडीको आगमनसँगै लिभरपुलले आफ्नो खेल सुधा¥यो । केही समयमा नै महत्वपूर्ण ट्रफि उचाल्न सफल भइहाल्यो । लिभरपुलको यो सफलता पछाडि योर्गेन क्लोपको ठूलो योगदान छ । क्लोप खेलाडीको मनोविज्ञान बुझ्ने र उनीहरुलाई सही उत्पे्ररणा दिएर उत्कृष्ट नतिजा निकाल्न सक्ने कुशल प्रशिक्षक मानिन्छन् । उनमा पनि उनै बिल स्याक्ली जस्तै खेलप्रति लगाव र रोमान्च छ । कतिले त यिनलाई तिनै महान् स्याक्लीकै दर्जामा राख्न थालिसकेका छन् । हुन त क्लोपले लिभरपुलको नेतृत्व सम्हालेयता २ सय ६४ ओटा सबै खाले प्रतियोगिता मध्ये १ सय ५९ मा जित निकाल्यो ।
गत वर्षको लिग उपविजेता, यस वर्षको लिग विजेता, गत वर्षको च्याम्पियन्स लिग बिजेता, युरोपेली सुपर कप, फिफा क्लव वल्ड कपको विजेता बनिसकेको छ । क्लव सम्हालेको छोटो समयमा नै महत्वपूर्ण प्रतियोगिता जित्नु चानचुने कुरा होइन । लिभरपुल क्लव आफैंमा एक इतिहास भएकाले स्याक्ली र क्लोप जस्ता प्रशिक्षक पाउनु अर्को ऐतिहासिक घटना नै मान्नुपर्छ । क्लोपले लिभरपलको खेल शैलीलाई ‘हेभी मेटल फुटबल’ भन्ने गर्छन् । हुन पनि हेभी मेटल संगित जस्तो गति, आक्रोश तथा दर्शकलाई कायल बनाउने खालको सांगीतिक उर्जा लिभरपुलको खेलमा पनि हेर्न सकिन्छ । वर्तमान फुटबलमा शारीरिक बल, गति, फिटनेस, कन्सिस्टेन्सी, टिमवर्क र ट्याक्टिसलाई महत्वपूर्ण हिस्सा मानिन्छ । यी गुण आधुनिक फुटबलका सफलताका सूत्र हुन् । यस्तो गुण भएकै कारणले पनि लिभरपुल सफल हुन सकेको कुरा नकार्न सकिँदैन । क्लोपले पनि धेरै पटक असफल बनेको लिभरपुलको पासा पल्टाएर रोमान्चक तरिकाले महत्वपूर्ण खेल जिताएर आफूलाई निडर र अब्बल प्रशिक्षकका रुपमा विश्व फुटबलमा स्थापित गरिसकेका छन् । अरु फुटबल क्लवका लागि पनि लिभरपुलको खेल शैली उदाहरणीय भएको छ ।
विगतमा हरेक व्यावसायिक युवा खेलाडीको चाहना रियल म्याड्रिड, बार्सिलोना, म्यान्चेस्टर युनाइटेड, युभेन्टस जाने हुन्थ्यो भने अबको ध्यान लिभरपुलको रातो जर्सीतर्फ मोडिएको छ । लिभरपुल क्लवको सफलता व्यक्तिगत जीवनमा पनि सार्थक हुन्छ । धैर्यता र कडा परिश्रम नै सफलताको वास्तविक सूत्र हन् । व्यक्तिगत ट्यालेन्सी र पैसाले मान्छेलाई सफल बनाउन सहयोग गर्ला तर सफल बन्ने ग्यारेन्टी गर्न सक्दैन । त्यसैगरी ठूलो धनराशी खर्च गरेर मात्र एउटा क्लव सफल हुँदैन । क्लवसँग आवद्ध सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । प्रत्येक सदस्यमा मैले केही योगदान गर्नै पर्छ भन्ने भावना जागृत हुनुपर्छ तब मात्र त्यो क्लब सफल हुन सक्छ । यही फुटबल फिलोसोफी अंगालेको लिभरपुललाई आउँदा दिनमा पनि सफलता मिलोस् ।