देशकै ठूलो चिनी मिल बन्द
गौर : गरुडामा रहेको देशकै ठूलो चिनीमिल बन्द भएको छ। रौतहट जिल्लाको मध्यभागमा रहेको सो उद्योगमा सयौं मानिस काम गर्थे। हजारौंको पेट पालिएको थियो। उखु पेल्ने सिजनमा गरुडामा ठूलै चहलपहल हुन्थ्यो। एक हिसाबले रौतहटको परिचय श्रीराम सुगर मिलले दिँदै आएको थियो।
पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरबाट करिब २० किलोमिटर दक्षिण गरुडा बजारमा रहेको उद्योग केही वर्षदेखि सुनसान छ। रौतहटको श्रीराम सुगर मिल व्यवस्थापन पक्षले सधैंका लागि बन्द गर्ने निर्णय गरेको छ। चिनीमिल व्यवस्थापनले साउन ११ गते सूचना निकालेर मिल पूर्णरूपमा बन्द गर्न लागेको जनाएको हो।
२०५१ सालमा स्थापना भएको चिनीमिल देशकै धेरै चिनी उत्पादन गर्ने उद्योगको रूपमा परिचित थियो। दुई अर्बभन्दा बढी रकम घाटा भएपछि मिल बन्द गर्न बाध्य भएको सञ्चालकको भनाइ छ। गत वर्ष नै उद्योग बन्द गर्न लागेकोमा किसान तथा सरोकारवाला पक्षले मिल सञ्चालन गर्न दबाव दिएपछि १३ दिन मिल सञ्चालन भएको थियो।
दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएको मिल बन्द भएको हो। १० वर्ष अघिसम्म सो मिलले २० हजार क्विन्टल उखु क्रसिङ गर्दै आएको थियो। मिल सञ्चालन गर्न व्यवस्थापन पक्षले धेरै प्रयास गरेको तर हरेक वर्ष करोडौं घाटा हुँदै आएको, श्रमिक, कर्मचारीलाई तलब भत्ता दिन नसकेको लगायत कारण देखाउँदै मिल बन्द गर्न लागेको सूचनामा उल्लेख छ।
पछिल्ला वर्षमा किसानको रकम भुक्तानी गर्न नसेकेपछि मिल सञ्चालक र किसान बिच चिनीमिलले किसानलाई मात्रै तीन वर्ष अघिदेखिको ४१ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ। श्रमिक तथा कर्मचारीको पनि लाखौं रुपैयाँ बाँकी रहेको जनाइएको छ।
भुक्तानी गर्न बाँकी रकम उद्योगको चल अचल सम्पती बिक्री गरेर भुक्तान गर्ने सूचनामा जनाइएको छ। बिक्रीका लागि सरकारसँग आवश्यक प्रक्रियासमेत सुरु गरिएको जनाइएको छ। दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँले उद्योग घाटामा रहेको जनाइएको छ।
मिल २०६३ सालदेखि घाटामा चल्दै आएको व्यवस्थापनले जनाएको छ। गत वर्षसम्म उद्योगमा तीन सय ९५ पूर्णकालीन कर्मचारी थिए। करिब ७५ बिघा क्षेत्रफलमा उद्योग छ।
रौतहटमा करिब ८ हजार बिघामा करिब १४ लाख क्विन्टल उखु उत्पादन हुने गरेको उखु उत्पादक संघले जनाएको छ। सो मिलमा बारा, सर्लाहीका किसानले पनि उखु बिक्री गर्ने गरेका थिए।
उखु उत्पादक संघ रौतहटले विज्ञप्ति निकालेर कुनै पनि पक्षमा उद्योग बन्द हुन नदिने र संघ उद्योग सञ्चालनको पक्षमा रहेको जनाउँदै सो उद्योग बन्द हुँदा हजारौं किसान तथा सयौं कर्मचारी पीडित हुने जनाइएको छ।
यस्तै चिनीमिल समग्र उद्योग ट्रेड युनियन नेपालले कुनै छलफल नगरी एकतर्फीरूपमा व्यवस्थापन पक्षले किसान, मजदुर, कर्मचारीको १५ महिना देखिको सेवा सुविधा बाँकी रहेकोप्रति युनियनले ध्यानाकर्षण गराएको छ।
गरुडा नगरपालिकाले पनि उद्योग बन्द गर्न लागेकोप्रति चिन्ता व्यक्त गरेको छ। सोमवार एक विज्ञप्ति निकाल्दै गरुडाका मेयर इन्नुराय यादवले उद्योग सञ्चालनका लागि प्रदेश तथा केन्द्र सरकार संग अपेक्षा राखेको समेत उल्लेख गरेका छन्।
किसानको बाँकी रकम तत्काल भुक्तानीका लागि प्रक्रिया सुरु नभए कडा आन्दोलन गर्ने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिए।
मिलमा भएका व्यवस्थापनका कर्मचारीले शनिबार नै उद्योग छोडेका छन्।
प्रतिक्रिया दिनुहोस !