एकै वडामा १४ योजना, असारमै सकियो अढाइ करोड
ओखलढुंगा : सिद्धिचरण नगरपालिकाको ४ नं. वडामा पर्ने रुम्जाटार समथर रुपमा फैलिएको एउटै गाउँ हो। यहाँका गाउँले असार महिनाभर विकासको कामले व्यस्त रहे। विगत झैं यसवर्ष पनि आर्थिक वर्षको अन्त्यमा बजेट पाएपछि काम सक्ने चटारो स्थानीयलाई पर्यो।
त्यसमाथि एकै टोलमा १४ वटा उपभोक्ता समिति गठन गरेर योजना सम्झौता गरिएपछि उपभोक्ताको रुपमा काम गर्न प्रायः सबै घरधुरीका उपभोक्ताले भ्याए। रोचक कुरा चाहीं सबै योजना सडक स्तरोन्नति शीर्षकमा थियो। तर काम भने सिंढी बनाउनेदेखि, गल्लीमा सोलिङ गर्ने र माटो बिछ्याउनेसम्मका थिए। यी सबैलाई गोलमटोल सडक स्तरोन्नति नाम दिइएको हो।
जेठको २६ र २७ गते सम्झौता भएका योजना असारको २५ भित्र सम्पन्न गर्ने म्याद थियो। सोही म्यादमा सबैले योजना सम्पन्न गरे। तर काम गुणस्तरीय नभएको गुनासो छ। १४ वटा सडक स्तरोन्नतिमा २ करोड ३० लाख ४० हजार बजेट विनियोजन भएको थियो।
‘साँच्चै इमानदारीका साथ इस्टिमेट अनुसारको काम प्राविधिक राखेर नापजाँच गरी मूल्यांकन गर्ने हो भने एक करोडभन्दा बढीको काम भएको छैन’, निर्माण व्यवसायीसमेत रहेका रुम्जाटारकै एक स्थानीयले भने, ‘तर दुई करोडभन्दा बढी पैसा सकिएको छ। बजेट आउनु राम्रो हो, तर सदुपयोग हुन सकेन।’
सोलिङ कति ठाउँमा भत्किन थालेको छ भने कतै सिंढी पुराना पर्खालमा सिमेन्ट लगाएर बनाइएको छ। सोलिङ भनेर मापदण्डबिना नै जथाभावी ढुंगा बिच्याइएको छ। त्यसरी राखिएका ढुंगा ट्याक्टर चलाउँला उप्किन थालेका छन्।
योजनाहरु ९ लाख ६० हजारदेखि २८ लाख ८० हजारसम्मका थिए। केही योजनाहरु उपभोक्ताले गुणस्तरीय निर्माण गरे पनि धेरैजसोले आँखाको छारो हाल्ने काम मात्र गरेको स्थानीयको भनाइ छ। अझ उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता मात्र राखेको गुनासो छ। नेकपा बाहेकका अन्य पार्टीमा आबद्धलाई समितिमा नराखेको कांग्रेसका एक कार्यकर्ताले बताए। उनले कांग्रेस आबद्ध हो भन्ने थाहा भएपछि गठन गरिएको समितिबाटै खोजीखोजी हटाएर नेकपाकै कार्यकर्ता राखेको आरोप लगाए।
‘पुरानै पर्खालमाथि ढुंगा जोडेर माथिबाट सिमेन्टले लिपे जस्तो गरेर काम सकेका छन्’, नाम उल्लेख नगर्ने शर्तमा एक युवाले भने, ‘प्राविधिक र उपभोक्ता समितिको मात्र मिलेमतो भए त हुन्थ्यो। यहाँ त प्रत्येक जसो घरका सदस्यको संलग्नता भएकोले कोही बोल्न नसक्ने अवस्था छ।’
समय अभाव हुँदा गुणस्तीय भएन
उपभोक्ता समितिका पदाधिकारीहरु पनि हतारमा काम गर्दा भनेजस्तो निर्माण गर्न नसकेको स्वीकार्छन्। ‘हतारमा काम गर्दा केही न केही असर त परेकै छ। भनेजसरी काम गर्न अलि गाह्रो भयो’, गुरुधाम चोकदेखि ठुलढिक जाने सडक स्तरोन्नति उपभोक्ता समितिका सचिव दिपेश श्रेष्ठले भने, ‘अलि समय पाएको भए पक्कै योभन्दा गुणस्तरीय काम हुने थियो।’
यी सबै योजनाको बजेट, योजना सम्झौता र कार्यान्वयन पक्ष हेर्ने प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयले भने सोचेभन्दा राम्रो काम भएको दावी गरेको छ। ‘हामीले त यो एक महिनामा काम नै गर्न सक्दैनन् होला भन्ठानेका थियौं’, पूर्वाधार विकास कार्यालयका प्रमूख राजेश्वर महतोले भने, ‘तर काम मात्र समयमा सकेनन्। गुणस्तर पनि राम्रो देखियो।’
गुणस्तरीय काम नभएको भन्ने गुनासोमा उनले कुनै व्यक्तिको स्वार्थ अनुसारको काम नगर्दा आरोप मात्र लगाएको बताए। पूर्वाधार विकास कार्यालयले संचालन गरेको उपभोक्ता समिति अन्तर्गतको २२ वटा योजनामा १४ वटा रुम्जाटारमा मात्र छनौट भएका थिए। बाँकी ८ वटा योजना मात्र अन्य स्थानीय तहमा संचालित छन्। यस विषयमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्र लेखेको आधारमा ती योजना छनौट गरी संचालन गरेको प्रमुख महतोले बताए।
प्रदेश १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री रुम्जाटारकै स्थानीय भएकोले पनि बजेट रुम्जाटारलाई प्राथमिकता दिई विनियोजन गरेको आरोप अन्य स्थानीय तहका जनप्रतिनिधिको छ। समानुपातिक ढंगबाट नभइ विभेदपूर्ण तवरले बजेट विनियोजन गरेको आरोप उनीहरुको छ। यस विषयमा प्रदेश सभाका अर्थ समितिका सभापति मोहन खड्काले संसदमै बजेट विनियोजन समानुपातिक नभएको विषय उठाएका थिए।