पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

बेनी : धवलागिरी गाउँपालिका–६ मराङ ठुलोगाउँकी झकदेवी बिकलाई उज्यालो हुनेबित्तिकै खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउँछ। खानेपानी आयोजनाको मुहान, पाइप, ट्यांकी र धारामा पहिरोले क्षति पुर्‍याएपछि झकदेवीले कुवा र खोल्साको पानी खानुपरेको बताइन्। 

‘बिहानै उठेर एक, दुई घण्टा चाहारेर गाग्री, ग्यालिन, बोत्तलमा पानी नल्याए खाना पकाउन, चर्पी जान र गाईभैसीलाई खुवाउन पाइँदैन’, उनले भनिन्, ‘दुषित पानीले बिरामी परिएला भन्ने डर छ।’

मराङ, मालिका–७ बिम र बेनी–२ बगरफाँटमा खानेपानीको चरम समस्या देखिएको छ। पहिरोले मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा पिउने पानीको समस्या भएको बगरफाँटका कृष्ण थापाले बताए। पानीको मुहान, पाइपमा क्षति पुगेको अवस्थामा तत्काल नयाँ योजनासहित मर्मत गर्नुपर्ने मराङकी वडा सदस्य तिलकुमारी केसीले बताइन्। तत्काललाई खानेपानी शुद्धीकरण गर्ने पियुस वितरण गरिएको उनले बताइन्। 

घरका धारामा पानी आउन छोडेपछि सरसफाइ, शौचालय प्रयोग र लुगा धुन समस्या भएको छ। बिममा डेढ वर्ष अघि एक करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजना बगाएको छ। बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुँगेखोला मुहानको पानी २४० मिटरमाथि रहेको रिजर्भ ट्यांकीमा पुर्‍याएर करिब १ सय ५० घरधुरीलाई खानेपानी वितरण गरिएको थियो। बाइन्दफाँटको अर्को खानेपानी आयोजना पनि पहिरोले क्षतविक्षत बनाएको छ।  

पाइप ल्याएर पुरानो आयोजनाको संरचनाबाट खानेपानी आपुर्ति गराउन लागिएको बिमका वडा अध्यक्ष रेशम जुग्जालीले बताए। जिल्ला प्रशासन कार्यालयका अनुसार म्याग्दीमा पहिरोले घर भत्काउने, बगाउने, पुरिनुका साथै जोखिम भएर विस्थापित हुनेको घरधुरीको संख्या ७ सय ५८ छ। 

८८ वटा घरमा पूर्ण क्षति, ५ सय २९ घर उच्च जोखिम र १ सय ४१ परिवार जोखिमका कारण विस्थापित भएका सिडिओ ज्ञाननाथ ढकालले बताए। धवलागिरी गाउँपालिकाको मराङमा १९, मालिका गाउँपालिकाको बिममा ८, रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ र अन्नपूर्ण गाउँपालिकाको काभ्रेमा १ जनाको मृत्यु भएको छ। मराङ कल्लेनीका २, बिम, दुखु र काभ्रेमा १-१ जना बेपत्ता छन्। 

बेनी नगरपालिकामा मंगलाघाटको प्रहरी पोष्टसहित २० वटा घरमा पूर्ण क्षति, १९ घरमा आंशिक क्षति, १ सय ६ घर उच्च जोखिम र २३ परिवार विस्थापित भएका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताए। पहिरोबाट घरबारमा क्षति भएका ३२ परिवारलाई नगरपालिकाले गत असार महिना यता दश लाख सात हजार रुपैयाँ नगद र ३६ थान त्रिपाल वितरण गरेको छ। 

मराङको वडा कार्यालय, ताकम स्वास्थ्य चौकीको दुई वटा र ताकम माविको एउटा भवन पहिरोले भत्काएको छ। जुरुकुस र खोरीयामा निर्माणाधीन झोलुङ्गे पुलको सामान बगाएको छ। धारापानीको किसानी माविको भवन चर्किएर भत्किने अवस्थामा पुगेको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन्।  

बिमको नौमानेमा रहेको शिव आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको, खाराको बालशिक्षाको भवन भत्किएको र शिवरात्री खोलाको ट्रस पुल मराङखोलाको बाढीले बगाएको छ। देविस्थानमा एक झोलुङ्गे पुल र एक लघुजलविद्युत परियोजनाको संरचना पहिरोले बगाएको छ। अन्नपूर्णको काभ्रेमा १ चालु र १  निर्माणाधीन मोटरेबल पुल, १ होटेल, १ बस, १ एक्साभेटर, १ मन्दिर, १ ब्लक उद्योग रुप्सेखोलामा आएको बाढीले बगाएको छ। 

कालीगण्डकीको कटानका कारण दाना–गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ। रघुगंगा गाउँपालिकाको कुइनेमंगलेका विभिन्न ठाउँमा ४ वटा झोलुङ्गे पुल बाढीले बगाएको अध्यक्ष भबबहादुर भण्डारीले बताए। बेनी–जोमसोम सडक अन्तरगत गलेश्रमा रघुगंगा नदीमा आएको बाढीले भत्काएको बेलिब्रिज मर्मतको काम अन्तिम चरणमा पुगेको छ। 


सडक र पैदलमार्ग अवरुद्ध भएकाले पहिरो प्रभावित क्षेत्रमा महँगो खर्च गरेर हेलिकप्टर मार्फत खाद्यान्न लगायत राहत सामग्री ढुवानी गरिएको छ। पहिरोबाट घरबास गुमाएका र जोखिम भएर विस्थापित भएकालाई विद्यालय, आमा समूह, युवा क्लव, सामुदायिक भवन र टहरा बनाएर राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.