कोरोना कहर : बैतडीमा पालिका अनुसार सेवा
बैतडी : कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले बुधबारदेखि पालिका अनुसार सेवा दिन थालेको छ। जिल्लास्तरीय कोभिड कमान्ड पोष्टको बैठकले गरेको निर्णय अनुसार बुधबारदेखि पालिका अनुसार सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रहि नेगीले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिने सेवाहरु आइतबार, सोमबार र मंगलबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई प्रदान गरिनेछ ।
यस्तै बुधबार, बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।
पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रदान गरिने बताइएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गर्ने सेवाहरुलाई व्यवस्थित बनाउन र कोभिड १९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र वितरण, राहदानी वितरणलगायतका सेवाहरु दिने गरेको छ । 'कोरोना भाइरसको जोखिम न्यूनीकरण र यसबाट बच्नका लागि हामीले यस्तो निर्णय गरेका हौं, 'प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, 'कोरोना भाइरसबाट बच्नका लागि भीडभाड नहोस् भनेर हामीले पालिका अनुसार सेवा दिन थालेका छौं । नागरिकले पनि यसैगरी सतर्कता अपनाउन आवश्यक छ ।'
बैतडीका ३१९ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३ सयजना घर फर्किसकेका छन् भने १९ जना विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !