राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन सुरु
भैरहवा : रुपन्देहीमा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ ।बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको तथ्यांक संकलन गरेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शुभारम्भ भएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विवरण दर्ताका लागि कम्प्युटरलगायतका आवश्यक उपकरणहरु राखिएको जिल्ला प्रशासन कार्यालय रुपन्देही नागरिकता शाखाका नासु यज्ञ पोखरेलले जानकारी दिए ।
उनले नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जानकारी दिए । जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्य रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
'अनेकन परिचय पत्र (लाइसेन्स, प्यान कार्ड, विवाह दर्ता) अब बोक्नु पर्देन,' उनले भने, 'अब पाइने राष्ट्रिय परिचय पत्रमा यी सबै सबै परिचय पत्रमा उल्लेख गरिएका सबै विवरण हुन्छ ।'
राष्ट्रिय परिचय पत्र डिजिटल हुन्छ । राष्ट्रिय परिचय पत्रमा भएका विवरणहरु 'रिडेबल मेसिन' मार्फत हेर्न सकिन्छ ।आर्थिक वर्ष २०७७-७८ मा राष्ट्रिय परिचय पत्रका लागि एक करोड तथ्यांक संकलन गर्ने सरकारको लक्ष्य रहेको उनले जनाए । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित कर्मचारीलाई परिचयपत्र वितरण गरेको थियो ।
दोस्रो चरणमा १५ वटा जिल्ला तथा यसै आवमा बाँकी सबै जिल्लामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य सुरु हुने बताइएको छ ।