मध्यराती प्रहरी विटमा खोलो पस्यो
प्यूठान : प्यूठान नगरपालिका २ स्थित दाखाक्वाडीको अस्थायी प्रहरी विटमा मध्यराती खोलो पसेको छ । स्थानीय सिर्सेखोलाले प्रहरी बिटमा क्षति पुर्याएको इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) हरी बस्नेतले बताए ।
खोलाको भेल सिधैं भवनभित्र पसेको उनले बताए । राती साढे ११ बजे खोलो एक्कासी बढेर भवनभित्रै पसेको उनको भनाइ छ । त्यसपछि ड्यूटी सकिए पछिका प्रहरी पनि रातभर जाग्राम बसेको उनले बताए । खोला नजिकै निर्माण गरिएको अस्थायी प्रहरी विटको संरक्षणका लागि पटक -पटक खोलामा जाली लगाउन पहल गरेपनि नजिकैका छिमेकीको विरोधले गर्दा उक्त काम अघि बढ्न सकेको थिएन् ।
प्रहरी विटतर्फ जाली लगाउँदा आफूहरुको घरमा खोलो पस्ने भन्दै यसअघि जाली लगाउन स्थानीयले अवरोध गरेका थिए । दाखाक्वाडीमा डेढ वर्षअघि अस्थायी प्रहरी विट निर्माण गरिएको थियो । विटमा हाल सात जना प्रहरी कार्यरत छन् ।
अस्थायी प्रहरी विटलाई हालकै भवनदेखि नजिकै घर भाडामा लिएर व्यवस्थापन गर्ने तयारी भइरहेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिए । तारजाली लगाउनका लागि विनियोजन गरिएको ढाइ लाख रुपैयाँ स्थानीयबीच सहमती जुट्न नसक्दा खर्च नभएको समेत कक्षपतीले बताए ।