सरुवा भइ जिल्ला आउने प्रहरीमा धमाधम कोरोना संक्रमण
ओखलढुंगा : जिल्लामा सरुवा भइ आइने सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पाइएको छ। सरुवा भएर आउनेमध्ये नेपाल प्रहरीका ४ जनामा संक्रमण भेटिइसकेको छ।सोमबार मात्रै २ जना सरुवा आएका प्रहरीमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।
उनीहरुलाई जिल्लामै उपचार गर्ने तयारी गरिएको छ । त्यस्तै यसअघि सरुवा भएर आएका प्रहरी कर्मचारीका परिवारका सदस्यलाई समेत संक्रमण देखिएको थियो । यसरी संक्रमित हुने सरुवा भएर आउने प्रहरी कर्मचारी र तिनका परिवारका सदस्य रहेका छन् ।
सरुवा भएर विभिन्न ठाउँमा रहेका प्रहरीलाई प्रदेश तथा संघीय प्रहरी कार्यालयले जिल्लामा अनिवार्य हाजिर हुन खटाएपछि जिल्ला बाहिरबाट आउने प्रहरीको संख्या धेरै छ । उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखेर परीक्षणपछि मात्रै कार्यक्षेत्रमा खटाउने गरिएको प्रहरीको भनाइ छ ।
नागरिकको सुरक्षा तथा कोरोना संक्रमणको रोकथाममा अग्रभागमा खटिने प्रहरीलाई धमाधम संक्रमण देखिएपछि सरुवा भएका कर्मचारी तथा सुरक्षाकर्मी आवत जावतमा रोक लगाउनु पर्ने स्थानीयको भनाइ छ ।
सरुवा भएर आएकोमा मात्रै संक्रमण देखिइरहने र प्रहरी तथा कर्मचारी आवत जवावत्मा नरोकेर नागरिकको सुरक्षामाथि खेलबाड भएको नेकपामा नेता नेत्र भट्टराईले बताए । उनले यसरी आवत जापत् नरोक्नु प्रशासनको कमजोरी भएको आरोप लगाए ।
ओखलढुंगामा जिल्लान्तर आवत जावत् रोकिएको भए पनि पहुँचवाला सरकारी कर्मचारी र प्रदेशले खटाएका सुरक्षाकर्मी भने आउने जाने क्रम रोकिएको छैन । यसले जिल्लामा संक्रमण फैलने भन्दै सुरक्षाकर्मी र कर्मचारी आवत जावत् र सरुवा रोक्नु पर्ने नागरिक समाजका सञ्जय खत्री बताउँछन् ।
सुरक्षाकर्मी संक्रमित क्षेत्रबाट संक्रमण शून्य क्षेत्रमा खटाएपछि संक्रमण देखिएको विषयमा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले अहिले प्रहरी सरुवा नगरेको दावी गरे उनले भने, 'अहिले सरुवा भएका होइनन् पहिले नै भएका थिए । विभिन्न कारणले अड्किएकाहरुलाई अहिले काम गर्न समस्या भएकाले माग गरे अनुसार पठाइएका हुन् ।' सुरक्षा मापदण्ड पूरा गरेर मात्रै कार्यक्षेत्रमा खटाइने उनको भनाइ छ ।