ढुकुटीमा थुप्रियो विदेशी मुद्रा

ढुकुटीमा थुप्रियो विदेशी मुद्रा

काठमाडौं : लकडाउन सुरु भएयता विदेशी मुद्राको ढुकुटी चुलिन थालेको छ। विकास निर्माणका गतिविधि बन्द हुँदा आयात बढ्न नसकेको र विदेश जाने क्रम रोकिएका कारण विदेशी विनिमय सञ्चिति आकासिएको हो। नेपाल राष्ट्र बैंकले गत असार मसान्तमा मुलुकको विदेशी विनिमय सञ्चिति १४ खर्ब रुपैयाँ नाघेको बताएको छ। यो रकम ऐतिहासिक रूपमै धेरै हो। उक्त विदेशी विनिमयले १२ महिना २१ दिनको वस्तु र सेवा आयात धान्न सक्ने केन्द्रीय बैंकले बताएको छ।

यसअघि २०७२ मा भुकम्पपश्चात मुलुकको आयात खुम्चिने र विदेशी सहायता तथा रेमिट्यान्स बढ्दा झण्डै १५ महिनाको आयात धान्नसक्ने गरी सञ्चिति बढेको थियो। नेपाल राष्ट्र बैंकले दुई वर्षयता ७ महिनाको वस्तु र सेवा आयात थेग्ने गरी विदेशी विनिमयको जगेडा गर्ने नीति अघि सारेको छ। त्यसअघि ८ महिनालाई लक्ष्य गरिँदै आएको थियो।

निर्यातमुखी बलिया अर्थतन्त्रमा साधारणतया तीन महिना र आयातमुखी विकासोन्मुख अर्थतन्त्रमा ६ महिनाको वस्तु र सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चित हुनुलाई सबैभन्दा राम्रो मानिन्छ। विदेशी मुद्राको अभाव चर्किएमा मुलुकको आयात भुक्तानी क्षेमता नष्ट हुन्छ र औषधि, खाद्यान्न र इन्धनजस्ता अत्यावश्यक सामग्री पनि खरिद गर्न सकिन्न। तर, यसरी चाहिनेभन्दा ज्यादै बढी विदेशी मुद्रा सञ्चित हुनु पनि मुलुकको अर्थतन्त्रका लागि हानिकारक मानिन्छ। ‘यसरी पैसा थुप्रिनु भनेको मान्छेको शरीरमा बोसो लाग्नु जस्तै हो’, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘यसले दीर्घकालमा अर्थतन्त्रलाई रोगी बनाउँछ।’ तर, अहिले महामारीको विशेष कारणले पैसा थुप्रिएका कारण यसलाई सरकारको खर्च अक्षमतासँग तुलना गरिहाल्न नमिल्ने उनी बताउँछन्।

यसरी पैसा थुप्रिँदाको फाइदा के हो भने, विद्यमान संकट अर्थात् कोरोनाको खोप पत्ता लाग्नेवित्तिकै किन्न सक्ने क्षमता भने विकास भएको छ। त्यस्तै, कोरोना महामारीबाट मुक्ति मिल्नेवित्तिकै विकास निर्माणका काम अघि बढाउन एक पटक भारी मात्रामा आयात गर्न सक्ने क्षमता पनि तयार भइरहेको हुन्छ।

खर्च खुम्चिँदाको नतिजा

गत आर्थिक वर्ष कोरोना महामारीका कारण तीन महिना पूर्णतया लकडाउनमै वितेको थियो। निर्माणाधीन परियोजना स्थगित भएको, कैयौं सरकारी ठेक्का प्रक्रिया अघि बढ्नै नसकेको र औद्योगिक उत्पादनसमेत प्रभावित हुँदा नियमित दरमा आयात बढ्न सकेन। अघिल्लो वर्ष १४ प्रतिशत बढेको आयात गत वर्ष १५.६ प्रतिशत घटेको राष्ट्र बैंकले बताएको छ। निर्यात आम्दानी भने अघिल्लो वर्षभन्दा ०.६ प्रतिशत बढेको छ। गत वर्षको तुलनामा अमेरिकी डलर ११ रुपैयाँ १ पैसा महँगिएकाले पनि विदेशी विनिमय सञ्चितिमा लाभ पुगेको छ। जस्तोकी, अमेरिकी डलरको गणनामा ३.३ प्रतिशत घटेको रेमिट्यान्स नेपाली रुपैयाँमा हिसाब गर्दा ०.५ प्रतिशत बढेको छ। यो विनिमय दरको अवमूल्यन अर्थात् नेपाली पैसा सस्तो हुँदाको फाइदा हो। निर्यात बढेको देखिनुमा पनि मुद्रा अवमूल्यनको भूमिका छ।

त्यस्तै गत वर्ष हिँउद लाग्दालाग्दै सुनको भाउ आकासिँदा पनि राष्ट्रिय ढुकुटीमा विदेशी मुद्रा थपिन सहयोग पुग्यो। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा सुनको आयात ६०.६ प्रतिशत घटेको छ। अघिल्लो वर्ष ३४ अर्ब ६३ करोडको सुन आयात गरेको नेपालले गत आर्थिक वर्ष १३ अर्ब ६३ करोडको मात्रै सुन आयात गरेको थियो। यसले बिदेसिने पैसा रोकिएको छ। अघिकांश औद्योगिक कच्चा पदार्थको आयात घटेको छ। त्यस्तै उच्चशिक्षा, भ्रमण, स्वास्थ्योपचारजस्ता कारणले बिदेसिने नेपालीले अघिल्लो वर्ष झण्डै ९० अर्ब रुपैयाँ खर्चेका थिए। गत वर्ष भने कोरोना प्रकोप सुरुभएपछि यसरी बिदेसिने क्रम रोकियो। जसका कारण ५३ अर्बमात्रै बाहिरियो।

अमेरिकी डलर र सुनको मूल्यमा आएको भारी वृद्घिले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा र सुनमा गरेको लगानीको मूल्यांकन पनि चुलिएको छ। यस्ता कारणले पनि विदेशी मुद्राको ढुकुटी बढेको हो। अघिल्लो साल ६७ अर्ब घाटामा रहेको भुक्तानी सन्तुलन कोरोना महामारीमा रुमल्लिएको बेला भने दुई खर्ब ८२ अर्ब नाफामा देखिएको छ। यससँगै गत वर्ष मूल्य वृद्घि भने उच्च दरमा पुगेको छ। नाकाबन्दीपछि पहिलोपटक औसत मूल्य वृद्धिको दर सर्वाधिक ६.१५ प्रतिशत पुगेको राष्ट्र बैंकले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.