अस्पतालको ढोकाबाटै फर्काइन्छ बिरामी

अस्पतालको ढोकाबाटै फर्काइन्छ बिरामी

चितवन / हेटौंडा : उपचारका लागि निजी अस्पताल पुगेका बिरामीले सेवा नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन आइरहन्थ्यो। धेरैले अस्पतालको ढोकामा पुगेर फर्किनु परेको गुनासो गर्थे। तर केही दिनयता भने उनको मोबाइलमा यस्तो समस्या बताएर फोन गर्ने घटेका छन् ।

‘अस्पतालको ढोकैबाट फर्किनु परेको गुनासो गरेर कतिपयले फोन गर्थे’, प्रजिअ भट्टराई भन्छन्, ‘निजी अस्पताललाई पनि मनोबल उच्च बनाएर आवश्यक सतर्कता अपनाउँदै सेवाप्रवाहका लागि सहजिकरण गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालयमा बुधबार बैठक राखेर कडाइका साथ अस्पताललाई बिरामी नफर्काउन निर्देशन दिइएको उनले बताए। कोरोना त्रासका कारण अहिले पनि हत्तपत्त बिरामी भर्ना गर्न अस्पतालहरु मान्दैनन्। कतिपय अस्पतालले बिरामीलाई उपचारअघि पीसीआर परीक्षण रिपोर्ट ल्याउन भन्ने गरेकोसमेत पाइएको छ ।

पहिले अवस्था जे भए पनि अहिले अस्पताल सकारात्मक रेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताए। पहिला छुट्टै कोभिड अस्पताल हुनुपर्ने धारणा राखेका निजी अस्पताल संचालक सरकारको निर्णय पालनामा सहमत छन्। सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा दिनुपर्ने सरकारको निर्णय भने निजी अस्पतालले अझै कार्यान्वयन गरिसकेका छैनन् ।

निजी अस्पतालमा पर्याप्त साधन स्रोतको अभावमा चाहेर पनि काम गर्न नसकिएको निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले बताउँदै भने। ‘सरकारीमा काम गर्नेलाई सबै साधन स्रोत, भत्ताको सुविधा छ, हाम्रोमा त्यो छैन। स्वास्थ्यकर्मीको मनोबल उठाउन आवश्यक छ ।’

अस्पताल सुनसान, घरमै गयो बिरामीको ज्यान

मकवानपुरको बागमती गाउँपालिका–९ की संगीता लामा तामाङले सामान्य ज्वरोका कारण मृत्युवरण गरिन्। तीन सन्तानकी आमा ३४ वर्षीया तामाङ स्थानीय एक विद्यालयमा सहयोगीको रुपमा कार्यतर थिइन्। गाउँपालिकाको दुर्गम क्षेत्रको कुर्लेमा घर भएकी उनी महिला स्वास्थ्य स्वयं सेविकासमेत हुन्। ‘घरमा सिटामोल थियो, ज्वरो त हो नि भनेर त्यही खाइन्’, संगिताबारे सम्झँदै उनका श्रीमानले भने, ‘भोलिपल्टै त्यस्तो होला भनेर के थाहा? परिवारले दिएको जानकारी अनुसार उनलाई अघिल्लो दिन सामान्य ज्वरो आएको थियो। संगीताका दाजु भीमले भने, ‘कोरोना त्रासले हामी अस्पताल गएनौं। मेरी बहिनीको अकालमै ज्यान गयो ।’

बकैया गाउँपालिका–१० मन्थलीका एक युवकले पनि सामान्य ज्वरोकै कारण ज्यान गुमाउनु पर्‍यो। स्थानीय एक विद्यालयमा सहयोगीको रुपमा कार्यरत उनी सामान्य ज्वरो सम्झेर मेडिकल जान चाहेनन्। परिवार पनि उनकै कुरामा सहमत भए। ज्वरो आएको भनेर घरमै सामान्य उपचार गराइरहँदा ख्यालख्यालैमा उनको निधन भएको परिवारले बताएको छ। दुई सन्तानका बुवा ३७ वर्षीय ती युवकलाई सामान्य ज्वरोबाट बचाउन नसक्दा उनका परिवार तथा आफन्त पछुतो मानिरहेका छन् ।

जिल्लाको दुर्गम क्षेत्रमा रहेका यी बस्तीमा अस्पताल छैनन्। नजिकको मेडिकल पुग्न पनि हिँडेर कम्तीमा दुई घण्टा लाग्छ ।

संक्रमणको डरले बिरामी आफैं पनि सकेसम्म स्वास्थ्य केन्द्र जान चाहँदैनन्। जारी निषेधाज्ञाका कारण सवारी साधन अवरुद्ध हुँदा अस्पताल जान चाहनेलाई समेत समस्या छ। ज्वरोका बिरामी भनेपछि एम्बुलेन्सले समेत बोक्नै नमान्ने गुनासो जनस्तरबाट आउने गरेको छ ।

मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिमा थपिँदै जाँदा समुदायमा त्रास फैलिएको छ। संक्रमण जोखिम कम गर्न गत साउन अन्तिम सातादेखि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जोखिमयुक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। अन्य स्थानीय तहले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

अहिले हेटौंडाका अस्पतालमा अन्य समयको तुलनामा १० देखि २० प्रतिशत मात्र बिरामी आउने गरेको अस्पतालका बालरोग विशेषज्ञ हरिबहादुर खड्काले बताए। प्रायः बिरामीको चाप रहने हेटौंडा अस्पतालमा अहिले दैनिक १०÷१५ जनामात्र बिरामी आउने गरेको तथ्यांक छ। सामान्य समस्या भएका बिरामीलाई अस्पताल नआउन, सकेसम्म घरमै बसेर डाक्टरको सल्लाह लिन र समस्या अनुसार समय मिलाएर अस्पताल आउन अस्पतालले सूचना गरेको छ ।

स्वास्थ्यकर्मीका अनुसार कोरोना त्रासका कारण मानिसहरु सामान्य समस्या लिएर अस्पतालसम्म आउँदैनन्। सामाजिक सञ्जालमा जोडिएका सेवाग्राहीको सहजताका लागि फेसबुकमा आफ्नो सम्पर्क नम्बर राखिदिएको र धेरैले फोनबाटै सल्लाह लिने गरेको बालरोग विशेषज्ञ डा. खड्काले बताए। सामाजिक सञ्जालमा जोडिएका, सञ्चारको पहुँच भएका र आर्थिक रुपमा सम्पन्न मानिसलाई केही सहज भए पनि निषेधाज्ञाका कारण जिल्लाको दुर्गम क्षेत्रका विपन्न नागरिक स्वास्थ्य समस्या भोग्न बाध्य छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.