‘आत्मबल भए पच्‍ने रहेछ कोरोना’

‘आत्मबल भए पच्‍ने रहेछ कोरोना’

मोरङ : विराटनगर–६ की ९० वर्षीया मधुदेवी भट्टराईलाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी रोग छ। यहीबीच उनलाई कोरोना भाइरस संक्रमण भयो। घरमा सजगता अपनाउँदा–अपनाउँदै पनि कसरी भयो त संक्रमण ? सुरुमा उनका नाति सार्थकको पीसीआर रिपोर्ट पोजिटिभ देखियो। त्यसपछि बुहारी नीलम र मधुदेवीमा कोरोना देखियो। मधुदेवीलाई साउन १० गते विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरियो।

छोरा किरणकुमार भट्टराई पनि ४ दिनपछि कोरोना पोजिटिभ देखिए। नातिनी सृष्टिबाहेक परिवारका अरू सदस्यमा संक्रमण देखिँदा पीर लागे पनि यी वृद्धा हडबडाइनन्। अन्य रोगका औषधि नियमित सेवन गर्ने उनलाई अस्पताल जान एम्बुलेन्स चढ्दा भने फर्किएर नआइएला कि भन्ने लागेको रहेछ। तर, हिम्मत हारिनन्। बरु १० दिनमा कोरोनामुक्त भएर उनी घर फर्किइन्। उनी हाल घरमा पहिलेजस्तै सामान्य जीवनयापन गरिरहेकी छन्। यो उमेरमा कोरोनाबाट सहजै मुक्ति पाएर रोगलाई जित्न आत्मबल उच्च राख्नुपर्छ भन्ने उदाहरण दिएकी छन्। उनै वृद्धासँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी :

तपाईं कोरोनामुक्त भएर अस्पतालबाट फर्किनुभएको छ, स्वास्थ्य अवस्था अहिले कस्तो छ ?

ठिकै छ। पुरानो रोगको औषधि खाइरहेको छु। कोरोना संक्रमण देखिएपछि अस्पताल बसें। १० दिन अस्पताल बसेपछि डाक्टरले कोरोना जित्नुभयो भने। बुहारीले लिएर आइन्। पहिलेजस्तै छ। ठीक छु म।

तपाईंलाई कोरोना संक्रमण कसरी भएको थियो ?

म छोरा, बुहारी, नातिनातिनासँगै बस्छु। कोरोना फैलियो भनेपछि सचेत भएरै बसेका थियौं। नाति असार अन्तिम साता कान दुख्यो भनेर अस्पताल गयो। औषधि किन्न केही अस्पताल गयो–आयो। हामी अन्य कोही बाहिर हिँडडुल गर्दैनथ्यौं। औषधि लिएर आएको एक साता नबित्दै नातिलाई ज्वरो आयो। त्यसपछि बुहारीलाई पनि ज्वरो आयो। म र छोरालाई केही भएन। नातिनीलाई सामान्य रुघा लागिरहेको थियो, बाफ लिन्थिन्। बुहारीलाई अस्पताल लगेर चिकित्सकलाई देखायौं। नातिको ज्वरो कम भएको थियो। तापनि उसको पीसीआर परीक्षण गरौं भन्ने भयो।

महानगरपालिकाले स्वाब लिएको ठाउँमा गएर साउन ५ गते स्वाब दिएको थियो। ७ गते पोजिटिभ भनेर रिपोर्ट आयो। त्यसपछि हामी सबैको पीसीआर परीक्षण गरेका थियौं। बुहारी र ममा कोरोना देखियो। छोराको नेगेटिभ आयो। बुहारी र मलाई एम्बुलेन्समा कोभिड अस्पताल लगे। नाति उतै थियो। त्यहाँ नातिनी र छोराबाहेक परिवारका सबै भएकाले बस्न सहज भयो। छोराको पुनः परीक्षण भएछ। उसको पनि पोजिटिभ आएपछि नातिनीबाहेक हामी एउटै अस्पताल पुग्यौं।

मलाई घाँटी चिलाउनेबाहेक कोरोनाको अन्य लक्षण थिएन। छोरा, बुहारी र नातिलाई सुरुमा ज्वरो आयो। मलाई त केही भएन। (हाँस्दै...) एम्बुलेन्स मलाई लिन आउँदा पनि म त जाँदिनँ, मलाई केही भएको छैन भन्दा पनि जानुपर्छ भने, अनि गएँ।

कोरोना लागेको छ भन्ने सुन्दा तपाईंलाई कस्तो महसुस भयो ?

सामान्य लाग्यो। अन्य रोग पनि थियो, यो पनि थपिएछ भन्ने लाग्यो। तर, लक्षण केही थिएन। मजाले हिँड्न सक्दिनँ, समातेर हिँडाउनुपर्छ। धेरै रोग त पचाएर बसेकी छु। यो त पचाइहाल्छु नि भन्ने लाग्यो। धेरै निको भएर फर्किए, औषधि नै खानु परेन भनेको पनि सुनेकी थिएँ। बेला–बेला पुनः घर नआइएला कि जस्तो लाग्यो। तर, त्यो डरको डेराभन्दा जित्छु भन्ने कुराको जग ममा बलियो थियो। त्यसमा पनि पहिले नै नाति गएको थियो। बुहारी पनि सँगै थिइन्। त्यस्तो मेरो अनुहारमा डर देखिने गरी मनमा ठूलो कुरा उब्जिएन।

अस्पतालमा आइसोलेसनमा बस्दा कस्तो भयो ?

पहिले संक्रमित भएर अस्पताल गएको नाति माथिल्लो तलामा थियो, हामी तल्लो तलामा। नाति हट्टकट्टा छ, बुहारी पनि साथमा थिइन्। मलाई नातिले बचायो भन्दा पनि हुन्छ। दैनिक बाफ लिन लगायो। अन्य रोगको औषधि समयमा खाएँ। डाक्टरले पनि सोधिरहनुहुन्थ्यो। त्यहाँ बस्ता पनि मेरो पारिवारिक वातावरणै भयो। खानेकुरा पनि ठीकै थियो। समयमा खायो। (हाँस्दै...) स्याहार भएरै होला नि, पहिलेजस्तै छु।

 तपाईं त यस्तो वृद्धा हुँदा पनि १० दिनमा कोरोना संक्रमणबाट निको हुनुभयो। कसरी जितिने रहेछ कोरोना ?

हामीले धेरै रोग पचाएकै छौं। कति औषधि खाएर त कति नखाई पनि जितेकै हौं। यो कोरोनाको हल्ला बढी भएर मान्छे डराएका हुन्। समाचारमा पनि यति संक्रमित, यतिको मृत्यु भन्ने मात्रै आउँछ। निको भएर फर्किएकाको कुरा कम छ। त्यसैले मान्छेको आत्मबल घटेको हो। हामीले सरकारले भनिरहेको स्वास्थ्यका सबै नियम पालना गर्ने हो भने त लाग्दैन नै। लाग्यो भने पनि बानीमा परिवर्तन गर्ने। राम्रो चिज खाने। हात राम्ररी धुने। तनाव नलिने। के होला नि भन्ने भन्दा निको भइहाल्छु नि भन्ने सोच राख्ने। सकारात्मक कुरा मात्रै सोच्ने। मुख्य कुरा संक्रमण भएको छ भने दैनिक तातो पानीको बाफ लिने। अन्य रोग छ भने त्यसको औषधि खाने हो।

मलाई त नातिले बाफ लिन भनेर दैनिक कर गर्‍यो। मैले पनि नियमित लिएँ। मैले पहिलेदेखि नै राम्रो खाने चिज मात्रै खाएँ। म शाकाहारी हुँ। पहिले म स्वयंपाके (आफ्ना लागि आफैं पकाएर खाने) थिएँ। त्यसले गर्दा मैले कहिल्यै नराम्रो चिज खाइनँ। मेरो शरीरमा सुगर र प्रेसर भए पनि अन्य भाइरसजन्य रोगले हतपत भेट्दैनथ्यो। मुख्य कुरा त आत्मबल दरो बनाउने, त्यसपछि नियमित बाफ लिने र पोसिलो खानेकुरा खाने। बस ! यति भए कोरोना उड्यो। चिन्तै नगरे हुन्छ।

कोरोना किन यसरी फैलिएको होला भन्ने लाग्छ तपाईंलाई ?

सामान्य कुरामा पनि लापरबाही छ। मास्क लगाउँदैनन्। भीड गर्दै हिँड्छन्। जहाँ पायो त्यहीँको कुरा खाएको छ। हात धुँदैनन्। बजार पसलमा भीड छ। त्यसैले फैलिएको हो कोरोना। कति कुरामा त नचाहँदा नचाहँदै पनि सर्‍यो। मेरै कुरा गर्दा नाति औषधि किन्न गएकाले त्यतैबाट सरेजस्तो लाग्छ। अस्पताल, मेडिकलमा पनि न्यूनतम सुरक्षाको कुरालाई ख्याल गरिएको छैन। समयमा रिपोर्ट नआउँदा पनि एकले अर्कोलाई सारेर कोरोना बढ्यो। हामी सजग नभएर नै हो। सजग हुनेसम्म पनि पुगेको छ कोरोना।

तपाईंले त देशमा फैलिएको धेरै रोग भोग्नुभयो। छोराछोरीदेखि नाति नातिनालाई पनि रोगबाट जोगाएर हुर्काउनुभयो। के अहिलेका मान्छेलाई रोगले छिटो भेटेको हो ?

म स्वयंपाके हो। किनकि मैले आफैं बनाएँ, आफंै खाएँ। यसले गर्दा पोसिलो चिज खाएँ। शाकाहारी भएकाले नियमित साग, फलपूmल खाएँ। मांसाहारीभन्दा शाकाहारीलाई रोग कम लाग्छ। मासुबाट रोग छिटो सर्छ भन्छन्। अहिले बजारमा धेरै किसिमका खानेकुरा आए। होटलमा पनि थरीथरीका परिकार हुन्छन्। ती सबै स्वास्थ्यका लागि लाभदायक छैनन्। कस्तोले कस्तो सामान बेच्छ भन्ने हुँदैन। त्यसैले अहिले संक्रमण छिटो फैलन्छ। खानपान र जीवनशैलीलाई व्यवस्थित बनाउन सके रोगबाट जोगिइन्छ।

कोरोना लागेकालाई दुव्र्यवहार गरेका घटना पनि भएका छन्। तपाईंले कस्तो पाउनुभयो ?

म यहीँ विराटनगरमा जन्मेँ, हुर्कें। छोराबुहारी यतिका भए, घर बजारमै छ। यहाँ वरिपरि जोडिएका धेरै घर छन्। मसहित मेरो परिवारका सदस्यलाई कोरोना लाग्दा छिमेकीले गर्ने व्यवहारमा केही परिवर्तन आएन। हामी नातिनीबाहेक सबै संक्रमित भएर अस्पताल जाँदा छरछिमेक र आफन्तले फोन गरिरहे। फलफूल के चाहिन्छ, कस्तो खाने भनेर सोध्नुभयो। डिस्चार्ज भएर फर्किएपछि पनि अहिले सामान्य रूपमा बसेकै छौं। कसैबाट ए... त्यो संक्रमित, त्यसलाई कोरोना लाग्यो भन्ने केही कुरा छैन।

एक त यो हामी बसेको विराटनगर महानगरपालिका ६ नम्बर वडा सबैभन्दा बढी संक्रमित भएको वडा भएर पनि होला। एकपटक सबैलाई लागिहाल्छ नि भन्ने, अब समाजमा बुझ्दै पनि गए र बुझ्नु पनि पर्छ। अर्को कुरा कतै समाचारमा हेरेँ, देखेँ सुनाए पनि, कोरोना संक्रमितलाई घरमा पस्न दिएनन्, छिमेकीले अपहेलना गरे भन्ने कुराहरू। त्यो अबुझले गरेका हुन्। उनीहरूले पछि हामीलाई पनि लाग्छ भन्ने बुझेनन्। सबैले यो कुरा बुझ्न आवश्यक छ। यो एउटा रोग हो, लाग्छ निको हुन्छ भनेर।

धेरै संक्रमित अझै आइसोलेसनमा छन्। उनीहरूलाई के सन्देश दिनुहुन्छ ?

यो संक्रमण नहुनेले सामान्य नठान्नुहोस्, सुरुमा बच्ने काम गरौं। लागेकाले पनि अन्य रोगजस्तै यो रोग लाग्यो, सामान्य हो निको भइन्छ भन्ने सोचौं। खानपानमा ध्यान दिऊँ र सबैभन्दा ठूलो कुरा म बारम्बार भन्छु, आत्मबल उच्च राखौं। सकारात्मक सोचौं। चिकित्सक र सरकारले ल्याएका स्वास्थ्यसम्बन्धी नियम पालना गरौं। ठूलो कुरै हैन के यो। यति कुरा गरे कोरोना पचाउन सकिन्छ। सामान्य जीवनयापन गर्न सकिन्छ।


‘आइसोलेसन सुधारौं’

- किरणकुमार भट्टराई

हामी विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बस्यौं। छोरीबाहेक परिवारै संक्रमित भएर एउटै अस्पतालमा बस्दा केही सहज त भयो। तर, अस्पतालमा भेन्टिलेटर भनिएको छ। हामी बसुन्जेल अक्सिजन ग्याससमेत थिएन। आमाजस्ता वृद्धवृद्धा पनि धेरै आउन सक्छन्। अकस्मात् अक्सिजन चाहिए ल्याउँदा–ल्याउँदै बिरामीको ज्यान जान पनि सक्छ। त्यसको व्यवस्थापन यस्ता अस्पतालमै नभएको देखियो।

एउटा फ्ल्याटमा १४–१५ जना संक्रमित राखिएको हुन्छ। बाथरुम ट्वाइलेट एउटा मात्रै हुँदा समस्या हुने रहेछ। यसको सुधार आवश्यक छ। अर्को चिकित्सकको निगरानी कम हुन्छ। प्रेसर, ज्वरो आफैंले नापेर रेडी गर्दा लिन आउने स्टाफ नर्सबाहेक चिकित्सकले सुरक्षाका कुरा अपनाएर आएर सोधेर केही हुँदैन ठीक हुन्छ मात्रै भन्ने हो भने पनि बिरामीको आत्मबल बढ्छ।

यो समयमा धेरै संक्रमित लक्षणबिनाका छन्। आत्मबल बढे उनीहरू चाँडै निको हुन्छन्। अस्पतालमा हावा खेल्ने ठाउँ छैन। घाम ताप्न पाइँदैन। त्यो कुरामा सरकार र व्यवस्थापन पक्षले काम गरोस्। यो समस्या धेरै ठाउँमा होला। बिरामीको आत्मबल बढाउने र फ्रेस हुने वातावरण भयो भने सबै जोगिन्छौं। -(कोरोनामुक्त भएका भट्टराईसँगको कुराकानी)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.