सीमामा सशक्त सशस्त्र

सीमामा सशक्त सशस्त्र

जनकपुरधाम : महोत्तरीको मनरा सिसवा- १० मधवा गाउँ नेपाल-भारत सीमामै अवस्थित छ। यहाँका आधा घर नेपालमा छन् भने आधा भारततिर। गाउँलेहरू कहिले घाँसदाउरा गर्ने बहानामा त कहिले सरसामान लिन सीमा वारपार गर्न खोज्छन्। तर, कोरोना महामारीका बेला सीमा नाकामा खटिएका सशस्त्र प्रहरीले कडा निगरानी गरिरहेका छन्। सुरक्षा निगरानीका कारण गाउँमा कोरोना जोखिम केही हदसम्म कम छ।

मधवाजस्तै प्रदेश-२ का ८ वटै जिल्लाका दर्जनौं गाउँ भारतीय सीमावर्ती छन्। प्रदेशभरि ४ सय ६४ किलोमिटर नेपाली भू-भागमा खुला सिमाना छ। ८ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ वटा ठूला—साना सीमा नाका छन्। सीमाबाट हुने आवतजावत बन्द गर्न ५३ स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) राखिएको छ। कोरोनाले अत्यधिक आक्रान्त रहेको भारतबाट यिनै सिमानाका चोरबाटोबाट लुकीछिपी आउजाउ गर्छन्। त्यसलाई रोक्न सुरक्षाकर्मी रातदिन नाका, गल्लीमा पहरा दिइरहेका छन्।

कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मीले न राम्रो मास्क पाएका छन् न त स्यानिटाइजर। अन्य कुनै स्वास्थ्य उपकरण पनि उपलब्ध छैन। सामान्य मास्क, चस्मा र कामचलाउ पञ्जा लगाएरै खटिएका उनीहरू आफ्नो जिम्मेवारी सक्दो रूपमा वहन गर्छन्।

सिरहामा पूर्व-पश्चिम सीमावर्ती क्षेत्र ४६.५ किलोमिटर पर्छ। जहाँ चार सयभन्दा बढी सशस्त्र प्रहरी खटिएका छन्। कोरोना महामारी फैलिनुअघि सात स्थानमा बीओपी खडा गरिएको थियो। महामारीका बेला पाँच स्थानमा ‘फर्वाड अब्जरभेसन बेस’ थपियो। यी ठाउँमा सशस्त्र प्रहरीलाई बस्ने समस्या छ। उनीहरू त्रिपालमै बसेर राष्ट्रको सुरक्षामा खटिएका छन्।

भगवानपुर गाउँपालिकाको अभयनगर, नवराजपुर गाउँपालिकाको झाझपट्टी, कुसन्डी र सिरहा नगरपालिकाको बुधौरामा नयाँ युनिट थपिएको हो। त्यहींबाट सीमामा उनीहरू गस्ती गरिरहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाका प्रवक्ता तथा डीएसपी मोहन निरौलाले थप युनिटमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा टोली खटाइएको बताए। ‘सुरुका दिनमा त्रिपालमा बास बसेर ड्युटी गर्ने, खाना खान नजिकको बेस क्याम्प आउने व्यवस्था मिलाइएको थियो’, डीएसपी निरौलाले भने, ‘अब त्यही त्रिपालमै पकाएर खाने भनिएको छ।’ कोरोनाका कारण सीमा नाकाबाट हुने जथाभावी आवतजावतमा कडाइ गरिएको उनले बताए।

क्वारेन्टाइन र सीमा गस्तीमा खटिएका ४ सय १० जना सशस्त्र प्रहरीको पीसीआर जाँच गरिएको थियो। जसमा ६ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो। उनीहरू भदौ ११ गते डिस्चार्ज भएको सशस्त्र प्रहरी प्रवक्ता निरौलाले बताए।

सात वटा बीओपीमध्ये औरही गाउँपालिका-४ स्थित इटाटारमा मात्रै आफ्नो भवन छ। बाँकी ६ ठाउँमा भाडा र सरकारी कार्यालयमा छन्। माडर, इनर्वा, बरियारपट्टिमा भन्सार कार्यालयमै छन् भने लगडिगदियानीमा भाडाको घरमा छन्। वर्षाको बेला ड्युटी गर्न समस्या हुने गरेको सशस्त्र प्रहरीले जनाएको छ। ड्युटीमा खटिएका प्रहरीलाई मास्क, स्यानिटाइजर, ग्लोब्सलगायत स्वास्थ्य सामग्री प्रयोगमा कुनै कमी नभएको उनले जनाए।

गाउँगाउँमा सचेतना

सशस्त्र प्रहरीले सीमामा आवागमन नियन्त्रणको कामका साथै गाउँगाउँमा सचेतना कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ। महामारीसँग जुध्न जनतालाई सचेत र जागरुक गर्नु पहिलो आवश्यकता रहेको सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले बताए।

‘लुकीछिपी भारत वा अन्य मुलुकबाट आएर गाउँ-समाजमा बसेकाहरूलाई स्वास्थ्य परीक्षण गराउने विषयमा हामी टोलटोलमा जनचेतना फैलाउन लागिपरेका छौं’, डीआईजी ब्रह्मचार्यले भने, ‘महामारीबाट जोगिने उपायहरू मास्क प्रयोग, साबुनपानीको महत्व र भौतिक दूरीका विषयमा दोभाषे राखेर ग्रामीण क्षेत्रहरूमा माइकिङ गराएका छौं।’

सीमा क्षेत्रका स्थानीय तहहरूमा जनप्रतिनिधिसहितको संलग्नतामा सीमा निगरानी समूहसमेत बनाएर प्रहरीले संक्रमित पहिचानको काम गरिरहेको छ।

‘रिजर्भ गण’ सीमामा

सशस्त्र प्रहरी संगठनभित्र जवानदेखि डीएसपीसम्म कोरोना संक्रमित छन्। कोही कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्। केही आइसोलेसनमै छन्। महामारीका बेला रोगसँग जुध्दै जवानहरू खटिएका छन्। महामारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले ‘रिजर्भ गण’को अवधारणा ल्याएको छ। सीमा नाकाको सुरक्षालाई चुस्त बनाउन, हुलदंगा नियन्त्रण गर्न, विपद्मा राहत तथा उद्धारलगायत कार्य प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘रिजर्भ गण’को रणनीति अघि सारेको हो।

प्रदेश २ का दुई स्थानमा एसपीको नेतृत्वमा रिजर्भ गण कार्यान्वयनमा ल्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरी मातहत एउटा र अर्को बाराको पिलुवास्थित भद्रकाली गणमा सो गण स्थापना गरिएको छ। बर्दिबासमा एसपी सुरेन्द्र बुढाथोकीले रिजर्भ गणको नेतृत्व सम्हालेका छन्। बारामा एसपी मनोज थापा खटिएका छन्। दुवै गणमा ६२१÷६२१ जनशक्ति छन्। रिजर्भ गणका जनशक्ति हाललाई सीमा सुरक्षामा खटाइने डीआईजी ब्रम्हचार्यले जनाए।

लगातार पाँच महिनादेखि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले ‘रेस्ट एन्ड रिलिफ’को अवधारणा पनि कार्यान्वयनमा ल्याएको छ। ड्युटीमा खटिएका थकित सुरक्षाकर्मीलाई आराम गर्न समय दिने र उनको ठाउँमा नयाँलाई सीमामा खटाउने रणनीति नै ‘रेस्ट एन्ड रिलिफ’ को अवधारणा हो।

रिजर्भ गणमा सशस्त्र प्रहरी बलका विभिन्न युनिटबाट जवानहरूलाई लिइने भएकाले महामारीलाई मध्यनजर गर्दै हाल गणमा आउने जवानहरूलाई १४ दिन क्वारेन्टाइनमा राखिएको बर्दिबासका एसपी सुरेन्द्र बुढाथोकीले बताए। उनले रिजर्भ गणको नेतृत्व सम्हालेका छन्।

‘क्वारेन्टाइनमा १४ दिन बिताइसकेका जवानहरूलाई गणमा ल्याएर पीसीआर परीक्षण गराई त्यसको रिपोर्टका आधारमा सीमामा खटाउने तयारी छ’, एसपी बुढाथोकीले अन्नपूर्णसँग भने, ‘हाम्रो तयारी अब अन्तिम चरणमा छ।’

एउटै गणका ४९ जनामा कोरोना

बाराको पिलुवास्थित सशस्त्र प्रहरी बलको ४० नम्बर गणमा कार्यरत ४९ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू पर्साको नेपाल-भारत सीमा क्षेत्रमा खटिएर गणमा फर्किएका हुन्।

१ सय १२ जनाको स्वाब भदौ ७ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो। संक्रमित सुरक्षाकर्मी गणभित्र आइसोलेसनमा बसेका छन्।

खुला सिमाना, क्षेत्रफल ठूलो र सीमित मानव स्रोतका बीच काम गर्न चुनौती रहेको सशस्त्रका एसपी रविनराज कर्णजितको भनाइ छ। उनी सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति हुन्। उनका अनुसार बारामा भारतसँग जोडिएका सीमा क्षेत्रको क्षेत्रफल ६० किलोमिटर छ। मुख्य नाकामा कडाइ गरे पनि नागरिकहरू खेतको बाटो प्रयोग गरेर आवतजावत गर्दा थप कठिनाइ हुने गरेको उनको भनाइ छ।

‘प्रत्येक एक किलोमिटरमा १० जनाका दरले २४ घण्टा ड्युटी गर्ने गरी प्रहरी राख्दा पनि ६ सय जना चाहिन्छ। त्यही एक किलोमिटर भित्रको सिमाना पनि सबै खुला छन्’, उनले भने, ‘नाकामा कडाइ गरिएको हुन्छ तर मानिस खेतको बाटो प्रयोग गर्छन्। खेतमा गएर मानिस रोक्न जनशक्ति पर्याप्त छैन्।’

नाका र गस्तीमा रहेका प्रहरीले आवतजावतमा कडाइ गर्दा अटेर गर्न र झडपको स्थितिसमेत हुने गर्छ। चार महिनाअघि बाराको सुवर्ण गाउँपालिका— ३ स्थित कबहीगोठमा सशस्त्र प्रहरीले भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउन खोज्दा सीमावर्ती क्षेत्रका भारतीय नागरिक प्रवेश गरेर सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेका थिए।

एसपी कर्णजितले कोरोना महामारी र यसै समयमा हुने तस्करी नियन्त्रण गर्न सम्पूर्ण शक्ति परिचालन गरेको बताए। नाकामा कडाइका साथै अन्य बाटो प्रयोग गर्नेलाई नियन्त्रण गर्न पेट्रोलिङ गस्ती बढाएको उनले जानकारी दिए। ‘हामीले आफ्नो जनशक्तिले भ्याएसम्म कोरोना संक्रमण, अपराध र तस्करी बढ्न नदिन प्रयास गरिरहेका छौं’, उनले भने।

जनकपुरबाट मनिका झा, सिरहाबाट शम्भु यादव र बाराबाट दिवाकर भण्डारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.