हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित थप ६ जनामा कोरोना

हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित थप ६ जनामा कोरोना

काठमाडौं : रामेछापका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार आज जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासत/थुनामा रहेका दुई जना, तीन जना प्रहरी र मन्थली नगरपालिकाका एक महिला गरी ६ जनामा कोरोना पुष्टि भएको हो।

उनीहरुको केहि दिन अगाडि स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो। योसँगै जिल्लाबाट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ हुनेको संख्या ४९ पुगेको छ।

प्रहरी हिरासतमा रहेका लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित अर्का एक जनामा कोरोना देखिएको हो। साउन ३० गते मध्यान्ह मन्थलीबाट शरीर बन्धक कसुरमा पक्राउ गरेपछि गाउँपालिकाका अध्यक्ष  खड्का २६ दिनदेखि प्रहरी हिरासतमा रहेका छन्। उनी पक्राउ परे लगत्तै थप ठगी र बलात्कारका दुई वटा मुद्दा दर्ता भएका थिए।

खड्कामाथि परेको तीन वटै मुद्दाको प्रहरीले आवश्यक अनुसन्धान र माग दावीसहित जिल्ला सरकारी वकिलको कार्यालय रामेछापमा फाइल प्रहरीले बुझाइसकिएको थियो। खड्कालाई अदालतमा उपस्थित गराउनु अगाडि अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने मापदण्डअनुसार स्वाब संकलन गरी पठाउँदा रिपोर्ट पोजिटिभ देखिएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी शरीर बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न दबाब दिएको उजुरीका आधारमा अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो।

पक्राउ गरेका अध्यक्ष खड्काबाट आफू ठगिएको भन्दै स्थानीय एक वृद्धले मुद्दा दर्ता गराएका थिए। लिखुतामाकोशी गाउँपालिका-३ का वृद्ध शेरबहादुर खड्काले गाउँपालिकाको नाममा पास गर्ने भन्दै अध्यक्ष खड्काको आफ्नो नाता पर्ने महिलाको नाममा पास गरेको र रकमपनि नपाएपछि मुद्धा दिएका हुन्।

यहि समयमा अध्यक्ष खड्कालाई एक किशोरीले बलात्कारको आरोपमा मुद्दा दिएकी छन्। एक महिलाले दश महिना अघि आफूलाई खड्काले बलात्कार गरेको अभियोग लगाउँदै बलात्कारको मुद्दा दर्ता गराएकी थिइन्। कानुनअनुसार बलात्कारको अभियोगमा एक वर्षसम्म मुद्दा दर्ता गर्न पाइने प्रावधान छ। प्रहरीले आवश्यक तथ्य र प्रमाण केलाउँदै अनुसन्धान सकेपछि फाइल सरकारी वकिलको कार्यालय रामेछापमा बुझाएको छ। वकिल कार्यालयबाट फाइल अदालत लगेर हिरासतमा रहेकाको थुनछेक बहस गर्न लैजानु अगाडि कोरोना परीक्षण गरिएको थियो।

केहि दिनअगाडि जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत पाँच जना प्रहरी र मन्थलीस्थित तामाकोशी अस्पतालका एक महिला कर्मचारीमा कोरोना पुष्टि भएको थियो। उनीहरुको कन्ट्रयाक ट्रेसिङको क्रममा थप प्रहरीमा कोरोना देखिएको हो। स्वास्थ्य कार्यालय रामेछापका अनुसार मंगलबारसम्म रामेछाप जिल्लामा १३२९ जनाको स्वाब संकलन गरिएको छ। जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लामा संकलन गरेर पठाइएको स्वाबमध्ये ११८४ जनाको कोरोना नेगेटिभ आएको छ भने ९६ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.